सम्पादकीय
बंगलादेश भित्रको प्रदर्शनलाई जेन जेड क्रान्ति भनिएको छ । एक विरोध आन्दोलन जसले धेरैजसो युवा विद्यार्थी प्रदर्शनकारीहरूलाई ७६ वर्षीया नेता विरुद्ध खडा गर्यो जसले दशकौंसम्म बंगलादेशमा निरन्तर प्रभुत्व जमाएको थियो र हालका वर्षहरूमा बढ्दो अधिनायकवादी बन्यो।
बंगलादेशको राजधानी ढाकामा साता लामो सरकार विरोधी अशान्तिपछि प्रधानमन्त्री शेख हसिनाले सोमबार (५ तारिख, २०२४) राजीनामा दिई हेलिकप्टर चढेर देश छोडेपछि बंगलादेशको राजधानी ढाकाका सडकमा हर्षोल्लास छाएको छ ।
हसिनाको आकस्मिक बहिर्गमनले १५ वर्षको सत्ता समाप्त भयो भने स्थानीय मिडिया र एजेन्सिहरुका अनुसार प्रदर्शनमा करिब ३०० जनाले ज्यान गुमाए ।
१९७१ मा, पाकिस्तानमा आन्तरिक संकटको परिणामस्वरूप भारत र पाकिस्तान बीच तेस्रो युद्ध र पूर्वी पाकिस्तानको अलगाव, बंगलादेशको स्वतन्त्र राज्य सिर्जना भयो । स्वतन्त्र बंगलादेश बनाउनका लागि केही दिग्गजहरुले उल्लेख्य योगदान पु¥याएका थिए । सन् १९७१ मा पाकिस्तानबाट बंगलादेशको स्वतन्त्रताका लागि लडेका तिनै दिग्गजका आफन्तका लागि निजामती सेवाको ३० प्रतिशत पदहरू आरक्षित गर्ने सरकारी कोटा प्रणालीको अन्त्यको माग गर्दै विद्यार्थीहरूले जुलाई १ मा प्रतिष्ठित ढाका विश्वविद्यालयमा विरोध प्रदर्शन गरे ।
देशका धेरै समकालीन राजनीतिक अभिजात वर्गहरू त्यो पुस्तासँग सम्बन्धित छन् – जसमा १९७५ मा हत्या गरिएको आधुनिक बंगलादेशका संस्थापक शेख मुजिबुर रहमानकी छोरी हसिना पनि समावेश छन् ।
आरक्षित भूमिकाहरू रोजगार सुरक्षा र उच्च तलबसँग जोडिएका थिए, र प्रदर्शनकारीहरूले भने कि कोटा प्रणाली भेदभावपूर्ण छ र हसिनाको सत्तारूढ अवामी लिग पार्टीका समर्थकहरूलाई समर्थन गर्दछ ।
देशमा चुलिएको बेरोजगारीले युवाहरुलाई थप रिसाउन हालेको थियो । बंगलादेशले हसिनाको नेतृत्वमा बलियो आर्थिक वृद्धि देखे तापनि यो महामारी पछिको समयमा सुस्त भयो र उच्च मुद्रास्फीति र घटेको विदेशी मुद्रा भण्डारले घेरिँदै गयो । १७ करोड जनसंख्या भएको राष्ट्रमा ३ करोडभन्दा बढीले न काम पाएका छन् न त शिक्षामा अवसर नै ।
जुलाई १५ मा प्रदर्शन हिंसात्मक भयो र सरकारको बढ्दो घातक प्रतिक्रियाले उनीहरूको आक्रोशलाई थप उकालोतिर लग्यो । सर्वोच्च अदालतले सरकारी जागिर र इन्टरनेट ब्लकहरूमा धेरै विवादास्पद कोटाहरू फिर्ता लियो तर प्रदर्शनकारीहरु रोकिएनन् ।
प्रदर्शनकै क्रममा प्रहरी र प्रदर्शनकारीहरू बीच झडप हुँदा ४ (२०२४) तारिख आइतबारका दिन कम्तिमा ९१ जनाको मृत्यु र सयौं घाइते भए । कुनै पनि विरोध प्रदर्शनबाट एकै दिन यतिका सङ्ख्यामा ज्यान जानु देशको हालैको इतिहासमा सबैभन्दा बढी हो ।
के नेपालमा यस्तो होला ?
नेपालको हकमा अधिकांश युवाहरु कुनै न कुनै राजनीतिक दलसँग आबद्ध भई आफ्ना व्यक्तिगत स्वार्थ पूरा गर्ने अभ्यासमा छन् । आफू आबद्ध राजनीतिक दलले जस्तो सुकै निर्णय गरोस् त्यसलाई यस म्यान (Yes Man)को शैलीमा स्वीकारोक्ति र समर्थन दिई छाड्छन् । लगभग सबै दलहरुको नेतृत्वमा ज्येष्ठ नागरिकहरुकैै हालीमुहाली कायम छ । उनैका मातहतमा युवा वर्गहरु प्रायः विवेकहीन अवस्थामा कार्यरत वा परिचालित छन् । कुनै पनि क्रान्ति वा आन्दोलनको प्रणेताका रुपमा चिनिने युवाहरु नै यसरी पराधिन भएपछि उनीहरुबाट त्यस्तो क्रान्तिको अपेक्षा राख्नु सायद हतार गरे जस्तै होला ।
राजनीतिक पार्टीका वयोवृद्ध नेतृत्वहरुले मिलिजुली गठबन्धनको सरकारमा बस्न र आर्थिक लाभ पाएसम्म देशको मुहार फेरिदिने निर्णायक क्रान्ति वा आन्दोलन गर्लान् भन्नु त पैदल हिँडेर नै सारा आकाश चाल्छु भने जस्तै हो ।
देश बाहिरका युवाहरुको त ठेगान नै छैन, सग्लै आउने हुन् कि बाकसमा । अब रह्यो सर्वसाधारण जनताको कुरा, जो राजनीतिक दलसँग आबद्ध छैनन् । बबुरा सर्वसाधारण जनता त झन् बिहानदेखि साँझपर्यन्त हातमुख कसरी जोड्ने भन्ने जोहोमा रुमल्लिएका छन्, रल्लिएका छन्, जिल्लिएका छन् । देशकै सर्वाेच्च शक्ति भनिएका नागरिकहरु कोही विदेशिएका छन्, कोही कमजोर अवस्थामा छन्, कोही पुगेकै छ क्यारे भन्नेवाला छन्, कोही मेरो पार्टी भनी भनी मरिहत्ते गर्नेवाला छन् । यस्तो बाँडफाड र कित्ताकाटले सबैलाई व्यस्त राखेको छ । व्यस्त पनि यति कि कसैलाई आफ्नो, आफ्ना सन्ततिको र देशको ‘भोलि’ कस्तो होला भन्ने बारे सोच्ने एक सेकन्डको पनि फुर्सद छैन । कसले कसका लागि गरिदेला क्रान्ति ? कसले कसका लागि ल्याइदेला आन्दोलन । तैँ चुप, मै चुपको स्थिति छ यहाँ । झनै बिग्रँदो छ हाल, बरा नेपाल ।
तर पार्टी र व्यक्तिगत स्वार्थलाई महत्व नदिई देशको अस्तित्व तथा राष्ट्रभक्तिलाई प्राथमिकतामा राख्दै बुद्धिविवेकले काम गर्न सक्ने हो भने कालजयी क्रान्ति सर्वसाधारणबाटै सम्भव छ ।