Sat2024 July 27
२०८१ साउन १२, शनिबार

भूमि आयोगद्वारा २६ सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण

13

सङ्खुवासभा ।  राष्ट्रिय भूमि आयोगले पाँचखपन नगरपालिकाका २६ सुकुम्बासी परिवारलाई जग्गा धनी लालपुर्जा वितरण गरेको छ । राष्ट्रिय भूमि आयोग, सङ्खुवासभाको सहजीकरणमा पाँचखपन नगरपालिकाले भूमिहीन दलित तथा सुकुम्बासी परिवार लाई जग्गा उपलब्ध गराएको हो ।

राष्ट्रिय भूमि आयोग सङ्खुवासभा, अध्यक्ष शङ्करमान कँडेलको अध्यक्षता तथा सङ्घीय सांसद दीपक खड्काको उपस्थितिमा जग्गा धनी लालपुर्जा वितरण गरिएको हो ।भूमिहीन तथा सुकुम्बासी छनौटको विभिन्न चरणहरू पार गरेर उनीहरूलाई जग्गा उपलब्ध गराइएको पाँचखपन नगरपालिकाका प्रमुख विपिन राईले बताउनु भयो ।

नगर कार्यपालिकाको बैठकले २८ जनाको नाम सिफारिस गरेर पठाएकोमा दुई जनाको विवरणमाथि थप अध्ययन गर्नुपर्ने भएकोले तत्काल २६ जनालाई मात्र लालपुर्जा वितरण गरिएको नगरप्रमुख राईले बताउनु भयो । बाँकी दुई ओटा परिवारले पनि जग्गा पाउने वा नपाउने बारेमा छिट्टै टुङ्गो लगाइने नगर प्रमुख राईले बताउनु भयो ।

सुकुम्बासी परिवारलाई पाँचखपन नगरपालिकाको केन्द्रमा रहेको सरकारी जग्गा उपलब्ध गराइएको हो । पाँचखपन नगरपालिकाको वाना बजारदेखि सभापोखरी गाउँपालिका जाने मुख्य सडक किनारको जग्गा उनीहरूलाई उपलब्ध गराइएको छ । उनीहरूले पाएको जग्गा सम्याएर चाँडै घर निर्माण गर्ने प्रक्रिया सुरु गरिने गाउँपालिकाले जनाएको छ ।

घर निर्माण गर्नको लागि घडेरी सम्याउने र घर निर्माणको लागि समेत नगरपालिकाले सहयोग गर्ने नगर प्रमुख राईको भनाइ छ ।‘व्यापार व्यवसाय गरेर पनि जीविका चलाउन सकोस भनेर बजार क्षेत्रको मुख्य सडक किनारको जग्गा दिएका छौँ, उहाँहरूको घर निर्माण गरी स्वरोजगार बन्न पनि नगरपालिकाले सहयोग गर्छ’, मेयर राईले भन्नु भयो ।

भूमिहीन तथा सुकुम्बासीहरू यस अघि आफन्त तथा गाउँलेहरूको जमिनमा आश्रय लिएर बस्दै आएका थिए । अहिले भने उनीहरू करेसाबारीसहित एक घर अट्ने जमिन आवासका लागि पाएका छन् ।भूमि आयोगबाट प्राप्त भएको जमिन कम्तीमा १० वर्षसम्म विक्रि गर्न नपाउने र त्यसपछि पनि भुमिहीन हुने गरी बेच्न नपाउने वयवस्था गरिएको राष्ट्रिय भूमि आयोग, सङ्खुवासभाका अध्यक्ष शङ्करमान कँडेलले बताउनु भयो ।

जिल्लाका अन्य नौ ओटा स्थानीय तहमा भूमिहीन तथा सुकुम्बासीहरूको लगत सङ्कलन भइरहेको राष्ट्रिय भूमि आयोगले जनाएको छ । नेपालको संविधानले धारा ३७ मा आवासको हकको व्यवस्था गरेको छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने उल्लेख छ ।

 

भविन कार्की/इन्सेक

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर