Sat2024 July 27
२०८१ साउन १२, शनिबार

मदिरा अनि वेश्याको संगत, एक कथा

17

एउटा राजाको अचम्मको बानी थियो । उनी भेष परिवर्तन गरेर जनताको भलाकुसारी सोध्ने गर्थे । एक दिन आफ्नो मन्त्रीसँगै सहरको छेउमा पुग्दा एकजना मानिस सुतेको देखे ।

राजाले उसलाई हल्लाए, बोलाए तर उसले प्रतिक्रिया दिएन । दियोस् पनि कसरी ? ऊ त मरी सकेको थियो । मानिसहरू त्यहाँबाट गुज्रिरहेका थिए, राजाले मानिसहरूलाई बोलाए तर मानिसहरूले राजालाई चिन्न नसक्ने भएकाले उहाँको नजिक कोही आएनन्।

राजाले त्यहाँ बस्ने मानिसहरूलाई सोधे यो को हो ? यस व्यक्तिको लाशलाई किन कसैले उठाएको छैन ? मानिसहरूले भने कि उनी धेरै खराब अनि दोषी व्यक्ति हुन्।

राजाले भने, यो मानव होइन र ? कसैले पनि त्यस लाशको छेउ पर्न चाहेनन् तर भेष बदलेका राजाले कसैलाई सोधेर मृतकको घरसम्म पत्ता लाए ।
त्यो मानिसको लाश उठाए र उसको घरमा ल्याए । मृतककी पत्नीलाई मानिसहरू कस्तो व्यवहार गरिरहेका थिए सबै बताए।

श्रीमानको शव देखेर श्रीमती रुन थालिन् र भनिन्, —म गवाही दिन्छु कि मेरो श्रीमान् धेरै धर्मात्मा व्यक्ति हुनुहुन्छ ।

यो सुनेर राजा निकै अचम्ममा परे र भने, —यस्तो कसरी हुन सक्छ ? मानिसहरूले उहाँको बारेमा नराम्रो कुरा गरिरहेका थिए र उहाँको शव छुन पनि तयार थिएनन् ।

उनकी श्रीमतीले भनिन्, ‘‘मलाई पनि जनताबाट यस्तै अपेक्षा थियो, वास्तविकता यो हो कि मेरो श्रीमान् दिनहुँ सहरको रक्सी पसलमा गएर रक्सी किनेर घर ल्याएर नालामा खन्याउनुहुन्थ्यो अनि भन्नुहुन्थ्यो मानिसहरुको अपराधको बोझ केही कम त भयो ।

अनि त्यसैगरी राति एउटा वेश्याकहाँ गएर उसलाई एक रातको पूरा दाम दिएर उसलाई कोठाको ढोका बन्द राख, नत्र तिमीसँग मानिसहरु आउँछन् भनेर घर फर्किनुहुन्थ्यो । अनि घर आएर आज मैले केही मानिसहरुको पापको बोझ हलुका गरेँ भन्नुहुन्थ्यो ।

म मेरो श्रीमान्लाई सम्झाउँथें, “याद राख्नुहोस्, हजुर मर्ने दिन हजुरलाई पानी हालेर नुहाइदिने पनि आउँदैनन्, न त हजुरको अर्थिलाई काँध दिन आउनेछन् । मेरो कुरा सुनेर उहाँ भन्नुहुन्थ्यो हेरी राख मेरो अर्थिलाई बादशाहले काँध दिने छन् ।’’

यो सुनेर राजा रोए अनि भने,—”म राजा हुँ, भोलि हामी उसलाई नुहाउनेछौं, उसको शवमा काँध लगाएर दाहसंस्कार पनि गर्नेछौं ।आज हामी केही देखेर वा अरुले भनेको सुनेर महत्त्वपूर्ण निर्णय लिन्छौं । यस्तो गर्नुहुन्न ।कसैलाई गलत बुझ्नुभन्दा पहिले राम्ररी हेर्नुपर्छ, कि उ वास्तवमा त्यस्तो हो कि होइन ? हामीले केही कुरालाई सहि वा गलत भन्यौं भने त्यो सहि वा गलत हुँदैन । जे गलत हो त्यो सही हुँदैन । हामी अरुको न्याय गर्नमा मात्र आफ्नो समय बर्बाद गर्दैछौं । कसैको नराम्रो गर्नुभन्दा राम्रो सोचेर आफ्नो बहुमूल्य समय परोपकारमा खर्च गर्नु राम्रो हो।”

लोक सारथीको व्याख्याः मृतकले जीवनकालमा केही कामहरु आफ्नोभन्दा पनि अरुको हितका लागि गरेको थियो । जस्तै रक्सी पलसबाट सारा रक्सी किनेर घर ल्याउँथ्यो र नालीमा खनाइदिन्थ्यो । यसो गरेपछि उसलाई लाग्थ्यो कि यो रक्सी पसलमै भएको भए कति जनाले किन्थे, पिउँथे अनि उनीहरुको पैसा, स्वास्थ्य र घरबार सबै बिग्रिन्थ्यो । नालीमा खनाइदिएपछि त्यसो हुन पाएन भनेर ऊ खुशी हुन्थ्यो । त्यसै गरी रातिको बेला वेश्याकहाँ गएर वेश्यालाई रातभरीको पैसा तिर्थ्यो अनि वेश्यालाई कोठाको ढोका दरोगरी बन्द राख । कोही आउन पाउँदैन भनेर फर्किन्थ्यो । पैसा तिरेपनि आफूले वेश्यालाई छुदैन्थ्यो । उसलाई लाग्थ्यो यसो गरेपछि युवक लगायतका पुरुषहरु वेश्यागमन गर्न पाउँदैनन् र उनीहरुको पापको बोझ कम हुन्छ ।

कथाबाट सिक्नुपर्ने पाठ :राम्ररी जाँचबुझ गरेर सत्यतथ्यको जानकारी नहुँदासम्म हेरेको र सुनेको भरमा महत्वपूर्ण निर्णयहरु लिनु हुँदैन ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर