हेटौँडा । बायर लेभरकुसन यस्तो एउटा जर्मन क्लब हो जस्लाई बुन्डेस लिगाको उपाधि जित्न ६० वर्ष कुर्न पर्यो । उसलाई जर्मन खेल पण्डितहरूले लेभरकुसन नभै ‘नेभरकुसन’ भन्ने गर्दथे । हुन पनि उसको रेकर्ड पनि त्यस्तै थियो । पाँच पटक लिगको उपाधि नजिक पुगेर पनि सधैँ दोस्रोमा नै चित्त बुझाउनुपर्ने उसको नियति थियो ।
तर सन् २०२३-०२४ को सिजनमा त्यस्तो भएन । उसले आफ्नो नेभरकुसनवाला ट्यागलाई यस्तो सङ्ग मेटिदियो कि रेकर्ड नै बनाएर पहिलो पटक लिग जित्यो । जर्मन क्लब फुटबल इतिहासमा ‘अनविटन विनर’ को रेकर्ड लेभरकुसनले पायो ।
नेपालमा एउटा भनाई छ ‘१२ वर्षमा खोला फर्कन्छ’ तर लेभरकुसनलाई त्यही खोला फर्काउन पाँच वटा १२ वर्ष कुर्न पर्यो । लेभरकुसनको यति लामो कथा जोड्नु पर्ने अवस्था नेपाली महिला फुटबलको कारण आएको हो । नेपाली महिला फुटबलको कथा पनि लेभरकुसन भन्दा कम छैन । भलै नेपाली महिला फुटबलले उपाधिको लागि एउटा मात्र खोला फर्काउनुपर्ने समय बिताएको होस् तर कथा मिल्दोजुल्दो छ । समूह चरण राम्रो खेल्ने, नकआउटमा पनि राम्रो गर्ने र फाइनलमा उपाधि अरुलाई नै सुम्पने । यो नेपाली महिला फुटबलको लागि नमिठो तथ्य हो ।
अब तथ्यमा कुरा गरौँ । नेपाली महिला फुटबलले पछिल्लो ११ वर्षमा अन्तर्राष्ट्रिय फुटबलको क्षेत्रमा उल्लेख प्रगति गरेको छ । व्यक्तिगत खेलाडी त झनै प्रगतिपथमा छन् । नेपालबाट दर्जनौँ महिला फुटबलर अहिले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो खेल कौशल देखाउँदै देश चिनाउने अभियानमा सक्रिय छन् । अझ भनौँ नेपाली महिला फुटबलरको ख्याति पुरुषको भन्दा अन्तर्राष्ट्रिय फुटबलमा धेरै छ ।
सुखद पक्ष के हो भने अहिले नेपाली महिला फुटबलरहरू फुटबल खेलेरै आफू र आफ्नो परिवार सुखसँग पाल्ने हैसियतमा मात्र पुगेका छैनन् मनग्य आम्दानी गर्न पनि सक्षम भएका छन् । तर सुखबीचमा एउटा दु:खद पक्ष पनि छ, नेपाली टीमले जति प्रगति गरे उपाधि विहीन बनेको छ ।
अब तथ्यांकमा कुरा गरौँ नेपालले हालसम्म ११ वटा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलिसकेको छ । तर यी सबै प्रतियोगितामा नेपाल उपविजेतामा नै थन्किएको छ ।
नेपालले सन् २०१० को दक्षिण एसियाली खेलकुद ‘साग’ मा पहिलो पटक फाइनल खेल्यो । तर उपाधि भारतलाई ३-१ ले सुम्पियो । बङ्गलादेशको ढाकामा भएको खेलमा नेपाल उपाधि विमुख हुनुपरेको थियो ।
२०१० मै भएको साफ महिला च्याम्पियनसिपमा पनि भारतसँगै नेपाल १-० ले पराजित भयो । भारतसँग फाइनल हार्ने शृङ्खला यही रोकिएन । २०१२ को साफ महिला च्याम्पियनसिपमा पनि नेपाल फाइनलमा भारतसँगै ३-१ ले पराजित भयो । भारतसँग फाइनल हुने बित्तिकै हारिन्छ भन्ने मानसिकताको असरले अनि नेपाली महिला फुटबलको पिछा छोडेन ।
यसैको निरन्तरतामा सन् २०१४ को साफ च्याम्पियनसिपमा पनि नेपाल भारतसँगै ६-० ले पराजित भयो । २०१६ को दक्षिण एसियाली खेलकुद ९साग० को फाइनल पनि भारतसँग ४-० को पराजयको अर्को थप शृङ्खला थियो । लगातार पाँच वटा फाइनल भारतसँग हारेको नेपालले अब हार्ने पालो थियो म्यानमार सङ्ग । २०१९ मा भारतमा भएको हिरो महिला कपको फाइनलमा नेपाल म्यानमार सङ्ग ३-१ ले पराजित भयो । तर, यो खेलको समूह चरणमा नेपालले पहिलो पटक भारतलाई हराउन सफल हुँदै फाइनलमा स्थान बनाएको थियो ।
तर, हारको शृङ्खलाले अझै पूर्णविराम पाएन । सन २०१९ को साफ महिला च्याम्पियनसिपमा पुन नेपाललाई भारतले नै ३-१ ले पराजित गर्दियो । साफमा लगातार फाइनल गुमाएको नेपालले २०१९ मा नै किर्गिस्तानमा भएको नाजेज्दा कपमा भाग लियो र फाइनल पुग्यो ।
तर आयोजकसँग ३-२ ले पराजित हुँदै उपविजेतामा चित्त बुझायो । २०१९ मानै भएको सागमा पनि नेपालले भारतसँग २-० ले हार्न पुग्यो । उपाधिको भोको नेपालको लागि २०२३ को साग पहिलो उपाधि जित्ने सुनौलो मौका थियो । घरेलु मैदानमा भारतलाई हराउँदै फाइनल यात्रा गरेको नेपालको बाधक बङ्गलादेश बन्यो । दशरथ रंगशालामा भएको फाइनल भिडन्तमा नेपाल ३-१ ले पराजित बन्यो ।
बङ्गलादेशसँग पराजित भएको ठ्याक्कै एक वर्ष पुग्दा नेपालले बुधबार उही प्रतिस्पर्धीसँग उही स्थानमा फाइनल खेल्दै छ । ११ पटकसम्म उपाधि गुमाएको नेपालले १२ औँ पटकमा उपाधि जित्ने सपना बोकेको छ । हेरौँ १२ वर्षमा खोला फर्कन्छ या फर्कन्न ? तर अहिलेको यो स्वर्णिम महिला फुटबल पुस्ताले अब पनि उपाधि नजिते पुनः उही लिभरकुजन जत्तिकै संघर्ष र समय कुर्नुपर्ने त हैन ?