Sat2024 July 27
२०८१ साउन १२, शनिबार

निर्देशक सुदर्शन थापा माथि ठगीको आरोप, पर्न सक्छन् प्रहरी फन्दामा

17

 

फिल्म ‘प्रसाद २’को विवादमा निर्देशक सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । अहिले उनलाई प्रहरीले पक्राउ गर्न खोजी गरिरहेको छ । निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले आफूहरुको अनुमति बिना नै ‘प्रसाद २’लाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै जाहेरी दिएका थिए । त्यही आधारमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

यसैक्रममा, नेपाल चलचित्र निर्देशक समाजले बिना कारण र बिना प्रमाण निर्देशक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा आपत्ति जनाएको छ । संघले बिहीबार विज्ञप्ति जारी गर्दै पारिश्रमिक लिएर ‘प्रसाद २’मा काम गरेको निर्देशकलाई फिल्म बिक्री वितरण गर्ने कुनै पनि अधिकार नहुने भएकाले बिना कारण सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी हुनु आपत्तिजनक रहेको उल्लेख गरेको छ ।

‘निर्देशकले फिल्म बनाई निर्माताको आदेश बमोजिम प्रदर्शनका लागि सहयोग मात्र गर्ने हो । तसर्थ, उहाँलाई फिल्म बिक्री वितरण गर्ने कुनै पनि अधिकार हुँदैन । अतः यस्तो अवस्थामा प्रहरीले बिना कारण, बिना प्रमाण, एकतर्फी रुपमा चलचित्र बिक्री वितरणको आरोप लगाउँदै परेको उजुरीकै भरमा पक्राउ पुर्जी जारी गर्नु आपत्तिजनक छ,’ चलचित्र निर्देशक समाजको विज्ञप्तिमा उल्लेख छ ।

फिल्म क्षेत्रमा परेका समस्याहरु समाधान गर्न फिल्मसम्बद्ध संघ-संस्थाहरु आफैं सक्षम रहेकाले फिल्म क्षेत्रलाई असर पुग्ने गरि संघ संस्थाको बाटो छलेर प्रहरी प्रशासन र कानुन समक्ष पुग्ने र फिल्म क्षेत्रको छबिलाई धुलमुल्याने व्यक्ति तथा संस्थाहरुलाई अदालत र प्रहरी प्रशासनले सरोकारवाला संस्थामा गएर छलफल या मिलापत्र गर्ने वातावरण बनाइदिन समेत विज्ञप्तिमा आग्रह गरिएको छ ।

निर्देशक समाजका महासचिव अरुण कुमार प्रधानद्वारा जारी विज्ञप्तिमा ‘प्रसाद २’को विवादमा पक्राउ पुर्जी जारी भएका सम्पादक मिलन श्रेष्ठ र पक्राउ परेर छुटिसकेका ओएसआर डिजिटलका ओम अग्रवाल पनि निर्दोष देखिएको उल्लेख छ । उनीहरुले निर्माता सुवास थापासँग गरिएको सम्झौता बमोजिम नै काम गरेकाले उनीहरुको पनि निष्पक्ष छानबिनको लागि समाजले आग्रह गरेको छ ।

film directors guild of nepal

 

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर