–सज्जन ढकाल ।
भनिन्छ मानव जिन्दगी एक सारथी हो जसले अनेक प्रकारका हजारौं परिदृश्यसँगै मायाँ, प्रेम, ममता, स्नेह र उत्प्रेरणाको स्रोतसँगै एक उमेरले भरिदै आएको बैँस बिसाउने स्थलसम्म पुर्याउँछ । आपसी समझदारी, एकतर्फी समझौता या जबरजस्तीका अन्य फरक फरक पाटाहरु किन न होउन् सबै श्रृष्टि सञ्चालनका लागि प्रकृतिले रचना गरिदिएको हो । नारी र पुरुषको अन्तर सम्बन्ध भावनाकै तहबाट सुगन्धमय फूल बनेर उम्रिएको हुन्छ । संसार यसैमा निर्भर रहि अनवरत रुपमा चलायमान छ ।
मानव जीवन सञ्चालन र यापनका विभिन्न पाटाहरु र अनेक थरिका बाटाहरु हुने गर्दछन् । त्यस्को सप्तरङ्गीे किरणमा देखिने मायाँको प्रतिबिम्बले पनि स्वर्गकै अनुभूति गराएको हुन्छ । त्यो सबै हाम्रो धरातलीय प्रेम र स्नेहको प्रतिमूर्ति र परिधी हो ।
दुःख सुखको क्षण, जटिल परिस्थिति, त्यो सबै हर्ष आँसु र बिस्मातको पात्र पनि यहि नै हो । जहाँ निकै ठूलो संघर्ष संगै चीत्कार भूमिगत भएको हुन्छ । जसले अनेक समस्या माथि समाधान र धैर्यताको पाठ स्मरण गराउँदै अगाडि बढ्न प्रेरित गर्नुका साथै सिकाइको पाठ उपलब्ध गराएको हुन्छ । व्यक्ति ज्ञानी होस् या अज्ञानी, बौद्धिक होस् या महाकवि मुर्ख कालिदास ; सबैलाई गन्तव्य तर्फको बाटोमा ल्याउने यही पारस्परिक अन्तरसम्बन्ध र सामिप्यता नै हो ।
जब मानिस प्रकृतिको चक्र र नियम अनुसार यस पृथ्वीमा जन्मिन्छ, उसको रोदनसँगै अनेक प्रकारका समस्याहरु आमाको प्यारो काख र पारिवारिक घेराबन्दीमा सँगसँगै हुर्किदै जान्छ । सिगान खाँदै नाङ्गो शरीर, खाली खुट्टा दिशा पिसावसँग खेल्दै बाल्यवस्था पार गर्नु स्वभाविक नै हो । यो अवस्था पार नगर्ने सम्भवतः कोही पनि यस पृथ्वी लोकमा हुँदैन, यही यथार्थ हो ।
आचरणले व्यवहार झल्काएको हुन्छ । व्यवहारिक जिन्दगीले मानिसलाई धेरै कुराको अनुभवसँगै नयाँ नयाँ पाठ सिकाएको हुन्छ । प्रकृतिले पृथ्वीको सृष्टिलाई निरन्तरता दिएको हुन्छ ।
म गुल्मी जिल्लाको सुदूरपश्चिम भागमा अवस्थित भुर्तुङ छापचौरमा जन्मिएको मान्छे । मेरो बुवा सरकारी फाँटको उच्च तहमा कार्यरत कर्मचारी, मेरो परिवारिक पृष्ठभूमि पढाइप्रति निकै अब्बल र बौद्धिक जमातको एक अंश थियो । मेरो आमा पुरानो जमनाको भएपनि औंठा छाप लगाउन नपर्ने साधारण लेख पढ गर्न सक्ने हुनुहुन्थ्यो । हामीलाई पढ्न निकै प्रेरित गर्नु हुन्थ्यो । भनिन्छ बालकको पहिलो पाठशाला घर हो ।
यसैको असली रुप र उपलब्धी मेरो दाजु लोक सेवामा नाम निकाली अधिकृत तहमा कार्यरत हुनुहुन्थ्यो । दिदी पनि मास्टर तहको पढाइ सकाएर लोक सेवाको तयारीमा दिनरात मिहेनत गरिरहनु भएको थियो । म गाउँकै एक विद्यालयमा पढ्दै थिएँ । म पनि पढाइमा अब्बल हुन्थेँ । आजसम्म परीक्षाको नतिजामा दोस्रो भएको रेकर्ड नै थिएन, जहिले पनि पहिलो स्थान हात पार्न सफल भएँ ।
वि.स. २०६० सालको एसएलसी परीक्षाको नतिजामा म प्रथम श्रेणीमा उत्तीर्ण हुन सफल भएँ । तत्पश्चात हाम्रो परिवारमा मलाई सहरमा पढाउने निर्णय भयो । म पढ्न बुवासँग बुटवल गएँ । बुवाले मलाई बुटवल बहुमुखी क्याम्पसमा भर्ना गरिदिनु भयो ।
मैले शिक्षा सङ्काय आइएडबाट मेजर इङ्लिस विषय लिएर पढ्ने निर्णय गर्नुका साथै भविष्यमा शिक्षक हुने ठूलो सपना देखेको थिएँ । त्यसै अनुरुप सबै बन्दोबस्त कोठादेखि लत्ताकपडा सबै बुवाले नै व्यवस्था गरिदिनु भयो । मेरो कोठा बुटवल क्याम्पस नजिकै गोलपार्क चोकमा थियो । जहाँ प्रति महिना ५०० भाडा तिर्नु पर्दथ्यो । बिजुलि पानीको खर्च छुट्टाछुट्टै लाग्ने गर्थ्यो ।
क्याम्पस आउने जाने, मिहनतका साथ पढ्ने प्रकृया चलिरहेको थियो । म कोठामा एक्लै बस्ने र पढ्ने गर्थे । क्याम्पसको पढाइ बिहानमा ६ बजेदेखि सन्चालन हुन्थ्यो, त्यसैले बिहानै उठ्नु पर्ने, सबै साथीभाइहरुसँग चोकमा भेट हुन्थ्यो र जाने आउने क्रम चलिरहेको थियो । दिउँसो फुर्सदको समयमा साथी–भाइसँग सम्बन्धित विषयमा कुराकानी भैरहन्थ्यो ।
मेरो कोठामा साथीहरु आउने र म पनि जाने गर्दथें । यो कुनै नौलो कुरा पनि होइन । सहपाठीहरुसँगै कक्षामा पढ्न थालेपछि साथीभाइ दिनप्रतिदिन बढ्दै जानू स्वभाविक पनि हो । विद्यार्थी जीवनमा समयले नेटो काटेको थाह हुँदैन । प्रथम वर्षको परीक्षा पनि नजिकिदै थियो ।
म कडा मिहिनेतका साथ अन्तिम तयारी गर्दै थिएँ । त्यतिबेला आजभोलिको जस्तो जमना थिएन । एक कल फोन गर्न पिसिओमा जानु पर्थ्यो जहाँ एसटिडी, आइएसटिडी कल उपलब्ध छ, भन्ने बोर्डहरु मात्र चारैतिर पसलमा देखिन्थ्यो । मोबाइलको बल्लतल्ल बुटवलमा सुरुवात भएको थियो ।
यदाकदा कसैले नोकिया लेखेको सेट बोकेको देखिन्थ्यो त्यही पनि १६०० मोडल पहाडबाट बजारमा झरेको गाउँले स्वभाव र पाराको हामी सहरका सबै झिलिमिली मानिसको फेसन मेरो लागि निकै नौलो थियो । वि.स. २०६१ साल भदौ महिनाको ६ गतेबाट प्रथम वर्षको परीक्षा सञ्चालन हुने टियुले सेड्युल निर्धारण गरेको थियो ।
त्यसै अनुरुप परीक्षा सञ्चालन भयो र सबै विषय सकिए पछि केही महिना क्याम्पस बन्द भयो । त्यसैले खाली समयमा कम्प्युटर सिक्न थालँे । घरमा आमा, बुवा, दाजु र दिदीले पनि त्यसै अनुरुप सल्लाह दिनु भयो । जसले मलाइँ उच्च शिक्षा हासिल गर्न उर्जा र थप प्रेरणा मिलिरहेको थियो ।
दोस्रो वर्ष अध्ययन गर्दैगर्दा प्रथम वर्षको रिजल्ट पनि आयो जहाँ म लगायत अन्य ८ जना साथीहरु प्रथम श्रेणीमा र अन्य ५० जना दोस्रो श्रेणीमा उत्तीर्ण भयौं । जति बेला हर्ष बिस्मात र उमङ्गको कुनै सीमा थिएन किनकि उत्तीर्ण हुने सबै गाउँबाट आएका थियौँ । त्यसमा धेरै जति गुल्मी, अर्घाखाँची, प्युठान र बाग्लुङका रहेछौँ ।
मेरो उमेर पनि त्यति बेला १७ वर्षको थियो, खासै बाठो नभएपनि चन्चले स्वभाव र सबैसङ्ग बोली परिचय गर्ने खालको थियो । एकदिन क्याम्पसको क्यान्टिनमा खाजा खाने समयमा हामी समोसा र मटर खाँदै थियौं । त्यत्तिकैमा एक जना इन्टर प्रथम वर्षमा पढ्ने केटीसँग नजर जुध्न पुग्यो । उसको मन्द मुस्कानसँगै हाँसो र मेरो हेराइ सायद फलाम र चुम्बकबीचको जस्तै आकर्षण बन्न पुग्यो । त्यो दैवले जुराएको नियती थियो । किनकी उ अर्को टेबुलको पारी पट्टि बस्नुको साथै साथीहरुको समूहमा थिइ ।
प्रथम श्रेणीमा उत्तीर्ण हुने को रहेछ त्यो सज्जन नामको मान्छे भनेर उसले हेरेकी रहिछे । त्यसैले नजर ठोक्कियो मलाई साथी रोहित (बाग्लुङ), क्षितीज (प्युठान), समीप (रुकुम), दिवस (अर्घाखाँची) ले के हो ? चाला ; राम्री देख्न नहुने, लाइन मार्ने भन्दै ठट्टा गर्दै जिस्काए । म पनि त्यस्तै हो भन्दै हाँसोमा हाँसो थपिदिएँ ।
दिनका दिन एक आपसमा नजर ठोक्किदै गए । मैले पनि उसको पृष्ठभूमि बुझ्ने कोसिस गर्दै थिएँ । केही हप्तापछि थाह भयो उसको घर गुल्मीको रिडि रहेछ । उ पनि बुटवलको मिलन चोकमा मामाको घरमा बसेर पढ्ने रहिछे । पढाइमा मध्यम स्तरकै भएपनि शारीरिक जिउडाल, रुप निकै आकर्षक थियो । उसको नाम समिक्षा रहेछ । सृष्टिचक्रसँगै सहयात्राको क्रममा मानिस सामाजिक संस्कृतिको अनुयायी बनेको हुन्छ । जन्म पश्चात् नियतीजन्य अनिवार्य मृत्युको नियमलाई कसैले तोडन सक्दैन । भनिन्छ प्रेम अन्धो हुन्छ । यसको मापन गर्न सकिने कुनै मापदण्ड र तराजु पनि हुँदैन । प्रेम त भावमा झल्किन्छ । यस्लाई दृष्यमा देखाउन सकिँदैन ।
केही दिनपछि सायद स्मरण भएसम्म २०६२/८/४ मा मलाई उसैले (लभ लेटर) प्रेमपत्र प्रत्यक्ष दिदै ल है भोलि भेटौला भन्दै बिदा भएकी थिइ । मैले त्यो कुरा साथी भाइलाई सेयर गरेँ । ठिक छ ; प्रोसेस अगाडि बढा, ओके गर भन्ने सुझाव पाएँ । त्यसै अनुरुप मैले पनि प्रतिउत्तरमा सकारात्मक जवाफ लेख्दै पत्र पठाएँ ।
त्यस पश्चात् हाम्रो सम्बन्ध दिन प्रतिदिन निकै प्रगाढ बन्दै गैरहेको थियो । यसमा कुनै स्वार्थ, बदनियत र शंकाको परिवेश थिएन । थियो केवल भावनामा डुबुल्की खेल्दै गरेको एक १८ वर्षे किशोर किशोरिको सच्चा प्रेम, संवेगवश जुरेको सहयात्रा मात्र थियो ।
भनिन्छ सम्बन्ध प्रगाढ भैसकेपछि दिनहुँ भेट हुनु स्वाभाविक हुन्छ । अन्तरात्माको मिलन पछि एक आपसको समझदारीमा शारीरिक संगम कुनै नौलो कुरा होइन । यस्तै यस्तै धेरै चरणहरु हाम्रो किशोर अवस्थामा नै अनुभव भैसकेका थिए । किनकी सधैभरी केटाले भरिने मेरो कोठा उनको र मेरो सम्बन्ध पश्चात् उनको आगमनले साथीहरुको आगमन प्रायः ठप्प भैसकेको थियो ।
दोसो वर्षको परिक्षा र नतिजा प्रकासन पश्चात् मलाइ उच्च शिक्षा अध्य्यनको लागि विदेश जानू पर्ने दवाव परिवारिक श्रोतबाट आउन थाल्यो । म पनि त्यो नकार्न सकिन म विद्यार्थी भिजामा अध्य्यनको लागि अस्ट्रेलियाको प्रोसेसमा लागे फल स्वरुप सफल भयो, र २०६४ तिर सिड्निको एक विश्वविद्यालयमा अध्ययन गर्न पुगे ।
उनको र मेरो सम्बन्ध सायद यस्तो थियो कि बयान गरेर पुग्दैन । दिनमा कैयौँ पटकको भेटघाटको क्रम लिभिङ टुगेदर जस्तै बन्न पुगेको थियो । अधिकांश रात हाम्रो यौटै बिस्तरामा बितेको थियो ।
विदेश यात्राको अन्तिम घडीसम्म सँगै मर्ने सँगै बाँच्ने बाचा कसम थियो । म पनि त्यतिन्जेल यथार्थको गहिराई मै डुबेको थिएँ । सायद जिन्दीमा कानूनी रुपमा श्रीमतीको दर्जा दिन नसके पनि नैतिकताको परिधिसँगै मेरो मुटुमा सजाइ रहने छु भन्ने कसम खाएको थिएँ ।
केही वर्ष अस्ट्रेलियाको अध्ययन र कानुनी प्रक्रिया पूरा गरि त्यहाँको पिआर लिन आफ्नो करियर र भविष्य निर्माणको लागि संघर्ष गर्दा गर्दै ८ वर्ष बित्यो । त्यो समयमा मेरो सम्पर्क पनि हराउन पुग्यो किनकी म उतैको एक विश्वविद्धालयमा खुल्ला प्रतिस्पर्धाबाट नाम निकाली पढाउन थालेको थिएँ । जुन मेरो जिन्दगीको सपना र लक्ष्य थियो ।
यता बिहेको लागि उमेर परिपक्व बन्दै जाँदा समिक्षाको बिवाहको लगन गाँठो जुरेछ । त्यो पनि मलाई पत्तो थिएन । विवाह पनि गाउँले दाइसङ्ग भएको रहेछ । सिड्नीको बसाइ र विश्वविद्यालयको बिदामा नेपाल आउँदा म गाउँमा गएँ । सबैसँगको भेटघाटको क्रममा दिपक दाजुको घरमा गएँ । मेरो पूर्व प्रेमिकासँग मागी विवाह भएको रहेछ । कुराकानीकै क्रममा केही बेरमा समिक्षालाई चिनें । भाउजु भनेर सम्बोधन गर्न मनले मानेको थिएन, बाध्यतावश भाउजु भनेरै बोलेँ ।
मनमा असह्य पीडा बोध भयो । मनमनै विगतलाई नियाल्दा म त पापी रहेछु जस्तो लाग्छ । किनकी हिन्दू संस्कारमा आमा मुनिको भाउजु हुने गर्छिन् अप्रत्याशित मोडमा समिक्षालाई भेट्दा आफैले आफैलाई प्रश्न गरिरहेको छु । अनेक थरीका प्रश्न ।
धेरै प्रत्यन गरेर स्वयंलाई सम्हालेँ । किशोर अवस्थामा बैँस पोख्ने भाँडो तुल्य समिक्षाको जिन्दगीलाई बनाएकोमा अन्तरमनले आफूलाई अन्तर्घाती मान्दा म गलत हुँदिन होला । दिपक दाजु मभन्दा केही महिनाले जेठो भएपनि नाताले सिर निहुराइ ढोग गर्नु पर्छ । भाउजू सब्दलाई अंकुश लगाउने हो भने सम्बोधन गर्ने कसरी ? म आफैमा पलपल विचलित हुन्छु ।
सिड्नीमा मैले उत्पादन गरेका प्रतिभा र तिनको चरित्रपनि त्यही किशोर अवस्थाको आवेगजन्य निर्णय जस्तो नबनोस् । जिन्दगीका अनेकौ उकाली ओरालीमा यसरी अर्थ परिवर्तन हुने सम्बन्ध नाताहरु सरल बनुन्, सहज बनुन् । भाउजू भनेर सम्मान दिनुपर्ने नाता आफैमा पवित्र हो तर यो नै मेरो लागि फाँसीको फन्दा बनेको छ ।
मैले पाउनुपर्ने उचित सजाय पाएँ भने सहर्ष भोग्न तयार छु । विपरित लिङ्गप्रतिको आकर्षण प्रकृतिको नियम हो तर किशोर अवस्थाताका फिजिकल रिलेशनको रोजाइ र निर्णय त मेरो आफ्नै थियो । अरुलाई मैले कसरी दोष दिउँ ? म नै गलत हुँ । दोषी हुँ ।