काठमाडौं, १६ भदौ । अफगानिस्तानमा तालिवानले सार्वजनिक स्थलमा महिलाको आवाज र अनुहारलाई प्रतिबन्ध लगाएको छ । तालिवानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादाले अनुमोदन गरेको नयाँ कानूनले महिलाहरूलाई घर बाहिर ठूलो स्वरमा बोल्न र अनुहार देखाउन लगायतमा प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ । नयाँ कानुनमा एउटा वयस्क महिला जरुरी कामले घर बाहिर जाँदा उनले आफ्नो आवाज, अनुहार र शरीरलाई सार्वजनिक हुन दिनुहुँदैन भन्ने उल्लेख छ ।
पुरुषहरूलाई दुर्नियत र अनैतिक कार्यतर्फ अग्रसर हुन नदिन महिलाहरूले अनुहारसहित पूरै शरीर कसरी ढाक्नुपर्छ भन्नेबारे कानुनमा विस्तृत रूपमा उल्लेख रहेको बीबीसीले जनाएको छ । नयाँ कानूनले पुरुषहरूलाई पनि नाता नपर्ने महिलाका शरीर र अनुहार हेर्न प्रतिबन्ध लगाइएको छ । यस्तै वयस्क महिलाले गैरपुरुषका शरीर र अनुहार हेर्न पाइदैन । अफगानिस्तानको नैतिक आचरणसम्बन्धी मन्त्रालयले देशमा यी कानुनहरूले कसैलाई छुट नदिने बताएको छ ।