Sat2024 July 27
२०८१ साउन १२, शनिबार

मादल प्रशिक्षणसँगै दियालो आमा समूहको मौलिक तीज उत्सव

22

राजु विके, रुपन्देही । मादल बजाउने १ महिने प्रशिक्षणले मादल बजाउन सिपालु भए पछि आफूले सिकेको कलालाई आमा समूहले तीज कार्यक्रमसँगै सफलतापूर्वक परीक्षण गरेको छ । सिपको परीक्षणका लागि दियालो आमा समूहले तीज मिलन कार्यक्रम आफैले आयोजन गरेको थियो ।

मादल बजाउनेमा प्रायः सबै कार्यक्रमहरुमा पुरुषहरुले नै आफ्नो स्थान सुरक्षित राखेका छन् नेपाली समाजमा । रत्यौली, विवाह आदिमा केही महिलाहरुले कामचलाउ मादल बजाएको देखिन्छ । महिलाको मात्रै कार्यक्रम भएता पनि मादल बजाउने जिम्मेवारी पुरुषले पूरा नगरेसम्म कार्यक्रम प्रभावकारी ढंगले सम्पन्न हुँदैन ।

दियालो आमा समूहको हकमा अब पुरुषको हस्तक्षेप नभए पनि मादलको तालबद्ध संगतमा कार्यक्रम गर्न समस्या हुने छैन । अबदेखि उक्त आमा समूहले आफ्नो कार्यक्रममा आउ न मादल बजाइदेऊ भनेर कसैलाई हारगुहार गर्नुपर्ने छैन । सांगेतिक क्षेत्रमा तीन दशक लामो अनुभवको मलजलले एक पृथक ऊँचाइ प्राप्त गरिसकेका सुरेश सेन्चुरीले दियालो आमा समूहका सदस्यहरुलाई प्रशिक्षण दिएका थिए । तालिम लिएर छोटो अवधिमै दियालो आमा समूहका सदस्यहरुले व्यवसायिक मादल वादकले जस्तै मादल बजाउन सिकेकोमा प्रशिक्षक सुरेश सेन्चुरी आफू अचम्मित भएको बताउँछन् ।

माझिएका दक्ष र पेशेवर कलाकारले झै मादल बजाएको देखेर संगीतज्ञ सुरेश सेन्चुरीले दियालो आमा समूहलाई तीज पर्वको आगमनका बेला तीज कार्यक्रम गरेर सिकेको कलाको परीक्षण गर्न सुझाउ दिएका थिए ।
समूहका अध्यक्ष पवित्रा पराजुलीबाट प्राप्त जानकारी अनुसार तिलोत्तमा–४ कार्यक्षेत्र भएको दियालो आमा समूह २०६७ सालमा स्थापना भएको थियो । हाल यस समूहमा करिब ८० जना सदस्यहरु रहेका छन् । यस समूहले विवाह, पूजाआजा, व्रतबन्ध, भजन कीर्तन लगायतका सामाजिक कार्यक्रमहरुमा योगदान दिदै आएको छ । बेला बेलामा कार्यक्षेत्र भित्रको गाउँ समाजमा दुःख समस्या पर्दासमेत मलम बनेर प्रस्तुत हुने गर्दछ यो समूह ।

कदमको छायाँ बोलको तीज गीतमा आफैले मादल बजाउँदै गाउँदै छमछमी नाचेका छन् आमा समूहका सदस्यहरु । नेपाली समाजमा तीज पर्वको वास्तविक उत्सवलाई डिजिटल रेकर्डिङ्ग गीतले ओझेलमा पारेकै बेला यसरी मादल र तालीको बन्दिशमा लाइव तीज गीत गाएर मर्यादित र संयमित ढंगले नाच्दा रमाउँदा थोरै भए पनि तीजको मौलिकतालाई जोगाउने आधार प्राप्त हुन्छ, संतीज्ञ सेन्चुरीले बताए । १ महिने मादल प्रशिक्षणले आत्मनिर्भर बनेपछि तीज पर्व लगायतका अन्य उत्सव कार्यक्रमहरुमा मादल बजाउने जनशक्ति अब दियालो आमा समूहका दिदीबहिनीहरुले खोज्न नपर्ने भन्दै आफू खुशी भएको बताउँछन् संगीतज्ञ सेन्चुरी ।

उक्त तीज मिलन कार्यक्रम श्रङ्गेश्वर धाम डिङ्गरनगरको प्राङ्गणमा भएको थियो । दियालो आमा समूहको यो मौलिक तीज उत्सव विभिन्न होटल र रेस्टुरेन्टहरुमा तीज कार्यक्रम राखेर स्पिकरमा डिजिटल रेकर्डिङ्ग गीत घन्काउँदै भड्किलो पोशाक, खर्चिलो बियर अनि मासुसँग रमाउनेहरुले सिक्नु र अनुशरण गर्नैपर्ने राम्रो उदाहरण बन्न सक्छ ।

आमा समूहको आफ्नै प्रस्तुति रहेको उक्त तीज मिलन कार्यक्रमको छायांकन तथा सम्पादन प्रेम नेपालीले गरेका छन् । तीजको मौलिकता बोकेको उक्त तीज गीति भिडियो युट्युबमा श्रावण २२ गते रागश्री संगीतालयको युट्युब च्यानलमा अपलोड गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस् :

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर