Sat2024 July 27
२०८१ साउन १२, शनिबार

मानव अधिकार आयोगको अनुगमनले यस्तो भेटायो मंसिर ७ को प्रदर्शनमा

21

 

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा आज काठमाडौंमा आयोजित प्रदर्शनको अनुगमन गरेको छ ।

अनुगमनको क्रममा तीनकुनेमा आयोजित युवा संघ नेपालको प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको देखिएको आयोगको निष्कर्ष छ । आयोगले विज्ञप्तिमा भनेको छ, “बल्खुमा भएको प्रदर्शनमा युवा संघ र प्रसाईं पक्षका समूहबीच झडप तथा ढुंगा र इट्टा प्रहार भएको, प्रसाईं पक्षको समूहबाट प्रहरीको सुरक्षा घेरा तोडेर कालिमाटीतर्फ जान खोज्दा प्रहरीसँग झडप भएको, स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीका फोहोरा प्रहार गरेको सो क्रममा केही मोटरसाइकल, स्कुटरमा सामान्य क्षति पुगेको तथा केही व्यक्ति घाइते भएको अनुगमनबाट पाइएको छ ।”

प्रदर्शनका कारण प्रदर्शन क्षेत्रका विद्यालयहरूमा पठनपाठन अवरुद्ध रहेको र उक्त क्षेत्रका पसलहरू बन्द हुँदा निर्वाधरूपमा पेसा व्यवसाय गर्ने अधिकारमा असर परेको आयोगले जनाएको छ ।

सर्वसाधारणले स्वतन्त्र र सुरक्षितरूपमा आवतजावत गर्न नपाएकाले यसबाट नागरिकको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार र बालबालिकाको शिक्षाको अधिकारमा असर परेको आयोगको अनुगमनबाट देखिएको छ ।

आयोगको अनुगमन टोली रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयमा पुगेर प्रहरीका उच्च पदस्थ अधिकारीहरूसँग सुरक्षा अवस्थाबारे जानकारी लिनुका साथै सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशनसमेत दिएको थियो । आयोगले आगामी दिनमा समेत आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकारको सम्मान गर्न, प्रदर्शनलाई शान्तिपूर्ण र संयमित बनाउन र प्रदर्शनमा शान्ति सुरक्षाको व्यवस्थालाई प्रभावकारी बनाउन सरकार तथा प्रदर्शनरत पक्षलाई आग्रह गरेको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर