Sat2024 July 27
२०८१ साउन १२, शनिबार

नेपालले टि२०आईमा सबैभन्दा ठूलो लक्ष्य पछ्यायो

16

काठमाडौं– नेपालले त्रिकोणात्मक टि२०आई सिरिजको अन्तिम लिग खेलमा यूएईलाई हराउने क्रममा आफ्नो टि२०आई इतिहासको सबैभन्दा ठूलो लक्ष्य पछ्याएको छ ।

फाइनल पुगिसकेको नेपालले यूएईलाई ५ विकेटले पराजित गर्दै सिरिजमा अपराजित यात्रा पनि कायम राख्यो । जितका लागि १ सय ६५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

नेपालले आफ्नो टि२०आई क्रिकेट इतिहासमा पूरा गरेको यो सबैभन्दा ठूलो लक्ष्य पनि हो । यसअघि नेपालले केन्याविरुद्ध सन् २०२२ मा १ सय ६० रनको लक्ष्य पूरा गरेको थियो ।

मुलपानी क्रिकेट मैदानमा सोमबार नेपालका लागि ओपनर असिफ शेखले सर्वाधिक ६२ रनको योगदान दिए । कप्तान रोहित पौडेल ४७ रन जोड्दै १८ औं ओभरमा पेभेलियन फर्केका थिए । दीपेन्द्रसिंह ऐरीले १४ बलमा ६ चौका र १ छक्कासहित ३९ रन जोड्दै नेपाललाई जितसम्म पुर्याएका थिए ।

नेपालले सुरुवाती ३ ओभरमै ओपनर कुशल भुर्तेल, सोमपाल कामी र कुशल मल्लको साथ गुमाएको थियो । त्यसपछि कप्तान रोहितकुमार पौडेल र आसिफ शेखले ९९ रनको साझेदारी गर्दै नेपाललाई खेलमा कायम राखेका थिए ।

आसिफले १६ औं ओभरमा आउट हुनुअघि ५० बलमा ६ चौका र २ छक्का प्रहार गरे । उनी मुहमद जवादुल्लाहको बलमा बोल्ड भएका थिए । त्यसपछि दीपेन्द्र र रोहितले पाँचौ विकेटका लागि १५ बलमा ३७ रनको आक्रामक साझेदारी गर्दै नेपाललाई जिततर्फ डोर्याएका थिए ।

इनिङको चौथो बलमा कुशल भुर्तेल मुहमद जवादुल्ल्लाबाट बोल्ड भए । दोस्रो ओभरको पाँचौ बलमा सोमपाललाई अकिफ राजाले कट बिहाईन्ड गराए । तेस्रो ओभरमा कुशल मल्ल एक रन जोड्ने क्रममा बसल हमिदबाट नन स्ट्राइक एण्डमा रनआउट हुँदा नेपाल समस्यामा परेको थियो ।

त्यसअघि नेपालले टस जितेर पहिलो ब्याटिङको निम्तो दिएपछि यूएईले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६४ रन जोडेको थियो । यूएईका लागि बसिल हमिद र वृत्य अरविन्दले ४५-४५ रनको योगदान दिए ।

बसिलले १९ बलमा २ चौका र ५ छक्का प्रहार गरेका थिए । इनिङको अन्त्यतिर उनको आक्रामक ब्याटिङकै कारण यूएईले राम्रो योगफल खडा गरेको थियो । त्यसअघि वृत्यले मध्यक्रम सम्हाल्ने क्रममा ५१ बलमा ४ चौका प्रहार गरे ।

अब सिरिजको फाइनल शुक्रबार टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । त्यसअघि बुधबार यूएई र हङकङले प्रतिस्पर्धा गर्नेछन् । नेपालको ४ खेलमा ८ अंक हुँदा यूएईको ३ खेलमा २ अंक छ । हङकङ अंकविहिन छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर