Sat2024 July 27
२०८१ साउन १२, शनिबार

नवनियुक्त मुख्यमन्त्री कार्कीले मध्यावधि चुनाव रोक्ने

20

 

कोशी प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा मध्यावधि निर्वाचन हुन नदिन कोशी प्रदेशमा वर्तमान सरकार गठन गरिएको बताए । शनिबार कोशी प्रदेश प्रमुख परशुराम खापुङबाट नियुक्ति पत्र ग्रहण गरेपछि पत्रकारसँग कुरा गर्दै कार्कीले जनतामा विकास र समृद्धिको आशा जगाउन प्रदेशसभा सदस्यको संयुक्त प्रयासमा सरकार गठन भएको बताए ।

मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम बनेको सरकारलाई नेपाली कांग्रेसले सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरे । कार्कीले संविधान र कानुनले मुख्यमन्त्रीलाई दिएको अधिकार प्रयोग गरी जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले सपथ लिएपछि मन्त्रिपरिषद् गठन हुने बताए । यसैबीच कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले पदबाट राजीनामा दिएका छन् ।

शनिबार यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै थापाले प्रदेश सरकार गठनका क्रममा बढ्दै गएका घटनाक्रमका कारण पदमा बस्नु नैतिक रूपमा उपयुक्त नभएकाले पदबाट राजीनामा दिएको जानकारी दिए । नेता थापाले नवनियुक्त मुख्यमन्त्री कार्कीलाई शुभकामना दिँदै पार्टीले आफूलाई साथ दिने बताए ।

प्रदेशको राजनीतिक विकासले सत्तारुढ गठबन्धनलाई अब कुनै असर नगर्ने बताउँदै उनले आगामी निर्वाचनसम्म गठबन्धन प्रदेशमा टिक्ने बताए । यसअघि आज बसेको कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकमा २९ मध्ये १९ सदस्य सहभागी थिए ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर