Sat2024 July 27
२०८१ साउन १२, शनिबार

बौद्ध भिक्षु र परिस्थितिजन्य वेश्यावृत्तिमा लागेकी आम्रपाली

17
जबसम्म भोग विलासमा रमाउनसक्ने क्षमता हुन्छ शरीरमा मानिस भोग विलासमै व्यस्त रहन्छ । जब एक दिन मृत्यु सुनिश्चित भइसक्यो अब म विदा लिनुपर्छ भनी पूर्वाभास पाउँछ त्यतिबेला जीवात्माले मृत्युलाई सहज स्वीकार्दछ । भोगविलासको संसारमा मैले समय बिताउनु छ अझै भन्दै उसले मृत्युसँग विद्रोह गर्दैन । के यही हो बेहोशीको जीवन ??? मानिसले आफूले आफ्नो लागि निर्णय गर्न मिल्ने केही छैन त ???? इन्द्रियहरु उपरको नियन्त्रण नै जीवात्माको सबैभन्दा ठूलो उपलब्धी हो किनकि त्यसपछि दिव्यशक्तिको संसारमा प्रवेश गर्न उसलाई अधिकार प्राप्त हुन्छ, वा भनौं ऊ योग्य बन्छ । जीवनमा एक अवस्था यस्तो आउँछ जुनबेला हामीसँग दुई कदम हिड्नलाई आवश्यक पर्ने बल हुन्न । त्यतिखेर बाध्यतामा परेर भोगविलास त्याग्नुको कुनै अर्थ हुन्न । त्यसैले बल छँदै विषयहरुबाट ध्यान हटाउनु नै चेतनमयी जीवात्माको लागि कल्याणकारी हुन्छ ।
बौद्ध भिक्षु र आम्रपाली
आम्रपाली भन्ने एक अत्यन्तै सुन्दर युवती थिइन् । उनीलाई परिस्थितिले वैश्या बन्न बाध्य तुल्यायो । उनको शरीर र यौवनसँग राजा, मन्त्री, ठूलाठूला व्यापारीहरु आनन्द लिने गर्दथे र बदलामा मनग्गै धन आम्रपालीलाई उपलब्ध गराउँदथे । आम्रापाली पनि हरेक मानिससँग पूर्ण प्रेम छ भन्ने देखाउनका लागि यौनक्रिडाका बेला सांच्चिकै प्रेममा भए जस्तो अभिनय गर्थिन् । प्रेम छ भन्ने अभिनय गरेतापनि आम्रपालीलाई ती शरीरका भोका मानिसहरुसँग वास्तवमा घृणा हुन्थ्यो । एक समय आम्रापाली बार्दलीमा उभिएर बाह्य दृश्य अवलोकन गरिरहेकी थिइन् । त्यही बेला बौद्ध भिक्षुहरुको समूह उनी बस्ने निवासकै तलबाट गुज्रदै थियो । सबैभन्दा अग्रपंक्तिमा रहेका युवा बौद्ध भिक्षुले बार्दलीमा उभिएकी आम्रपालीलाई आफ्नो हिंडाइलाई निरन्तरता दिदै नतमस्तक भई सप्रेम दुई अन्जुली जोडेर नमन गरे । युवा भिक्षुले यसरी आफूप्रति प्रेमभावपूर्वक नमस्कार गरेको देखेर आम्रपाली भित्रैबाट भावुक बनिन् । यस अघि आम्रपालीप्रति कसैले त्यत्रो सम्मान व्यक्त गरेको थिएन । स्वयंलाई रोक्न सकिनन् उनले अनि अनियन्त्रित अवस्थामा दौडदै ती युवा भिक्षुसामु घुडा टेकेर हात जोड्दै विन्तीभावले आँखामा अश्रु भर्दै भनिन् ‘‘हे भिक्षु देव मलाई हजुरले नमन गरेर म स्त्री भएको पहिलो पटक अनुभूति दिलाउनुभयो । यद्यपि म नमन ग्रहण गर्नयोग्य छैन ।
तथापि हजुरले मलाई सम्मान गर्नुभयो । यदि मप्रतिको यो सम्मानमा पवित्रता छ भने केहीबेर मेरो महलमा विश्राम गर्ने कृपा गर्नुहोस् ।’’ युवा भिक्षु सहज भावले उनको प्रस्ताव स्वीकार्दै भित्र विश्राम गर्न तयार भए । अन्य भिक्षुहरुलाई आश्चर्य लागीरहेको थियो । एक वैश्याको प्रस्तावलाई यसरी स्वीकार गरेकोमा उनीहरु सहमति दिने पक्षमा थिएनन् । केही बेरको विश्राम पश्चात भिक्षुले प्रस्थानका लागि अनुमति मागे । आम्रपालीले पुनः विन्तिभाव पस्कदैं युवा भिक्षुसँग अनुरोध गरिन् । ‘‘हे देव मेरो महलमा हजुरलाई ४ महिनाका लागि विश्राम लिनुहुन सविनय निमन्त्रण छ । स्वीकार्नुहोस् । म हजुरको साधनामा बाधक बन्दिन बरु साधनालाई सफल गराउन पूर्ण सहयोग गर्छु’’ आम्रापालीको विन्तीभावप्रति सम्मान दर्शाउँदै युवा भिक्षुले भने यो विषयमा मैले निर्णय लिन सक्दिन । एक पटक बुद्धलाई सोध्नुपर्ने हुन्छ । म बुद्धलाई सोधेर मात्र निर्णय दिन्छु ।’’ भन्दै युवा भिक्षु बाहिर निस्किए । अन्य भिक्षुहरुले आम्रापाली र युवा भिक्षुबीचको कुराकानी सुनेपछि पहिलै बुद्धसामु पुगेर सबै वृतान्त बताइ सकेका थिए ।
अनि ४ महिना विश्राम लिने निमन्त्रणलाई अस्वीकार गर्न उनीहरुले सुझावपूर्ण दवाब पनि दिए । बुद्धले भन्नुभयो –‘‘तिमीहरु प्रतीक्षा गर । पहिला भिक्षुलाई आउन देउ, भिक्षुको कुरा सुनौं अनि जे निर्णय गरेनि गरौंला ।’’ केही समयमा युवा भिक्षु आएपुगे । बुद्धलाई नमन गर्दै उनले भने – ‘‘एक महिलाले मलाई उनको महलमा ४ महिनाका लागि विश्राम लिन निमन्त्रणा दिनुभएको छ, जाउँ कि नजाउँ के गरुँ ?’’ युवा भिक्षुको आँखामा एकछिन् बुद्धले गौरिएर हेर्दै भन्नुभयो –‘‘जाउ, निमन्त्रण स्वीकार गर ।’’ युवा भिक्षुले आज्ञा पाएपछि आम्रपालीको महलतिर कदम बढाए । एक वृद्ध भिक्षुले असहमति जनाउँदै बुद्धसँग भने –‘‘यो के गर्नु भयो ? वैश्याको संगतीले सिंगो बुद्ध सँघ बदनाम हुन्छ, उसलाई रोक्नुहोस् ।’’ वृद्ध भिक्षुको कुरा सुनेर बुद्ध भन्नुहुन्छ–‘‘तपाईले ध्यान दिनुभयो ? युवा भिक्षुले ती स्त्रीलाई वेश्या भनी सम्बोधन गरेनन् महिला भने । युवा भिक्षुको आँखामा भोगको भाव नै छैन । त्यसैले मैले अनुमति दिएँ ।’’ वृद्ध भिक्षुले कुरा थपे –‘‘वेश्यासँगको ४ महिनाले सारा बुद्धसँघको बदनामी हुन्न भन्ने कुरामा म विश्वसस्त छैन ।’’ बुद्धले भन्नुभयो –‘‘हेर्दै जानुहोस् हामी बदनाम हुन्छौं कि अरु नै हुन्छ चार महिना पछि थाहा लाग्छ, प्रतीक्षा गर्नुस् ।
चार महिना पछि युवा भिक्षु बुद्ध सामु प्रस्तुत भए । उनी एक्लै थिएनन् उनीसँग ती आम्रपाली पनि आएकी थिइन् । युवती विन्तीभावले बुद्ध सामु झुक्दै भन्छिन् –‘‘हे बुद्ध देव मलाई आफ्नो शरणमा लिनुहोस् । म बांकीको जीवन साधनामै बिताउन चाहन्छु । मैले गएको ४ महिना युवा भिक्षुलाई आफूतिर आकर्षित गराउन अनेक प्रयत्न गरें किनकि उनीसँग मैले प्रेम गर्नथालेकी थिएँ । आजसम्म मलाई यौन सम्बन्ध राख्न अरुले निमन्त्रण दिन्थे । मैले पहिलो पटक कसैलाई मेरो सौन्दर्य अनि यौवनको मातमा संसार बिर्सेर लिप्त हुन यसरी निमन्त्रण दिएँ । तर युवा भिक्षुको ध्यान साधनाबाट हटाएर आफूमा केन्द्रीत गराउन असफल भएँ बरु युवा भिक्षुको गहिरो साधनाले उल्टै मलाई आकर्षित बनायो ।’’
बुद्धले आम्रपालीलाई दीक्षित गर्नुभयो । आम्रपाली नै बौद्ध सँघमा भिक्षु बनेको र ज्ञान प्राप्त गरेको पहिलो महिला हुन् ।
कथाबाट सिक्नुपर्ने पाठ : मानिसको चेतना पूर्णतया जागृत भयो भने उ नकारात्मक शक्तिको प्रभावमा आउँदैन बरु नकारात्मक शक्तिलाई आफ्नो वशमा राख्दछ अनि नकारात्मकतालाई पवित्रतामा परिणत गरिदिन्छ । कथाबाट सिक्नुपर्ने अर्काे पाठ समय छंदै चेतनाको सम्पूर्णता हासिल गर्नेतर्फको यात्रा प्रारम्भ गरौं । किनकि वृद्धावस्था वा रोगावस्थामा  शरीर थाकेपछि भोगविलास त्याग्नु चेतना हुनसक्दैन । नभुलौं समय फर्कदैन ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर