Sat2024 July 27
२०८१ साउन १२, शनिबार

नेपाल र चीनबीच परम्परागत नाकाका अतिरिक्त अन्तर्राष्ट्रिय व्यापार नाका सञ्चान हुने : प्रधानमन्त्री

19

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्ने र दुई देशको हवाई उडानबीच सहकार्य गर्न प्रोत्साहन गर्नेबारेमा सकारात्मक छलफल भएको बताएका छन् ।

अमेरिका र चीन भ्रमणपछि शनिबार स्वदेश फर्किएसँगै विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दे लैजाने बारेमा छलफल भएको बताए ।

उनले दुई देशबीच भएको समझदारी र अन्तर्राष्ट्रिय मूल्य मान्यता तथा सिद्धान्तमा आधारित भइ अघि बढाउने सहमति भएको पनि बताए ।

नेपालको आवश्यकताअनुसार चिनियाँ पक्षले अरनिको राजमार्ग मर्मत परियोजनाको चौथो चरण सुरु गर्ने सहमति भएको पनि उनले बताए । स्याँप्रुबेसी–रसुवागढी सडक मर्मतका लागि चिनियाँ पक्ष तयार भएको र हिल्सा सिमिकोट सडकको सम्भाव्यता अध्ययन गरी अघि बढाउन सहमति भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

चीनसँग टोखा–छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनलाई तीव्र गतिका साथ अघि बढाउने, काठमाडौं चक्रपथ सडकको दोस्रो चरणको कार्यान्वयनलाई तिव्रता दिने सहमति भएको पनि बताए । उनले नेपाल–चीन रेल्वे सहयोगका लागि कार्यदलको आठौँ बैठक छिटै गर्नेलगायत १२ वटा समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिए ।

नेपाल र चीनबीच परम्परागत नाकाका अतिरिक्त अन्तर्राष्ट्रिय व्यापार नाका सञ्चान हुने बताएका उनले मुस्ताङको कोरला नाका खोल्नुका साथै किमाथांका र ओलङचुङगोला चाँडै सञ्चालनमा ल्याउने सहमति भएको जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले मुस्ताङको कोरला नाकामा चीनले पूर्वाधारमा सहयोग गर्ने सहमति भएको बताए । प्रधानमन्त्री प्रचण्डले तिब्बत र नेपालको रेल, सडक, हवाईसेवा विद्युत् प्रशारण लाइन सबै क्षेत्रबाट जोडेर ट्रान्स हिमालयन मल्टी डाइमेन्सनल कनेक्टिभिटीको विषयलाई व्यवहारमा उतार्नेबारेमा छलफल भएको बताए । ल्हासाबाट काठमाडौं हवाई सेवा पुनः सुचारु गर्नसमेत अनुरोध गरेको बताए ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर