Sat2024 July 27
२०८१ साउन १२, शनिबार

निर्माण सम्पन्न भएको एक वर्ष पुग्न लाग्दा पनि सञ्चालन हुन सकेन अस्पताल

15

अन्नपूर्ण गाउँपालिका–१, दोबामा गाउँपालिकास्तरीय अस्पतालको भवन निर्माण भएको वर्ष दिन पुग्न लाग्दा पनि सञ्चालन कहिले गर्ने भन्ने अन्यौल रहेको छ ।

केन्द्र सरकारले सबै स्थानीय तहमा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने उद्देश्य अनुसार निर्माण थालिएको अस्पताल भवन गत वर्ष फागुन मसान्तमा निर्माण सम्पन्न गरिएको भए पनि कहिलेबाट सञ्चालन हुने भन्ने तय हुन सकेको छैन । नेपाल सरकारले तीन वर्षअघि स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवा पुर्‍याउनका लागि भनेर अस्पताल निर्माण गर्ने योजना अगाडि सारेको थियो । सोही अनुरुप देशैभरका स्थानीय तहमा पाँच शैय्याको अस्पतालको शिलान्यास पनि भएको थियो ।

अस्पताल भवन निर्माण भैसके पछि सञ्चालनका लागि गर्नुपर्ने आवश्यक प्रकृया पुरा गरेर केन्द्र सम्म पुगेको भए पनि कहिले देखि सञ्चालन गर्ने भन्ने टुंगो नभएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो । केन्द्र सरकारले एकै पटक शिलान्यास गरेर सुरु गरेको स्थानीय तहको अस्पतालका लागि पहिलो चरणमा एक सय अस्पताल सञ्चालन गर्ने भन्ने रहेछ, तर त्यसमा हाम्रो अस्पताल पर्छ पर्दैन एकिन भएन उहाँले बताउनुभयो ।

स्थानीय तहले गर्नु पर्ने काम गरेर केन्द्रमा ताकेता गरिएको भए पनि आवश्यक प्रकृया, जनशक्ति लगायतका काम केन्द्रबाटै हुनु पर्ने हुँदा अस्पताल सञ्चालनको कुनै टुंगो लागेको छैन ।

केन्द्र सरकारको टिओआर अनुसार अपाङ्गमैत्री पाँच शैय्या क्षमताको अस्पताल भवन भूकम्प प्रतिरोधी तवरको निर्माण भएको थियो । गाउँपालिकाका इन्जिनियर ईश्वर भण्डारीका अनुसार केन्द्र सरकारले तोकेको मापदण्ड अनुसारका सबै चिज पुर्‍याएर भवन निर्माण गरिएको हो । उक्त भवनमा आकस्मिक कक्ष, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, भण्डार कोठा, उपचारका लागि छुट्टाछुट्टै कक्ष र स्वास्थ्यकर्मी निवाससहित ३५ ओटा कोठा रहेको उहाँले जानकारी दिनुभयो ।

भवन निर्माणका लागि २०७८ वैशाख १७ गते रविना–अमित जेभीसँग ५ करोड १२ लाख ६० हजार रुपियाँमा भवन निर्माण सम्झौता भएको थियो । निर्माण कम्पनीले भवन निर्माणलाई अगाडि बढाएको भए पनि तोकिएको समयमा नसकिए पनि थपिएको म्याद २०७९ फागनु मसान्तभित्र नै निर्माण व्यवसायीले भवन निर्माण सम्पन्न गरेको अन्नपुर्ण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

अस्पतालका लागि आवश्यक पर्ने उपकरण, फर्निचर र अस्पतालको कम्पाउन्डिङ गर्न ठुलो खर्च व्यवस्थापन गर्नुपर्ने छ, साथै अस्पताल सञ्चालनमा ल्याउन गाउँपालिकाले आवश्यक पहल गरिरहेको उहाँले बताउनुभयो ।

उक्त स्थानमा अस्पताल निर्माण गर्नका लागि दोबाका वासिन्दाले १ करोड रुपियाँ भन्दा बढी पर्ने १२ रोपनी सात आना दुई दाम क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।

स्थानीयले निशुल्क जग्गा उपलब्ध गराउनुका साथै प्रशासनिक कार्य र निर्माण कार्य सकिएको भए पनि अस्पताल सञ्चालनमा आउने कुनै टुंगो नलाग्दा स्थानीय चिन्तीत भएका छन् ।

Annapurna Hospital (1)

 

अमृतप्रसाद पौडेल/इन्सेक

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर