रुकुम पश्चिम,१४ कात्तिक । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आर्थिक वर्ष ०८१/०८२ को पहिलो त्रैमासिकमा नगरपालिका क्षेत्रभित्रका ९१३ जनालाई ४० दिनको रोजगारी प्रदान गरेको छ । भूकम्पपीडित परिवारलाई आयआर्जनका लागि सहयोग पु¥याउन कामका लागि नगद कार्यक्रम अन्तर्गत रोजगारी प्रदान गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेर प्रसाद ढकालले जानकारी दिनुभयो । विश्व खाद्य कार्यक्रम र सप्रोक्स नेपालसँगको सहकार्यमा नगरपालिकाले कामका लागि नगद कार्यक्रमबाट १०.६ किलोमिटर सडक निर्माण गरिएको छ । सडकको स्तरोन्तीसँगै ९१३ जना कामदारले ३६ हजारका दरले तीन करोड २८ लाख ६८ हजार रकम पाउने भएका छन् ।
वडा नम्वर ४ को बस्नेतज्यूला देखि अमलाटाकुरा, वडा नम्वर ८ को बडाखोलादेखि स्वास्थ्य चौकी र वडा नम्वर १४ को तिमीले लामाडाँडा साक्चा सडक स्तरोन्नती गरिएको हो । निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले पहिलो चरणमा १८ हजारले सम्बन्धित कामदारको खातामा रकम निकासा भइसकेको र बाँकी रकम निकासाको अन्तिम चरणमा रहेको बताउनुभयो । भूकम्प प्रभावित परिवारहरूलाई स्थानीय रोजगारीका साथै पूर्वाधार निर्माणका लागि कार्यक्रम सञ्चालन गरिएको हो ।