Sat2024 July 27
२०८१ साउन १२, शनिबार

ब्लुको अर्थ अश्लिलता हुन्छ, महिलालाई लक्षित गरेर Blue Bus किन ल्याए रविले ?

19

बुटवल । चितवन–२ निर्वाचन क्षेत्रबाट उप–निर्वाचनमा विजयी भएर सांसद बनेका रवि लामिछानेले ब्लू बस सञ्चालनमा ल्याएका छन् । आफू निर्वाचित भएको मितिले सय दिन पुगेको अवसरमा आफ्नो निर्वाचन क्षेत्रका महिलाहरुको सुविधालाई लक्षित गर्दै निःशुल्क बस सेवा तथा वृद्ध आमाबुवालाई घरदैलो स्वास्थ्य शिविर संचालनमा ल्याएका हुन् । ब्लू बस (Blue Bus) नाम राखिएको उक्त बस निर्वाचन क्षेत्र नम्वर २ का विभिन्न रुटमा चल्नेछ । पहिलो चरणमा पाँच सय महिलालाई निःशुल्क यातायात कार्ड वितरण गर्ने भनिएको छ । यसका लागि सम्बन्धित महिलाले बसमा रहेको कार्ड मेशिनलाई आफ्नो कार्डले छुनुपर्ने छ । बसभित्र महिलाका लागि आवश्यक पर्ने (Sanitary Pads) लगायतका सामाग्रीको समेत व्यवस्था हुने छ ।

यसबाट महिलाले प्रत्यक्ष लाभ लिन सक्ने छन् एकातिर भने अर्कोतिर उनीहरुको सुरक्षा व्यवस्थाको सुनिश्चितता पनि कायम हुने छ । रविको यो व्यवस्था कतिसम्म टिक्छ वा प्रभावकारी रहन्छ त्यो त हेर्न बाँकी नै छ तर यसलाई गतिलो खालको इनिशिएसन हो भन्न चाहीं मिल्छ ।

 

रविको यस पहललाई धेरैले प्रशंसा पनि गरेका छन् तर सामाजिक सञ्जालमा ब्लू बसको अर्थलाई लिएर नकारात्मक अर्थमा टिका टिप्पणी पनि हुन थालेका छन् । सामाजिक सञ्जालमा लेखिएको छ—
‘‘रविले महिलाहरुको लागि फ्रीमा यात्रा गर्न पाउने ब्लु बस सञ्चालन गरे अरे । हातमा आईफोन र सुनका आभुषणले सुसज्जित सम्पन्न महिलाहरु फ्रीमा यात्रा गर्न पाउने तर सङ्गै बस कुरिरहेको विपन्न पुरुष र काममा जान लागेको अर्को मजदुर भाईलाई होइन यो फ्रीको बस । फेरि परिवारका सदस्य महिला पुरुष सङ्गै डिड्नु छ भने पनि पुरुष सदस्यलाई प्रवेश निषेध। जात, धर्म र लिङ्गका आधारमा विभेद गर्न नहुने सामाजिक मान्यता विपरित यो सेवा विभेदकारी व्यवस्था हो कि होइन समयले बताउने नै छ । अर्को कुरा ब्लुको एउटा अर्थ अश्लीलता पनि हुन्छ । महिलाहरुलाई लक्षित गरेर ब्लु बसनै किन डिजाईन गरे कसरी बुझिएला खै ?

सामाजिक सञ्जालमा भेटिएको लेखका लेखकले ब्लू शब्दको अर्थ अश्लिलता पनि हो भन्ने कुरामा जोड दिदै अन्तमा कसरी बुझिएला खै? भनेर आफ्नो भनाइलाई सकेका छन् । प्रश्न गर्न, आफ्ना विचार राख्न, सहमति वा असहमति जनाउन र फरक विचार प्रस्तुत गर्न पाउनु नै लोकतन्त्रको सुन्दरताको प्रमाण हो । लोकतन्त्रको प्राप्ति नै मूल कारण थियो राणा शासन र राजतन्त्र विरुद्धको जनक्रान्ति । यद्यपि लोकतन्त्रको आडमा कुनै पनि नागरिकले सामाजिक हित र सार्वजनिक महत्व बोकेका विषयमा गलत अर्थ लगाउँदै भ्रम सृजना गरेर सामाजिक सदभाव, शान्ति, भाइचारा र देशभक्ति–भावनाको हत्या गर्छ भने त्यो लोकतन्त्रकै हत्या गरे बराबर हुन जान्छ । त्यसैले यस्तो नहोस् भन्नका लागि सचेत नागरिक आफ्नो अभिव्यक्ति दिने सवालमा जहिले नि एलर्ट रहनुपर्ने हुन्छ ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको लेखका लेखकले केही गम्भीर कुराको पनि उठान गरेका छन् । हातमा आइफोन र सुनको आभूषणले सुसज्जित महिलाहरु फ्रीमा यात्रा गर्न पाउने, सँगै बस कुरिरहेको विपन्न पुरुष र काममा जान लागेको अर्को मजदुर भाईलाई होइन यो फ्रीको बस भन्दै दरो झटारो हानेका छन् । लेखकले अर्काे गम्भीर पक्ष पनि उठान गरेका छन् – महिला पुरुष सँगै कतै जानुपर्दा महिला बस चढ्ने पुरुषलाई निषेध हुने । यो विभेद हो ।

लेखकका विचारलाई साधेर उक्त पोस्टमा थरी–थरीका कमेन्ट पनि गरिएका छन् । कसैले सबै नाटक हो त कसैले कुनै दिन देनको नाममा महिलाहरुलाई कार पनि दिलाउने छन् भनेका छन् । कसैले लेखकले प्रयोग गरेको अश्लिलताको अर्थलाई पुष्टि गर्दै कुनै दिन फिलिम पनि बनाउँलान् भनेका छन् भने कसैले गरिब असहाय विपन्न वर्गलाई हुनुपर्थ्यो भक्तजनहरु त्यसै हुइहुइ गर्दैछन् यस्तै छ हाम्रो मुलुकमा भनेका छन् । कसैले खुट्टा नतानौं हजुर काम त राम्रै हो भनेका छन् ।

वास्तवमा सामाजिक सञ्जालको उक्त पोस्टमा लेखकले राखेका राम्रा पक्षले परिवर्तनकारीहरुको दिमागमा तरङ्ग ल्याएको छ । भने ब्लूको अर्थ अश्लिलता पनि हो भन्दै अवैध यौनको पक्षसँग तुलना गरिदिदा यसले अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्ने क्रममा लेखकको अभिव्यक्तिलाई बेलगाम बनाएको छ। ब्लू शब्दको धेरै अर्थ भएकाले यसले ठाउँ अनुसार फरक फरक अर्थ दिन्छ । जस्तै
नीलो (रंग)
उदास, चिन्तित
अश्लिल
कूटनीति
मासु आदि ।

नीलो रंगले खुला स्थान, स्वतन्त्रता, अन्तज्र्ञान, कल्पना, प्रेरणा, संवेदनशिलता, गहिराइ, आस्था, वफादारी, इमानदारी, बुद्धि, र आत्मविश्वास जस्ता सकारात्मक अर्थको प्रतिनिधित्व पनि गर्दछ । कूटनीतिज्ञ चढ्ने गाडीको प्लेट पनि नीलै रंगको हुन्छ ।

चितवनबासीले उपनिर्वाचनमा जिताएर सांसद बनाएको गत बुधबार (१७ श्रावणमा) १०० दिन पुगेको अवसरमा सांसद तथा पूर्व गृहमन्त्री रबि लामिछानेले निशुल्क बस सेवा, विपन्नलाई ५ लाखको स्वास्थ्य बिमा, वृद्धवृद्धालाई मोबाइल हेल्थ क्लिनिक सेवा (स्वस्थ चितवन अभियान), प्रत्येक ४ महिनामा एक पटक सार्वजनिक सुनुवाइ गर्ने, विदेशमा रहेका १०० जनालाई नेपालमै रोजगार दिन फ्री एअर टिकेट ४० हजारदेखि १.५ लाखसम्मको तलबमा नेपाल झिकाउने जस्ता महत्वाकाँक्षी घोषणाहरु गरेका छन् ।

धेरैले रवि लामिछानेलाई अमेरिकाबाट प्रायोजित भनेका छन् । उनले राष्ट्रको हितमा केही माखो मार्दैनन् भन्नेहरु पनि थोरै छैनन् । रवि लामिछानेको राष्ट्रभक्ति माथि शंकाको हतियारले प्रहार गर्नेहरु पनि उत्तिकै छन् । आरोप लाउने र शंका गर्नेहरुसँग वाकयुद्ध गरेर कीमती समय बर्बाद पार्नूभन्दा जनता अनि राष्ट्रको हितमा काम गरेर आफ्नो सामाजिक भावना र राष्ट्र प्रेमलाई प्रमाणित गरेरै देखाउने भन्दै उनी अगाडि बढेका छन् । पुराना राजनीतिक दलले दशकौंदेखि गर्न नसकेको काम समेत गरेर देखाए पछि जनताले उनको कामको सराहना गर्न थालिसकेका छन् ।

 

 

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर