काठमाडौं । सुदूरपश्चिम सरकारले कर्णाली प्रदेशका भूकम्पीडितको राहत र उद्धारका लागि तत्काल एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारको आकस्मिक बैठक बसेर सहयोग गर्ने निर्णय गरिएको मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन् । विज्ञप्तिमार्फत उनले स्वास्थ्य सामग्रीसहित २० जना स्वास्थकर्मीको टोली प्रभावित क्षेत्रमा पठाउने जानकारी दिए ।
“सुदूरपश्चिम प्रदेश सरकारको आज बसेको आकस्मिक मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार उक्त क्षेत्रमा सहायता पुग्ने गरी तत्काल रु १ करोड रुपैयाँ र स्वास्थ्य सामाग्री सहित २० जना स्वास्थकर्मीको टोली प्रभावित क्षेत्रमा पठाउने निर्णय गर्दै थप आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछ,” विज्ञप्तिमा लेखिएको छ ।
प्रदेश सरकारले भूकम्पबाट प्रभावितलाई सुरक्षित स्थलतर्फ तत्काल स्थानान्तरण गर्न भूकम्पमा परी पुरिएकाहरुको खोज, उद्धार र घाइतेहरुको उपचार तथा राहत कार्यमा सक्रियताका साथ लाग्न सुदूरपश्चिम प्रदेश सरकार अन्तरगतका स्थानीय तह, सुरक्षा निकाय तथा विभिन्न संघसस्था र नागरिक समाजसँग आग्रह गरेको छ ।