Sat2024 July 27
२०८१ साउन १२, शनिबार

नेपाल क्यानडासँग पराजित

18

रुपन्देही । टी-२० विश्वकपको तयारीमा रहेको नेपाल पहिलो औपचारिक अभ्यास खेलमा क्यानडासँग ६३ रनले पराजित भएको छ ।

जितका लागि एक सय ८४ रनको लक्ष्य पाएको नेपालले १९ दशमलव ३ ओभरमा सबै विकेटको क्षतिमा एक सय २० रन मात्र बनाउन सक्यो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन बनाए । उनले ३० बलको सामना गर्दै दुई चौका र दुई छक्का हिर्काए ।

त्यस्तै, अनिल साहले १६ बलमा २४ रनको योगदान दिए । उनले दुई चौका र एक छक्का हिर्काए । आसिफ शेखले २२ बलमा २२ रन जोडे । कुशल भुर्तेलले १६ बलमा १० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

क्यानडाका लागि डिलन हेलिगरले घातक बलिङ गर्दै चार विकेट लिए । साद बिन जाफर र जेरेमी गोर्डनले दुई-दुई विकेट हात पारे । कलिम साना र परगत सिंहले एक-एक विकेट लिए ।

यसअघि डालासको ग्रान्ड प्रेरी रंगशालमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८३ रन बनाएको थियो ।

क्यानडाका लागि निकोलस किर्तनले अर्धशतकीय इनिङ्स खेले । उनले ३९ बलमा ५२ रन बनाए । यस क्रममा उनले चार चौका र दुई छक्का प्रहार गरे ।

रवीन्द्रपाल सिंहले खेलको अन्त्यतिर विस्फोट ब्याटिङ गर्दै ४१ रन बनाए । उनले मात्र १७ बलमा एक चौका र चार छक्का हिर्काए ।

ओपनर नवनित धालिवालले २७ बलमा ३२ रनको योगदान दिए । उनले चार चौका हिर्काए । डिलन हेलिगर र परगत सिंहले १३-१३ रन जोडे ।

नेपालका लागि अविनाश बोहराले दुई विकेट लिए । त्यस्तै, करन केसी, सोमपाल कामी, गुल्सन झा र सागर ढकालले एक-एक विकेट हात पारे ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर