Sat2024 July 27
२०८१ साउन १२, शनिबार

महिला हिंसा विरुद्ध १६ दिने अभियान सुरु

17

“लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानिको ऐक्यबद्धता” भन्ने मूल नाराका साथ ०८० मङ्सिर ९ गतेबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ ।

धादिङ जिल्ला प्रतिनिधि सीताराम अधिकारीका अनुसार लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको पहिलो दिन मङ्सिर ९ गते धादिङबेसीमा प्रभातफेरीको आयोजना गरी सुरुवात गरिएको छ ।

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान मूल आयोजक समिति र नीलकण्ठ नगरपालिका, जिल्ला प्रहरी कार्यालय, इन्सेक, सहयात्री समाज, महिला मानव अधिकार रक्षकहरूको जिल्ला सञ्जाल, फोकस नेपाल, विभिन्न सहकारी लगायतको सहभागितामा प्रभातफेरी आयोजना गरिएको हो ।

धादिङबेसी पुछारबजारबाट सुरु भएको प्रभातफेरी सिरानबजार हुँदै डेरी चौतारामा पुगेर कोणसभा गरिएको थियो । सभालाई नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्मा, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे, जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्र, नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सुवेदी, सञ्चारकर्मी, अधिकारकर्मीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा महिला अधिकारकर्मी तथा अधिवक्ता राधिका सापकोटाले लैङ्गिक अधिकारको आन्दोलन पुरुष विरोधी नभइ समताका लागि भएको बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले पहिलेका महिला अधिकारका विषयभन्दा अहिले समयानुकुल महिला अधिकारका विषयहरू परिवर्तन भएको र महिला अधिकार मानव अधिकार भएकोले सबै मिलेर अभियानको अवसरमा मात्र नभइ सधैँ महिला विरुद्ध हुने सबै किसिमका हिंसा विरुद्ध लाग्न आग्रह गर्नुभयो ।

नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले पितृसत्ताका कारण महिलापछि परेको हाम्रो रिति रिवाज, परम्परा, धर्म आदीका नाममा महिलामाथि हिंसा हुने गरेकोले प्राप्त उपलब्धीको रक्षा गर्दै भुइँमान्छेहरूले अधिकार पाउनेतर्फ स्थानीय सरकारले काम गरिरहेको र आफू पनि महिला अधिकारका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । म हिंसा गर्दिन, म हिंसा सहन्न र म हिंसाको प्रतिकार गर्छु भन्ने प्रतिबद्धता व्यक्त गर्दै विश्वकर्माले सामाजिक अधिकार सरकारले प्राथमिकतामा राखेको बताउनु भयो ।

IMG_8985

IMG_8991

IMG_9028

IMG_8980

नुवाकोट जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार ३२ औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चिता, महिला र बालबालिकामा लगानिको एक्यबद्धता’ भन्ने नाराको साथ जिल्लामा विभिन्न कार्यक्रम गरी शुरु भएको छ ।

विदुर नगरपालिकाको अगुवाईमा मङ्सिर ९ गते विभिन्न संस्थाहरूको सहकार्यमा विदुर नगरपालिका-५, पीपलटारमा अन्तर्क्रिया कार्यक्रम आयोजना भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समेत संलग्नतामा भएको कार्यक्रममा विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले लिङ्गको आधारमा कसैले हिंसाको शिकार हुन नपरोस् भनेर विदुर नगरपालिकाले अभियानको अवधिभर सबै वडामा कार्यक्रम सञ्चालन गर्न लागेको बताउनु भयो ।

उपमेयर बोगटीले विशेष गरी महिलामाथि हुने हिंसाको घटनाहरू घट्न नसक्नु दुःखदायी पक्ष भएकोले सबै संस्थाहरूले सचेतना र जागरणको अभियानलाई समुदायसम्म पुर्‍याउन आवश्यक रहेको बताउनु भयो । ‘अहिले पनि महिलामाथि हिंसा भइरहेको छ । पढेलेखेको परिवारभित्रै हिंसा भइरहेको छ । यसलाई रोक्न शिक्षासँगै चेतनाको समेत खाँचो छ’, उपमेयर बोगटीले भन्नुभयो ।

कार्यक्रममा विदुर नगरपालिका-५ का अध्यक्ष लीलानाथ न्यौपानेले लैङ्गिक हिंसाको अन्त्यको लागि घरघर र हरेक नागरिकसम्म सचेतना पुर्‍याउन आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलकी प्रमुख असई सुकुमाया तामाङले महिला तथा बालबालिकामाथि हुने हिंसाको घटनामा कमी आउन नसकेकोले सरोकारवाला निकायहरू गम्भीर भएर काम गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा मानव अधिकारकर्मी तथा संकल्प नेपालकी जिल्ला अध्यक्ष शर्मिला थापामगरले हिंसाको घटना न्यूनीकरणको लागि जनप्रतिनिधी र राजनीतिक दलका नेता कार्यकर्ताहरुमा सचेतना आवश्यक रहेको बताउनु भयो । इन्सेक, जिल्ला प्रहरी कार्यालय, संकल्प नेपाल लगायत सङ्घ संस्थाको सहकार्यमा विदुर नगरपालिकाले १६ दिनसम्म नै नगरपालिकाको हरेक वडामा सचेतना कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ ।

Photo_080-8-9_Nuwakot1

Photo_080-8-9_Nuwakot

रामेछाप जिल्ला प्रतिनिधि नवराज घिमिरेका अनुसार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान रामेछापमा सरकारी तथा नागरिक संस्थाले संयुक्त रूपमा मनाउने भएका छन् । २५ नोभेम्बरबाट सुरु भई १० डिसेम्बरसम्म सञ्चालन हुने अभियान जिल्ला सदरमुकाममा मन्थली नगरपालिकाको मुख्य आयोजनामा सञ्चालन हुने भएको छ । सो अभियानमा सरकारी निकायका साथै गैरसरकारी संस्था महासङ्घ नेपाल, इन्सेक लगायतका नागरिक संस्थाको सहकार्य हुने भएको छ ।

दिवसको शुभारम्भ नोभेम्बर २५ को साँझ मन्थलीको देवकोटा चोकमा दीप प्रज्वलन गरी सुरु गरिएको छ । त्यस्तै सबै वडामा नागरिक निगरानी समूहसँग अन्तर्क्रिया तथा छलफल, सचेतनामूलक कार्यक्रम र १० डिसेम्बरमा समापन कार्यक्रम राखिने निर्णय भएको छ । मन्थली नगरपालिकाका उपप्रमुख ईश्वरी बस्नेतको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी अनिता निरौला, प्रहरी प्रमुख होमबहादुर पराजुली, गैसस महासङ्घ रामेछापका अध्यक्ष रत्नप्रसाद कँडेल, इन्सेकका जिल्ला प्रतिनिधि लगायत सरोकारवालाको मन्थली नगरपालिकामा बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

Photo_080-8-9_Ramechhap2

Photo_080-8-9_Ramechhap1

Photo_080-8-9_Ramechhap

मकवानपुर जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले राष्ट्रिय मानव अधिकार आयोगसँग समन्वय गरी “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानिको ऐक्यबद्धता” भन्ने मूल नाराका साथ मङ्सिर ९ गतेबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरेको छ । उक्त अभियानमा हेटौँडाको विभिन्न ठाउँमा पोष्टर तथा ब्यानर टाँस गरी सबै नागरिकमा जनचेतना दिइएको हो ।

मानव अधिकार अधिकृत लक्ष्मी पौडेलले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा १६ दिन भरी हेटौँडाका सबै ठाउँका नागरिकलाई लैङ्गिक हिंसा विरुद्धको जानकारी दिनुका साथै विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने तथा ज्येष्ठ नागरिक, अपाङ्गता, स्वयमसेवीका, मानव अधिकार लगायतका दिवस मनाइने बताउनु भयो ।

उहाँले हिंसाको बारेमा नागरिकहरू सचेत रहेको तर ती कुरालाई व्यवहारमा उतारे परिवर्तन ल्याउन सकिने बताउनु भयो । उहाँले हिंसा विरुद्ध अभियान आफैबाट सूरु गरौँ र यस्ता हिंसा विरुद्धको अभियानमा आफूहरू निरन्तर लागिरहेको बताउनु भयो ।

Photo_080-8-9_Makwanpur

Photo_080-8-9_Makwanpur0

 

इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर