Sun2024 July 21
२०८१ साउन ०६, आइतबार

पद्मपुराण–सृष्टिखण्डको व्याख्यान

16

शौनकजीले यस प्रकार सोधेपछि लोमहर्षण–कुमार सूतजीले मधुर वाणीमा सूक्ष्म अर्थले भरिपूर्ण न्याययुक्त वचन भने–‘हे महिर्षिहरु ! तपाईहरुले जुन मलाई पुराण सुनाउने आज्ञा दिनुभएको छ त्यसले म प्रसन्न छु, ममा तपाईको महान् अनुग्रह भएको छ । सम्पूर्ण धर्मको पालनमा लागिरहेका पुराणवेत्ता विद्वानहरुले जसको सरलताले व्याख्या गर्नुभएको छ, ती पुराणोक्त विषयहरुलाई जसरी मैले सुनेको छु, त्यही रुपमा त्यो सबै तपाईहरुलाई मैले सुनाउँछु ।

सतपुरुषहरुको दृष्टिमा सूत जातिको सनातन धर्म यही हो कि उसले देवता, ऋषि र अमिततेजस्वी राजाहरुको वंश परम्परालाई धारण गरुन्–त्यसलाई स्मृतिमा राखुन् तथा इतिहास र पुराणहरुमा जुन ब्रह्मयादी महात्माहरुको वर्णन गरिएको छ तिनको स्तुति गरुन्, किनकि जब वेनकुमार राजा पृथुको यज्ञ भइरहेको थियो, त्यो बेला सूत र मागधले ती महाराजको पहिला स्तुति नै गरेका थिए । त्यस स्तुतिबाट सन्तुष्ट भएर महात्मा पृथुले ती दुबैलाई वरदान दिए । वरदानमा उनले सूतलाई सूत नामक देश र मागधलाई मगध राज्य प्रदान गरे ।

क्षत्रियको वीर्य अनि ब्राह्मणीको गर्भबाट जसको जन्म हुन्छ ऊ सूत कहलिन्छ । ब्राह्मणहरुले मलाई पुराण सुनाउने अधिकार दिएका छन् । तपाईले धर्मको विचार गरेरै मसँग पुराणको कुरा सोध्नु भयो त्यसैले यस भूमण्डलमा जो सबैभन्दा उत्तम तथा ऋषिहरुद्वारा सम्मानित पद्मपुराण छ, त्यसको कथा आरम्भ गर्छु । श्रीकृष्ण–द्वैपायन व्यासजी साक्षत् भगवान नारायणका स्वरुप हुन् । उनी ब्रह्मवादी, सर्वज्ञ, सम्पूर्ण लोकहरुमा पूजित तथा अत्यन्त तेजस्वी हुनुहुन्छ । उनैबाट प्रकट भएका पुराणहरु मैले पिताजीसँगै बसेर अध्ययन गरेको छु ।

कल्पको आदिमा ब्रह्माजीले सबैभन्दा पहिले पुराणहरुकै स्मरण गर्नुभएको थियो । पुराणहरु त्रिवर्ग अर्थात् धर्म, अर्थ र कामको साधक एवम् परम पवित्र छन् । पुराणहरुको रचना सय करोड श्लोकहरुले भएको छ । समय अनुसार यति ठुलो पुराणहरुको श्रवण र पठन असम्भव देखेर स्वयं भगवान तिनलाई संक्षिप्त बनाउनको लागि प्रत्येक द्वापरयुगमा व्यासरुपमा अवतार लिनुहुन्छ र पुराणहरुलाई अठार भागहरुमा बाँडेर तिनलाई चार लाख श्लोकहरुमा सीमित बनाइदिनुहुन्छ । पुराणहरुको यही संक्षिप्त संस्कण नै यस भूमण्डलमा प्रकाशित हुन्छ । देवलोकमा आज पनि सय करोड श्लोकहरुको विस्तृत पुराण मौजूद छ ।

अब मैले परम पवित्र पद्मपुराणको वर्णन प्रारम्भ गर्छु । त्यसमा पाँच खण्ड र पचपन हजार श्लोकहरु छन् । पद्मपुराणमा सबैभन्दा पहिले सृष्टिखण्ड छ । त्यसपछि मूमिखण्ड आउँछ अनि स्वर्गखण्ड र त्यस पश्चात् पातालखण्ड छ । तदनन्तर परम उत्तम उत्तरखण्डको वर्णन आउँछ । यति नै पद्मपुराण हो । भगवानको नाभिबाट जो महान पद्म (कमल) प्रकट भएको थियो जसबाट यस जगतको उत्पत्ति भएको हो । त्यही वृतान्तको आश्रय लिएर यो पुराण प्रकट भएको हो । त्यसैले यसलाई पद्मपुराण भनिन्छ । यो पुराण स्वभावैले निर्मल छ, त्यसमा पनि श्रीविष्णुभगवानको महातम्यको वर्णन हुँदा यसको निर्मलता झन् बढेको छ । देवाधिदेव भगवान विष्णुले पूर्वकालमा ब्रह्माजीप्रति जसको उपदेश दिनुभएको थियो तथा ब्रह्माजीले जसलाई आफ्ना पुत्र मरीचिलाई सुनाउनुभएको थियो त्यही यो पद्मपुराण हो । ब्रह्माजीले नै यसलाई यस जगतमा प्रचलित गराउनुभएको हो ।
क्रमशः …………..

 

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर