Sat2024 July 27
२०८१ साउन १२, शनिबार

फितलो सुरक्षा संयन्त्रबीच भ्रष्टाचारी, तस्कर र अपराधीको सेटिङ्ग

19

रुपन्देही, भदौ १ । जब एयर्पोर्टदेखि क्वीन्टल क्वीन्टल सुन सुरक्षा संयन्त्रलाई चुनौति दिदै छिर्छ तब सर्बसाधारण ब्यक्तिले पनि अनुमान लगाउन सक्छ कि त्यहाँ सेटिङ्ग छ, मिलिमतो छ, भ्रष्टचार छ भनेर तर पनि दोषीलाई जोगाउन पूर्व प्रमदेखि उच्च ओहदाका नेताहरु लागिपरेको देखिन्छ । नेताका छोराछोरी, ज्वाई, भतिजलाई साधन बनाउँदै तस्करी मौलाएको हुन्छ । नत्र यत्रो सुरक्षा निकाय लाई च्यालेन्ज दिन कस्ले सक्छ ? १०० किलो भनिने ६० किलो सुन प्रकरणमा पनि यही भएको हो, सुन प्रकरण सम्बन्धमा जानकार जति सबैको यही अनुमान छ ।

१०० किलो सुन प्रकरणमा दावा छिरिङले बयान दिएका छन् कि एमालेका उपाध्यक्ष ईश्वर पोखरेलका छोरा स्वराज पोखरेल र उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीकसंग मिलेर विगतदेखि व्यवसाय गरिरहेको हो भनेर तर ती व्यक्तिलाई तुरुन्त पक्रेर कार्वाहीको दायरामा ल्याउन प्रसाशन सामु अल्लमल्लको स्थिति किन आउँछ ? तस्करसङ्ग संम्लग्न रहेका सम्पूर्ण ब्यक्ति चाहे त्यो प्रम, उप प्रम, नेता, मन्त्रीका आफन्त जोसुकै किन नहोस् तुरुन्तै कार्वाही गर्न सरकारले पहल गर्नुपर्नेमा त्यसो हुन नसक्नु आफैमा विडम्बना हो ।

साउन ३ गते बरामद भएको साढे ६० केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसहित सातजना चिनियाँसँग नेपाली नागरिकता भेटिएको छ । सातैजनाले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नेपाली नागरिकता र राहदानी बनाएको सीआईबीको अनुसन्धानबाट खुलेको छ । ठूला राजनैतिक शक्तिकेन्द्रको आडबिना बिदेशीले यति सजिलै बजारको आलु किने झै यो देशमा नागरिकता किन्न सक्दै सक्दैनन् । यिनिहरुलाई नागरिकता प्रदान गर्ने काभेपलान्चोक जिल्ला प्रशासनका प्रशासकीय अधिकृत लाई तुरुन्तै नियन्त्रणमा लिएर कानूनी कटघरामा उभ्याउन किन सक्दैन कानूनले ? यस्ता गैरकानूनी काममा संलग्न राष्ट्रद्रोही ठूला माछाहरुलाई उम्किन कसले दिइरहेको हुन्छ ?

त्यसैगरि दरबार हत्याकाण्डले देशलाई आज पनि निकास दिन सकेको छैन । पहिला सुरु त त्यत्रो सुरक्षा घेरामा रहेको राज दरबारमा सामान्य मान्छे प्रवेश गर्ने कुरा सम्भव नै छैन । प्रवेश गरिहाल्यो भने पनि सुरक्षा संयन्त्रले प्रवेशद्वारमै पत्ता लाएर नियन्त्रमा लिइहाल्नुपर्ने विषय हो यो । आधुनिक हातहतियारसहित प्रवेश गरेर दरबार हत्याकाण्डलाई अन्जाम दिदासम्म त्यहीँ तैनात सुरक्षा निकायलाई सुइकोसम्म हुँदैन र बचाउमा प्रतिकारात्मक एक्शन लिएको पनि देखिदैन । २०५८ साल ज्येष्ठ १९ गते शुक्रबारको रात बडो नाटकीय ढंगले शाही परिवार नै सखाप हुन्छ ।

त्यसैगरि निर्मला पन्तको बलात्कार र हत्याको घटनाले त सिंगो देशको सुरक्षा संयन्त्रलाई लज्जित बनाएको हुनुपर्ने हो । २०७५साल १० गते बिहान ११ बजे रोशनी बमको घर होमवर्क गर्न भनि हिडेकी १३ वर्षीय किशोरी साँझसम्म घर नआएपछि उनकी आमा रोशनीको घर जान्छिन् र छोरी त्यहाँ आएको तर अहिलेसम्म घर नफर्केको भनि रोशनी र बबितालाई सोध्छिन् । बमको घर भित्र पसेर आफै हेर्न चाहन्छिन् तर दिदीबहिनीहरुले उनीलाई घर पस्न दिन्नन् उल्टै भित्र पस्न खोजेको भन्दै रिसाउँछन् । त्यही राति निर्मलाको आमाले प्रहरीलाई खबर गर्छिन् । प्रहरीले दिउँसैदेखि हराएको अनि अहिले जानकारी दिन आउने भन्दै हप्काउँछ । तुरुन्त रोशनी बमको घर गएर खानतलाशी गरेको भए निर्मला त्यहीँ भेटिन्थिन् । बलात्कार भए पनि उनको हत्या भने हुन पाउँथेन । बमकै घर रातभर बलात्कार मात्रै होइन हत्यासमेत गरेर राति नै बमको घरभन्दा ६०० मिटर पर उँखुबारीमा लाश फ्याँकिन्छ । स्थानीयहरुले सबुत प्रमाण मेटाएको, लापरवाही गरेको र दोषीलाई बचाउन खोजेको भन्दै प्रहरीलाई आरोप लगाएका थिए ।

देशमा अपराध, तस्कर, बलात्कार, हत्या, भ्रष्टाचार हुनबाट रोक्न सकेको भए मात्र सुरक्षा संयन्त्रको औचित्य बढेर जान्थ्यो । यहाँ त घटनाको निष्पक्ष र परिणाममुखी छानबिनसम्म पनि हुन सक्दैन । देशभर जरा गाडेर रहेको तस्करी, बलात्कार, हत्या र भ्रष्टाचारको संगठित स्वरुप देशको समृद्धि र कानूनको अस्तित्व मेटाउने हलाहल विष हो, यसलाई निर्मूल पार्नु जरुरी छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर