लमजुङ्ग । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको भोलिपल्टै लमजुङमा प्रहरी कार्यालय परिषरभित्रै पतिद्वारा पत्नीको कुटपिट भएको छ ।
२३ वर्षीया कृषा रिमाललाई उहाँका पति बेसीशहर–६ मकैडाँडा निवासी २४ वर्षीय सघन रिमालले मङ्सिर १० गते बेसीशहरस्थित जिल्ला प्रहरी कार्यालयको गेट अगाडि नै कुटपिट गरेको पीडितले बताउनुभयो ।
पीडित कृषा रिमालले आफुलाई घरपरिवारले निरन्तर रुपमा शारिरीक तथा मानासिक याताना दिएको भन्दै भदौ ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । सोही यातनाका कारण उहाँ डेढ महिना देखि चितवनमा माइतीमा बस्दैआउनुभएको थियो । उहाँको चार वर्षीया छोरीलाई आँफु संगै लानको लागि जिल्ला प्रहरीमा निवेदन दिनुभएको थियो ।
प्रहरी कार्यालयले छोरी उपलव्ध गराइदिने भनेपछि कृषा मङ्सिर १० गते लमजुङ आफ्नो पतिको घरबाट छोरी लिएर फर्किएर बेसीशहर जिल्ला प्रहरी कार्यालयका गेट परिषर भित्र आइपुग्दा उहाँको पति, जेठाजु विराज रिमाल, सासु रुपा रिमालले उहाँ र उहाँको बुवालाई समेत कुटपिट गरी पतिले छोरी खोसेर फरार भएको उहाँले बताउनुभयो ।
केही समयपछि मात्र प्रहरी आएर सासु र जेठाजुलाई नियन्त्रणमा लिएको थियो र पति सघन रिमाललाई फोन गरेर छोरी ल्याउन निर्देशन दिइएको थियो । पछि छोरीलाई आमासंग बुझाई प्रहरीले सघनलाई हिरासतमा राख्यो तर जाहेरी लिन नमानेको साथै दबाव दिएर मिलापत्र समेत गराएको कृषाका बुबा कृष्णबहादुर बस्नेतले बताउनुभयो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेता पनि जिल्लामा भने हिंसाका गतिविधिमा कुनै कमी आएको छैन ।