काठमाडौँ — १४ औं महाधिवेशनबाट दोस्रो पटक सभापति निर्वाचित शेरबहादुर देउवाले आफ्नो उत्तराधिकारी कसलाई बनाउने भन्ने लेखाजोखा गरिरहेका बेला संस्थापन इतरखेमामा महामन्त्री गगन थापा र नेता शेखर कोइरालाबीच नेतृत्वको प्रतिस्पर्धात्मक ‘म्याराथन’ सुरु हुने भएको छ ।
कोइरालाले दुई महिनाअघि कान्तिपुर टेलिभिजनको ‘टक सो’ फायरसाइडबाट १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवार हुने उद्घोष गरिसकेका छन् । महामन्त्री थापाले औपचारिक तहमा घोषणा नगरे पनि उनका सम्पूर्ण कार्यक्रम र योजना १५ औं महाधिवेशन लक्षित छन् । निर्धारित समयमा महाधिवेशन भए दुई कार्यकालभन्दा बढी नेतृत्वमा बस्न नपाउने विधानको व्यवस्थाबमोजिम देउवा अबको दुई वर्षपछि पार्टी राजनीतिको केन्द्रीय भूमिकाबाट अलग हुनेछन् ।
कार्यकर्ताको मनोभावना बुझ्न र आफ्नो पक्षमा माहोल सिर्जना गर्न कोइराला र थापाले राजधानीबाहिरका कार्यक्रमलाई प्राथमिकता दिँदा संस्थापन पक्षमा देउवाको उत्तराधिकारी को हुने भन्ने चासो बढेको छ । तर, देउवा यस विषयमा मौन छन् । उनी निकट एक नेताका अनुसार देउवा उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापतिद्वय प्रकाशमान सिंह, विमलेन्द्र निधि र पूर्वमहामन्त्री शशांक कोइरालाबीच कसलाई अघि सार्ने भन्नेमा लेखाजोखा गरिरहेका छन् । १५ औं महाधिवेशनमा पार्टीको कार्यकारी पदबाट बाहिरिँदै गर्दा देउवाले श्रीमती आरजुलाई पार्टीको उपसभापति वा महामन्त्रीमा ल्याउन चाहेको बुझाइ संस्थापनपक्षभित्र चर्चाको विषय बनेको छ । आफूपछि आरजुलाई पार्टीमा स्थापित गराउने चाहना पूरा गराउन पनि देउवाले उत्तराधिकारी र महाधिवेशन गराउने समयका बारेमा बदलिँदो राजनीतिको बहाव र परिस्थिति हेरेरै मात्रै निर्णय गर्ने संस्थापन पक्षीय एक नेताले बताए ।
‘पहिलो कुरा, कोइराला परिवारलाई चिढ्याउन चाहनुभएको छैन । गिरिजाप्रसाद कोइरालासँग लामो संघर्ष गरे पनि मलाई अघि बढाउने कोइराला परिवार नै हो भन्ने कुरा बारम्बार सुनाउने गर्नुहुन्छ । पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई एक ठाउँमा राख्न सकेमा परिणाममुखी नतिजा आउँछ भन्ने उहाँलाई परेको छ,’ ती नेताले भने, ‘उपसभापति भएको हैसियतले पूर्ण दाइ स्वाभाविक उत्तराधिकारी हुनुहुन्छ । तर उहाँले कति समन्वय गर्न सक्नुहुन्छ भन्नेमा सभापतिज्यू विश्वस्त भइसक्नुभएको छैन ।’
देउवाले केही समयअघिसम्म संस्थापन इतरपक्षकै नेता शेखर कोइरालालाई आफ्नो उत्तराधिकारी बनाउन चाहेको सन्देश दिन खोजेका थिए । पछिल्ला निर्णय प्रक्रिया र पार्टी सञ्चालनको पद्धतिलाई लिएर कोइराला भने विश्वस्त भने देखिन्नन् । उनले देउवासँग संघर्षभन्दा पनि मेलमिलापकै बाटोबाट अघि बढ्न चाहेको सन्देश भने दिन खोजिरहेका छन् । तपार्इं पार्टीभित्र प्रतिपक्ष नेता कि मध्यमार्गी भन्ने प्रश्नमा एक साताअघि राजधानीका पत्रकारसँग कोइरालाको जवाफ थियो, ‘पार्टीभित्र प्रतिपक्ष खेमाको नेताभन्दा पनि म मध्यमार्गी नेता हुन रुचाउँछु । झगडा बढाउने काम ठीक छैन । मेरो स्वभाव पनि छैन ।’
पार्टी नेतृत्वमा हस्तक्षेपको दौड सुरु गरेका कोइराला र थापाबीच नै विश्वासको संकट छ । मध्यमार्गी बाटो लिन खोज्ने कोइराला र नेतृत्वका विरुद्ध संघर्षको बाटो अपनाएका थापाबीच पूर्ण विश्वासको वातावरण भने बनिसकेको छैन । संस्थापन इतरपक्षका नेतालाई एउटै मोर्चामा ल्याउन पहल भइरहे पनि दुईबीच पूर्ण विश्वासको वातावरण बन्न नसक्नुमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा मुख्य मुद्दा बनेका छन् ।
शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई समेत इतरपक्षको खेमामा सामेल गराएर थापा अघि बढ्न चाहन्छन् । तर, कोइराला शर्मालाई आफ्नो टिममा ल्याउन जोखिम हुने ठानिरहेका छन् । पौडेलसँग दुई/तीन चरणमा कुराकानी भए पनि शर्मासँग कोइरालाले कुराकानीसम्म नगरेको भन्दै थापा र उनीपक्षीय नेताहरूको गुनासो छ । शर्मा र पौडेललाई इतरखेमामा जोडेर अघि बढ्न सक्दा पनि पार्टीको केन्द्रीय संरचनामा बलियो पकड जमाएर बसेका सभापति देउवालाई दबाबमा पार्न सकिने बुझाइ महामन्त्री थापाको छ । पार्टीलाई थप क्षति हुनबाट जोगाउन ०८२ सालमा नियमित महाधिवेशन हुनुअगावै संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नुपर्ने मुद्दामा थापा निरन्तर अघि बढेका छन् ।
जनमतको भावनाविरुद्ध देउवालाई प्रधानमन्त्री बनाएमा ‘पपुलिजम्’ को मुद्दाबाट आएका शक्तिसँग सामना गर्न नसक्ने र कांग्रेसलाई थप क्षति पुग्ने निष्कर्ष बनाएका थापाले कोइरालालाई वैकल्पिक प्रधानमन्त्रीका रूपमा अघि सार्न चाहेका छन् । तर, उनी आफैं कति आँट गर्छन् भन्नेमा थापा विश्वस्त भइसकेका छैनन् । १५ औं महाधिवेशन गराउन र संसदीय दलको नेताको विकल्प दिन संस्थापन इतरपक्षमा रहेका सबैलाई गोलबद्ध गर्नुपर्ने थापाको भनाइ छ । ‘०८२ मा नियमित महाधिवेशन भयो भने वर्तमान नेतृत्वबाट मुक्त भइन्छ । संसदीय दलको नेतृत्व पनि फेरिन्छ । अहिले को के हुनेभन्दा पनि पार्टीको अवस्था फेर्न संस्थापन इतरपक्षलाई फराकिलो दायरामा लैजानुपर्छ भन्ने मेरो सोचाइ हो,’ थापाले कान्तिपुरसँग भने, ‘फराकिलो सोच बनाएर अघि बढ्न सकेनौं र ०८२ मा महाधिवेशन भएन भने हाम्रो भविष्य त बर्बाद हुन्छ नै, अरू साथीहरूको बाटो पनि रोकिन्छ ।’
कोइरालालाई भने संसदीय दलको प्रतिस्पर्धामा जस्तै गगनले १५ औं महाधिवेशनमा आफूलाई सभापतिमा साथ नदिने हो कि भन्ने आशंका छ । गगनसँग विश्वासपूर्ण वातावरण नबनिरहेका बेला अर्का महामन्त्री शर्माको ‘इन्ट्री’ ले थप जोखिम बढ्न सक्ने चिन्ता उनले लिएको निकट नेताहरू बताउँछन् । यस्तै आशंकाका कारण उपसभापतिसमेत रहेका कानुनमन्त्री धनराज गुरुङले इतरपक्षको बैठकमै संस्थापन इतर समूहबाट १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवार घोषणा गरेर जानुपर्ने प्रस्ताव अघि सारेका थिए ।
सत्ताको भागबन्डामा सामेल नगराइएको, पार्टी र राष्ट्रिय राजनीतिका मुद्दामा नेतृत्वसँग संघर्ष गर्दा प्रतिरक्षा नगरेको भन्दै थापा पनि कोइरालाको व्यवहारसँग सशंकित हुने गरेका छन् । संस्थापनपक्षलाई गोलबन्द गर्न पहल लिइरहेका नेताहरूको दबाबमा शेखर र थापाबीच दुई/तीन चरणमा छलफल समेत भएको छ । ‘ती छलफलमा महामन्त्रीजीले कि मलाई पूर्ण रूपमा विश्वास गर्नुहोस्, कि त पूर्ण रूपमा नगर्नुहोस् तर मलाई बीचमा नराख्नुहोस् भनेर प्रस्टसँगै भनिदिनुभएको छ,’ थापा निकट स्रोतले कान्तिपुरलाई बतायो ।
केन्द्रीय सदस्य प्रदीप पौडेल दुई महामन्त्रीसहितको संस्थापन इतरखेमा एकठाउँमा रहेमा मात्रै नेतृत्वलाई धक्का दिन सकिने तर्क गर्छन् । ०८२ भित्रै नियमित महाधिवेशन गराउने हो भने इतरपक्ष एक ठाउँमा नआई सम्भव नहुने उनले बताए । ‘संस्थापन पक्षमा अत्यन्त बलियो छ । कि त मुद्दाले ठूलो लहर ल्याउन सक्नुपर्यो नभए बलियो संस्थापनलाई दबाब दिन इतरपक्षमा रहेका सबै एक ठाउँमा आउनुपर्छ,’ उनले भने, ‘पार्टीभित्र परिवर्तन चाहने एक ठाउँमा हुँदा मात्रै नियमित महाधिवेशन हुन सक्छ । आम सन्देश पनि यिनीहरूले केही गर्न सक्दैनन् भन्ने पर्छ ।’
विधानतः कांग्रेस केन्द्रीय कार्यसमितिको कार्यकाल चार वर्षको हुनेछ । नियमित महाधिवेशन हुन नसके थप एक वर्ष बढाउन सकिने प्रावधान विधानमै छ । त्यसैमा टेकेर विगतदेखि नै नेतृत्वले एक वर्ष थप कार्यकाल बढाउँदै आएका छन् ।
प्रचार विभाग प्रमुख तथा सभापति निकट केन्द्रीय सदस्य मीन विश्वकर्मा १५ औं महाधिवेशनमा सभापतिले उम्मेदवार नहुने घोषणा गरिसकेपछि नेतृत्वमा आउन खोज्ने नेताहरूबीच ध्रुवीकरण हुनु स्वाभाविक ठान्छन् । तर, संस्थापन पक्षमा उत्तराधिकारी अघि सार्ने विषयमा सभापति मौन रहेको उनको भनाइ छ । ‘अहिले देश दौडाहा चलिरहेको छ । कोही साँच्चै सभापतिको उम्मेदवार हुन चाहने छन् भने कोही बार्गेनिङ बढाउने, आफ्नो टिम बलियो बनाउने उद्देश्यबाट प्रेरित छन्,’ उनले भने, ‘नेतृत्वसहित पदाधिकारीहरू निर्वाचित हुने व्यवस्थाले पनि तल नगई नहुने रहेछ भन्ने परेको छ ।’
०८२ सालमा नियमित महाधिवेशन गराउने मुद्दामा भने संस्थापन इतरपक्षमा रहेका सबै नेता एक ठाउँमा छन् । संस्थापन पक्षका धेरै नेता पनि नियमित महाधिवेशनको पक्षमा देखिएका छन् तर सभापतिको भावना नबुझी उनीहरू सार्वजनिक तहमा बोल्न चाहँदैनन् । वर्तमान गठबन्धनले निरन्तरता पाएमा देउवा पाँच वर्ष कार्यकालको अन्तिम डेढ वर्ष प्रधानमन्त्री बन्ने लिखित सहमति छ । त्यसअघि नै पार्टीको महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्दा आफू प्रधानमन्त्री बन्न कठिनाइ हुने उनले ठानिरहेका छन् । ‘प्रधानमन्त्री हुने, त्यसपछि पार्टीको महाधिवेशन गराउने, श्रीमती आरजुलाई राजनीतिक व्यवस्थापनसहित बलियो उम्मेदवारलाई उत्तराधिकारीमा अघि सार्ने र अबको संसदीय चुनावमा आफूले चाहेअनुसार टिकट वितरण गर्ने रोडम्यापमा सभापति हुनुहुन्छ,’ संस्थापनपक्षकै एक नेताले भने, ‘अहिलेसम्म नियमित महाधिवेशन भएको उदाहरण छैन । ठूलै आन्दोलन भए मात्रै, नत्र प्रधानमन्त्रीको पालो आउने समयसम्म उहाँले महाधिवेशन गराउनु हुन्न ।’
केन्द्रीय सदस्य नैनसिंह महर नियमित महाधिवेशन नभएमा कांग्रेसले धेरै ठूला चुनौती सामना गर्नुपर्ने बताउँछन् । परम्परागत राजनीतिक दल चरित्र र शैली बदल्दै छन् भन्ने सन्देश दिन पनि नियमित महाधिवेशन आवश्यक रहेको उनले बताए । ‘दलहरू पारदर्शी हुँदा, विधानको पालना गर्दा, चरित्र र कार्यशैली बदल्दा मात्रै जनताले पुराना दलप्रति विश्वास गर्छन्, त्यसका लागि पार्टीका नेता र पदाधिकारीले समयमै महाधिवेशन गराउनुपर्छ,’ उनले भने, ‘पार्टीको भविष्य सुरक्षित हुँदा नै व्यक्तिको भविष्य बन्ने हो । अहिले व्यक्तिलाई भन्दा पार्टीलाई केन्द्रमा राखेर हेर्नुपर्छ ।’
संस्थापन इतरपक्षले नेतृत्वलाई तलैबाट दबाब दिन भन्दै देश दौडाहाको अभियानसमेत सुरु गरेको छ । कोइराला र थापाको सहमतिमै केन्द्रीय सदस्य मधु आचार्य, गोविन्द पोखरेल, गुरुराज घिमिरे, रञ्जित कर्ण, केदारनरसिंह केसी, भूपेन्द्रजंग शाहीलगायतको समूह दोस्रो चरणको रूपान्तरणको मुद्दा बोकेर देश दौडाहामा निस्केको छ । कोइराला र थापाको प्राथमिकता पनि राजधानीबाहिर नै छ । दुवैले असोज दोस्रो सातादेखि जिल्ला अभियानको तयारी गरिरहेका छन् । कोइराला निकट केन्द्रीय सदस्य गोविन्द पोखरेलले संस्थानइतर समूहलाई गोलबन्द गरेरै अभियान अघि बढाउनुपर्ने बताए । इतरपक्षका नेताले दुवै महामन्त्रीलाई सँगै लिएर हिँड्दा त्यसको सन्देश छुट्टै हुने भएकाले शर्मालाई समेत टिममा ल्याउने प्रयास भइरहेको उनको भनाइ छ । ‘गुटको राजनीतिमा व्यवस्थापन गर्न खोज्दाखोज्दै ढिलाइ हुन्छ । विश्वजीलाई हतारमा समूहमा ल्याउँदा पुराना साथी बिच्किन्छन् कि भन्ने सोचले हो, अरू कुनै कारण होइन,’ उनले भने, ‘सबैलाई सन्तुलनमा राखेर दुई महामन्त्री र केन्द्रीय सदस्य प्रदीप पौडेललाई संस्थापनइतरमा नै गोलबन्द गर्ने काममा शेखरदाइ लाग्नुभएको छ । सम्भवतः केन्द्रीय कार्यसमिति बैठकअघि नै इतरपक्षको बैठकमा महामन्त्री शर्मालाई सहभागी गराइनेछ ।’
शेखरको बैठकमा शर्मालाई निम्तो
संस्थापन इतरपक्षका नेता शेखर कोइरालाले मंगलबार आफ्नो समूहका पदाधिकारी र केन्द्रीय सदस्यको बैठक बोलाएका छन् । बिहीबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकको पूर्वसन्ध्यामा कोइरालाले बैठक डाकेका हुन् । महामन्त्री शर्मा र केन्द्रीय सदस्य पौडेललाई समेत उनले निम्तो दिने भएका छन् । महामन्त्री थापासँग जोडिएर काम गर्दै आए पनि शर्मा र पौडेललाई इतरसमूहको बैठकमा ‘इन्ट्री’ थिएन ।
१४ औं महाधिवेशनमा नेता प्रकाशमान सिंहको ‘प्यानल’ बाट शर्माले महामन्त्री जितेका थिए । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहमा रहेका पौडेल महाधिवेशनमा सभापति देउवाको प्यानलबाट महामन्त्रीमा प्रतिस्पर्धा गरेका थिए । पार्टी संसदीय दलको नेतामा सभापति देउवा र महामन्त्री थापाबीच भएको प्रतिस्पर्धामा शर्मा र पौडेल दुवै थापाको पक्षमा उभिएका थिए ।
सभापति देउवाको बेथितिविरुद्ध लड्न थापाले शर्मा र पौडेलसमेतलाई संस्थापन इतरसमूहमा जोड्नुपर्ने मुद्दा उठाउँदै आएका थिए तर कोइराला इच्छुक थिएनन् । कोइराला–थापाबीचको अविश्वासले केन्द्रीय कार्यसमिति बैठकअघि समूहका पदाधिकारी र सदस्यबीच छलफल गरेर सामूहिक धारणा बनाउने प्रचलनसमेत यसअघिको केन्द्रीय कार्यसमिति बैठकमा तोडिएको थियो । इतरसमूहका नेताहरूले निरन्तर दबाब दिएपछि कोइराला यस पटक शर्मा र पौडेललाई बैठकमा सहभागी गराउन सहमत भएका स्रोतको भनाइ छ ।