रुपन्देही, २७ भदौ । कपिलवस्तुको शिवराज न.पा.–५ चन्द्रौटामा अवस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र अस्पतालमा स्तरोन्नति भएपछि स्थानीय बिरामीहरूले सुविधायुक्त स्वास्थ्य सेवा पाउँदै आएका छन् । २०७५ सालमा स्थापना भएको आधारभूत स्वास्थ्य सेवा केन्द्र २०७६–०७७ सालमा स्तरोन्नति भई अस्पतालमा रुपान्तरित भएको हो । स्तरोन्नति भएपछि ३६ जना कर्मचारीको दरबन्दी रहेकोमा हाल कार्यालय सहयोगीसहित ३४ जना अस्पतालमा कार्यरत छन् ।
अस्पतालमा कार्यरत कर्मचारीहरुलाई धान्न सक्ने गरी आवश्यक पर्ने आर्थिक व्यवस्थापनको पाटो स्थानीय सरकार तथा अस्पताल आफैले मिलाएको छ । अस्पताल सञ्चालनका लागि संघीय बजेट भने उपलब्ध नहुने गरेको अस्पतालका इन्चार्ज बिरेन्द्र मिश्रले बताए । अस्पताल स्रोतले दिएको जानकारीअनुसार केही कर्मचारी करार त केही कर्मचारी ज्यालादारीमा खटिएका छन् । यसअघिका अस्पताल इन्चार्ज बलात्कार काण्डमा मुछिएर निलम्बित भएपछि गत वर्षको भदौ महिनादेखि मिश्र अस्पतालको इन्चार्जका रुपमा कार्यरत रहि आएका छन् ।
आकस्मिक सेवा चाहिने बिरामीहरूको चाप बढ्दै गएकाले मिश्रले आकस्मिक सेवा कक्षको आवश्यकता बोध गरी आफ्नो नियुक्ति मितिले दुई महिना भित्रै अस्पतालमा आकस्मिक सेवा कक्षको व्यवस्था मिलाए । दैनिक रुपमा १०० देखि १५० बिरामीहरूले अस्पतालबाट सेवा लिइरहेका छन् भने थप सेवासुविधाहरू थप्दै जाने नीतिका आधारमा आफू प्रयत्नशील रहेको बताउँछन् मिश्र ।
पछिल्लो समयमा अस्पतालले शव परीक्षण (पोस्ट मार्टम) सेवा पनि सुरु गरेको छ । यसैगरी प्रत्येक दिन एमबिबिएस डाक्टरले बिरामी जाँच्ने व्यवस्था मिलाएको छ अस्पतालले भने प्रत्येक ७ दिनमा विशेषज्ञ चिकित्सक बुटवलबाट झिकाई चेक जाँच सेवा दिँदै आएको छ । अस्पतालका इन्चार्ज मिश्रले दिएको जानकारी अनुसार लुम्बिनी प्रादेशिक अस्पतालपछि डि.आर. क्षयरोग उपचार सेवा केवल शिवराज आधारभूत स्वास्थ्य सेवा अस्पतालमा उपलब्ध छ । प्राप्त जानकारी अनुसार अस्पतालले १५ शैय्याको स्वीकृति पाए तापनि हाल ५ शैय्याबाट इन्डोर स्वास्थ्य सेवा सुरु गरेको छ । ओपिडि टिकेटमा १० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
यसैगरी अस्पतालले निःशुल्क र सशुल्क औषधि पाउने व्यवस्था गरेको छ । सरकारी अनुदानमा आउने औषधिका लागि बिरामीले रकम तिर्नु पर्दैन तर केही विशेष प्रकारका औषधिहरु जुन बुटवलका औषधिको थोक बिक्रेताबाट मगाइन्छ १५% छुटसहित बिरामीलाई सशुल्क उपलब्ध गराइन्छ । अस्पतालले उपलब्ध गराउने अन्य सेवाहरुमा २४सै घण्टा आकस्मिक सेवा, रेबिज तथा टिटि खोप, दैनिक गर्भवती जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, ईसिजि सेवा, प्रयोगशाला, एम्बुलेन्स सेवा, गर्भपतन सेवा लगायतका सेवाहरु रहेका छन् । अचानक कुनै व्यक्ति श्वासप्रश्वास अवरुद्ध भई बेहोस भएमा सिपिआर (कृत्रिम श्वासप्रश्वास) कसरी दिने भन्ने बारे उद्योगकलकारखानाका कर्मचारीलाई अस्पतालले स्वास्थ्यकर्मी पठाई तालिम समेत दिँदै आएको छ ।
यसै बिच अस्पतालले औषधि तथा अन्य केही सेवा दिए बापत चर्काे शुल्क असुल्ने गरेको भनी स्थानीय न्यूज सेन्टरनेपालले शिवराज आधारभुत अस्पतालमा ब्रह्मलुट ः२० रुपैयाँको औषधि ५०मा बेचेको खुलासा शीर्षकसहित समाचार सम्प्रेषण गरेको छ । बाहिर रु. २० पर्ने टिटि खोपलाई अस्पतालले रु. ५० लिँदै आएको उल्लेख गरी न्यूज सेन्टरले समाचार प्रकाशन गरेको छ ।
लोकसारथीले यस सम्बन्धमा अस्पतालका इन्चार्जसँग किन चर्काे शुल्क लिइएको भनी जिज्ञासा राख्दा ‘‘टिटि खोप निःशुल्क आउँदासम्म अस्पतालले निःशुल्क नै उपलब्ध गराएको थियो । निःशुल्क टिटि खोपको अभाव हुन थालेपछि बुटवलको औषधि डिलरबाट मगाउने गरेका छौँ । स्वास्थ्य सेवा निर्वाध रुपमा दिन सकियोस् भन्नका लागि आर्थिक व्यवस्थापन मिलाउनुपर्ने भएकाले टिटिखोप, सिरिन्ज र सर्विस सबै जोडी रु. ५० लिइन्छ । यो निर्णय म एक्लैको होइन, समिति आफैँले गरेको हो । बिरामीबाट लिइएको शुल्क प्रत्येक दिन दिउँसो चार बजेसम्म बैंकमा दाखिला भइसक्छ । सेन्ट्रल बिलिङ सिस्टमको प्रयोगबाट जति शुल्क लिइएको हो त्यसको बिल पनि सेवाग्राहीलाई दिइन्छ । कति पैसा संकलन भएको छ मैले हेर्न पनि पाउँदिन । मलाई त्यसको बारेमा केही थाहा हुँदैन । यस सम्बन्धमा वडा अध्यक्षले पनि मलाई फोन गर्नुभएको थियो । उहाँलाई समितिले गरेको निर्णय हो, पुनर्विचार गर्न सकिन्छ भनेको छु’’ मिश्रले भने ।
जे हो त्यसलाई जस्ताको तस्तै प्रस्तुत नगरी फेरबदलका साथ बढाइचढाई बाहिर ल्याइन्छ भने अनियमितता भन्न मिल्छ । विशेषगरी आर्थिक पाटोमा । समितिको निर्णय अनुसार नै टिटि खोप सेवाको शुल्क तय भएकाले मिलिमतो पनि कसैको देखिँदैन । अस्पताललाई अझै बढी व्यवस्थित र सुसम्पन्न बनाउनका लागि जनशक्ति र भौतिक सुविधा तथा संरचनाको क्षमता अभिवृद्धि गर्न दत्तचित्त भई लागेका मिश्रमाथि तथ्यप्रमाण बिनै पूर्वाग्रही आरोप लगाइनु राज्यको चौथो अङ्ग सञ्चार माध्यमले गर्ने उचित कार्य होइन ।
टिटि खोप सधैँ हजारौँको संख्यामा लगाइने चिज पनि होइन । कहिलेकसो चोटपटक लागी बिरामी आउँदा मात्रै दिइन्छ यो । हजारौँको संख्यामा लगाइने भएको भए व्यक्तिगत फाइदाका लागि त्यसमा अनियमितता हुनसक्ने सम्भावना रहन्थ्यो । त्यसैले न्यूजसेन्टरनेपालले लगाएको अनियमितताको आरोप पनि निराधार देखिन्छ ।
मिश्रको भनाइ अनुसार सामान्य घरेलु फ्रिजमा राखेको टिटि खोप त्यति प्रभावकारी र भरपर्दाे पनि हुँदैन । यसको प्रभावकारितालाई जोगाइराख्न विशेष किसिमको एल.आर. फ्रिज आवश्यक पर्दछ जुन अस्पतालसँग छ । यस फ्रिजमा तापमान नियन्त्रण गर्ने स्वचालित रेगुलेटर सिस्टम हुन्छ । अत्याधुनिक उपकरण, विद्युत खपत, मेन्टेनेन्स सबैकुराको व्यवस्थापन मिलाउनुपर्ने हुन्छ । स्वास्थ्य क्षेत्रका लागि नेपाल सरकारको बजेट निश्चित मापदण्डमा आधारित हुन्छ । यसले सबै व्यवस्थापनलाई धान्दैन । त्यसैले बिरामीबाट न्युनतम शुल्क लिएर स्वास्थ्य सेवालाई निरन्तरता दिनु राम्रो कि आर्थिक अभावका कारण व्यवस्थापन गर्न नसकी ठप्प पार्नु राम्रो, यो सबैले सजिलै बुझ्न सक्ने विषय हो ।