स्रष्टाको सृष्टिमा मानिस सबैभन्दा चेतनशील र उत्कृष्ट प्राणी हो । जुनसुकै वर्ग, समुदाय तथा देश किन न होस् सबै ठाउँका मानिसहरुलाई एउटै छानोमा राखिएको छ, त्यो छानो हो मानवजाति । मानवजाति स्रष्टाको सर्वाेत्कृष्ट रचना हो भनी सबै तत्वदर्शी तथा विद्वानहरुले मानेका छन् । अन्य कुनै पनि प्राणीहरुका लागि कर्म गरी आफ्नो भाग्य बदल्ने प्रावधान नियन्ताले राखेका छैनन् तर कस्तो कर्म चयन अनि सम्पादन गर्ने जीवनमा, भन्ने अधिकार केवल मानवजातिलाई छ । अन्य प्राणीहरुका लागि भोग गर्ने व्यवस्था मात्रै रहेको छ । कर्मको व्यवस्था उनीहरुका लागि छैन । कर्म नगरी बाँच्ने अनुमति प्रकृतिकोतर्फबाट कसैलाई पनि छैन । स्टीफन हकिन जो पूर्णरुपमा अशक्त थिए शारीरिक दृष्टिकोणले, उनी पनि मानसिक रुपमा सक्रिय थिए । उनको मानसिक क्षमता सामान्य मानिसभन्दा सयौँ गुणा धेरै थियो । अर्थात् मनद्वारा गरिने कर्ममा हकिनको कार्यक्षमता अभूतपूर्व थियो । त्यसैले पनि उनी उच्चकोटिका वैज्ञानिकहरुको श्रेणीमा विश्वविख्यात छन् । कर्मका चार विधि छन् जसलाई यो श्लोक ‘‘चक्षुषा मनसा वाचा कर्मणा च चतुर्विधम्। प्रसादयति यो लोकं तं लोकोऽनुप्रसीदति ।।’’ ले पुष्टि गर्दछ । यस श्लोकको अर्थ हो– जसले आफ्नो दृष्टि, मन, वाणी र कर्मद्वारा संसारलाई सुखी बनाउँछ, त्यो अन्ततः सुखी हुन्छ ।
कर्मका उपरोक्त चार विधिहरुबारे मानिसले हेक्का राख्न छोडिसकेको छ । दृष्टिमा कल्मष, मनमा प्रतिशोध, वाणीमा असत्यता र कर्ममा अकमकाइ राखेर मानिस बेहोसीको जीवन बाँच्दै छ । आफैले आफैलाई ढाँटछल गर्दछ । आज बोलेको कुरा, आजै बिर्सिदिन्छ । आफ्नो व्यक्तित्वको थोरै पनि ख्याल नराखी जे मन लायो बोल्ने, सोच्ने, दृष्टिपात गर्ने र कृत्य गर्ने गरेपछि त्यसले भोलिका दिनमा कस्तो परिणाम निम्त्याउँछ भन्ने कुराको अलिकति पनि ध्यान राख्न नसक्दा आफ्नै चरित्र मलिन हुन्छ । यतिसमेत विचार गर्दैनन् मानिसहरु ।
एउटै पथ, एउटै लक्ष्य राखेर सँगै हिँड्छु भनी वाचाबन्धन कस्नेले एक्कासी आफ्नो धार परिवर्तन गरिदिन्छ । नियत खराब भएका व्यक्तिले सही कार्यमा सक्रियता देखाओस्, यो उसको वशको कुरै होइन । नियतमै खोट भएका व्यक्तिले कर्तव्यलाई अनावश्यक भार ठानेर स्वयंलाई दायित्वबाट टाढा राखिरहेको हुन्छ । आफूले देखाउने व्यवहारको सम्बन्ध आफ्नै व्यक्तित्वसँग छ भन्ने कुराको अर्थ नजान्ने व्यक्तिले आफूले बोलेको वाचिक अनुबन्धमा पनि अर्थ देख्दैन ।
शब्दको मुखौटो मात्र भिर्ने तर बोलेर व्यक्त गरिएका भावहरुलाई कर्ममा नउतार्ने व्यक्ति विश्वासयोग्य नै हुँदैन । सहयोग गर्छु, ल्याइदिन्छु, हुन्छ भइहाल्छ नि, म साथमा छु चिन्तै नलिनुस्, धोखा दिन्न जस्ता ठुला ठुला कुरा गर्ने तर बोलेका कुरादेखि टथस्त बसिदिने मानिसहरु यसै श्रेणीमा पर्दछन् । उचित सम्मान र स्थान पाइनँ, मभन्दा ऊ ठुलो हुने, यहाँदेखि मेरो स्वार्थ पूरा हुँदैन भन्ने एकहोरो रटाइ मनमा राखेर भूमिका र सम्बन्धबाट पछि हट्ने मानिस विश्वासयोग्य व्यक्तित्वको श्रेणीमा पर्दैनन् । नाम, दाम र सलाम पाइनँ भन्दै काममा रुचि नलिने मानिस अविश्वसनीय पात्रको श्रेणीमा पर्दछन् ।
राम्रो नियतले नै मानिसलाई सबै परिस्थिति र क्षेत्रहरुमा सकारात्मक भूमिका खेल्न प्रेरणा दिन्छ ।