Sat2024 July 27
२०८१ साउन १२, शनिबार

महिला सशक्तिकरणको औचित्य

17
आज चाहे गाँउ होस् या शहर चारैतिर महिलाको सामाजिक स्तरमा सुधारकै चर्चा भइरहेको छ । सन् १९५० को दशकदेखि सशक्तिकरण शब्दको प्रयोग हुँदै आएको देखिन्छ । महिलामाथिको उत्पीडन र असमानताको अन्त्य गर्न सन् १९०८ मा न्यु योर्क शहरमा १५,००० महिलाहरुले एकसाथ जुलुस निकालेर छोटो कार्य अवधि, राम्रो तलब र मतदान अधिकारको माग गरे । अमेरिकी समाजवादी पार्टीको घोषणा अनुसार पहिलो राष्ट्रिय महिला दिवस सन् १९०९मा २८ फरवरीका दिन संयुक्त राज्य अमेरिकामा मनाइएको थियो ।
सन् १९११ मा १९ मार्चका दिन अन्तर्राष्ट्रिय नारी दिवसलाई प्रथम पटक अस्ट्रिया, डेनमार्क, जर्मनी र स्वीजरलैण्डमा ससम्मान मनाइयो । सन् २०१८ मार्च ८ का दिन १०८ औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वका विभिन्न देशहरुले मनाए । त्यतिबेलादेखि येतिबेलासम्म लैङ्गिक विभेद र महिला हिंसादेखि समाजलाई मुक्ति दिलाउन दर्जनौं सरकारी, गैर सरकारी संघ–संस्थाहरु नैतिक  रुपमा सक्रिय छन् तथापि सन्तोषजनक परिणाम भने आउन सकेको छैन ।
अपहरण, हत्या, बोक्सीको आरोपमा कुटपिट, बहुविवाह, यौन शोषण, श्रम शोषण, बलात्कार जस्ता घटनाहरु नेपाली समाजको क्यान्सर बनेको छ । दण्ड सजाय सम्बन्धी कानुनी प्रावधानको उपलब्धताका बावजुद महिलामाथि हुने विभिन्न प्रकारका हृदय वेधी अप्रिय घटनाहरुले नेपाली समाजलाई घुँडो टेक्नेगरी थला पारेको छ ।
चाणक्य नीतिमा भनिएको छ नारीमा भोजन गर्ने क्षमता पुरुषभन्दा दुई गुणा बढी हुन्छ । लाज चार गुणा बढी हुन्छ भने साहस पुरुषभन्दा ६ गुणा र काम ८ गुणा बढी हुन्छ । आयुको कुरा गर्ने हो भने पनि विश्वको हकमा महिला पुरुषभन्दा ७ वर्ष बढी बाच्न सक्ने तथ्याङ्कीय आँकडाले देखाउँछ । धैर्यता, श्री, शान्ति, निर्णय लिने क्षमता, प्रसन्नता, सेवा, सुख, अपनत्व, समर्पण आदि महिलाको नैसर्गिक स्वभाव हो । जुन समाजमा महिलाको वास्तविक स्वरुपलाई दबाइन्छ , नारीलाई भोगचलनको वस्तुमात्र ठानिन्छ, दायित्व जिम्मेवारीबाट वञ्चित गराइन्छ त्यस समाजको उद्धार कहिल्येै हुन सक्दैन । जनसंख्याको दृष्टिकोणले विश्व जनसंख्याको झण्डै आधा भाग नारीले ओगटेको छ । नेपालको सन्दर्भमा कुल जनसंख्याको ५१.०४% (प्रारम्भिक नतिजा) महिलाकै छ । त्यसैले महिलालाई देश–समाजको मूलधारबाट बाहिर राखेर वा उनीहरुलाई सशक्त नबनाई देश भित्र समृद्धिका ठूला–ठूला सपना बुन्नु मुर्खता अतिरिक्त अरु केही होइन ।
महिलामाथि हुने अनेक प्रकारको अत्याचार, अन्याय र दुव्र्यवहारका लागि यो पुरुषप्रधान मानसिकतायुक्त समाजमात्र दोषी छैन । मर्यादा विस्मृति, स्वतन्त्रताको दुरउयोग, अनैतिक आचरण, कुल विनाशक अभ्यास, धुर्त्याइ र छलकपटमा लागेका महिलाहरु आफ्नो दुर्दशाको लागि आफै जिम्मेवार छन् भन्ने बुझाइको पनि विकास गर्नु जरुरी छ । कुनै पनि परिवार होस् वा समाज त्यसको उन्नयन र पतन दुवै परिणाममा महिलाकै हाथ रहन्छ । भूमिका चयनको आधारमा महिलाको स्थान सर्वश्रेष्ठ र सम्माननीय मात्र होइन घृणास्पद र लज्जास्पद पनि हुन सक्दछ । आफ्नो घर–परिवार तथा समाजको समृद्धि र मूल्य अभिवृद्धिका लागि सानादेखि ठूला कामको महिला आफैले निर्णय लिने क्षमताको विकास गर्नु नै महिला सशक्तिकरण हो । सशक्तिकरणको अर्थ विवेकशून्य र अनुशासनहीन बन्नु होइन । तसर्थ महिला सशक्तिकरणका लागि भूमिका चयनमा चेत पु¥याऔं ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर