Sat2024 July 27
२०८१ साउन १२, शनिबार

जिउँदालाई मृत देखाएर करोडौं मूल्य पर्ने तिलोत्तमाको जग्गा किनबेच

18

रुपन्देही, भदौ १ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा करोडौं मूल्य पर्ने जग्गा हडप्न जीवित व्यक्तिलाई मृत बताउँदै मृत्यु प्रमाण–पत्र बनाई जग्गा किनबेच गरिएको रहस्य सार्वजनिक भएको छ । आफ्नो सहोदर दाजुभाईले गिरोहको जालझेलमा परेर तिलोत्तमा–४ का एक पुरुषलाई मृत घोषणा गरी जग्गा किनबेचमा सपोर्ट हुनेगरि आवश्यक कागजात तयार पारेका छन् । रोजगारका लागि भारत गएका बेदुराम कंडेललाई उनका दाजु ईन्द्र कुमार कंडेलले मृत्यु भएको भनि सरकारी कागजात तयार पारेर जग्गा किनबेच गरेको रहस्या सार्वजनिक भएको छ । भाई बेदुरामलाई मात्र होइन जग्गा हत्याउन आफ्नै जन्म दिने आमालाई समेत दोस्रो विवाह गरी गएको भनि ईन्द्रबहादुरले कागजात बनाएका छन् । जीवितै मृत घोषणा गरिएका बेदुरामको श्रीमतीसहित २ सन्तान छन् । तर, सरकारी कागजात गराउँदा बेदुरामले विहे नै नगरेको भनि झुटा विवरण पेश गरेका थिए ।

आफ्नै दाजुबाट मृत घोषणा गरिएपछि न्याय खोज्दै बेदुराम भौतारिएका छन् । विहिबार विहान पहिले आफ्नो रहेको जमिन देखाउँदै उनले न्यायका लागि विलौना गरे । तिलोत्तमा–४ को नयाँमिलबाट पश्चिम पट्टी रहेको पुरानो सडक जहाँ चौतर्फी पक्की सडक सञ्जाललाई छोएको जग्गा छ सबै हडप्न भाइसहितका गिरोहले उनलाई मृत घोषणा गरेका थिए । उक्त जग्गा बुवा स्वर्गीय बलिभद्र कंडेलको नाममा रहेको थियो । उक्त जग्गा बेदुरामसहित चार भाई छोरा र आमा (बलिभद्रकी श्रीमती)को नाममा अंश लगाईसकिएको थियो । त्यस मध्ये कान्छो छोरा वेदुराम बाहेकले बुवाबाट अंश आफ्नो नाममा पारिसकेका थिए । कान्छो छोरा बेदुराम भने रोजगारीका लागि भारतमा गएका थिए । सोही मौका छोपेर हकदाबी गर्न आउनु पूर्वनै दाजु ईन्द्रले जग्गा आफ्नो नाममा पार्न बेदुरामको मृत्यु भएको भनि वडा कार्यालयमा पुगेर कागजात बनाएका थिए ।

ईद्र कुमारले भाइको जग्गा कुम्ल्याउन २०७८ साल भदौं १५ गतेको मितिमा वडा कार्यालय पुगेर गलत सूचनाका आधारमा मृत्यु दर्ता गराएको भेटिएको छ । बेदुरामको मृत्यु भएको भनि साँचीका रुपमा रुपन्देहीको सैनामैना नगरपालिकाका पूर्णचन्द्र बस्याल, रीमा बस्याल, अजय कुमार न्यौपाने र धनीश्वरा न्यौपाने बसेको भेटिएको छ । थप रहस्यमय र गजबको कुरा के छ भने स्वर्गीय बलिभद्रको जमिन रहेको स्थान वरीपरी कँडेल परिवारका थुपै्र दाजुभाईहरु बसोबास गर्छन् । तर उनीहरुमध्ये एक जना पनि साँची साक्षीको रुपमा उपस्थित भएका छैनन् । छिमेकमा रहेका बेदुरामको आफन्तहरुलाई समेत सोधपुछ नै नगरी वडा कार्यालय मा मृत्यु दर्ता गराउनुले घटना थप रहस्यमय बनेको छ । तिलोत्तमामा रहेका व्यक्ति मृत्यु भएको भनि सैनामैना नगरपालिका–१ रानिबगियाका चार जना व्यक्तिहरु साँची साक्षी बस्नु सम्पत्तिको लोभमा जालझेल गरेको पुष्टि हुन्छ । बेदुको जग्गा हडप्न खोज्ने उनका दाजु ईन्द्रकुमार सैनामैनामै बसोबास गर्ने भएकाले पनि योजना सजिलै सफल बनाउन उनीहरुलाई साँची साक्षीको रुपमा प्रयोग गरेको देखिन्छ ।

जीवितलाई मृत भएको प्रमाण-पत्र उपलब्ध गराउने वडा सचिव काशिराज ज्ञवालीका अनुसार कृते कागजात बनाउनका लागि उनीहरुले गरेको नाटक मञ्चन नै अचम्मको छ । भाइ बेदुरामको मृत्यु भएपछि काजकिरिया गरेको मञ्चन गर्न दाजु इन्द्रले टाउको खुइल्याएर वडा कार्यालय उपस्थित भएको सचिव ज्ञवालीले बताए । नियम अनुसार सूचक आएकोले आफूहरुले विश्वास गरी मृत्युको प्रमाणपत्र दिएको सचिव ज्ञवालीले बताए ।

पछि उनै मृतक भनिएका वेदुराम वडा कार्यालयमा जीवित छु भन्दै उपस्थित भएपछि वडा सचिव झस्किएका थिए । आफूलाई दाजुले मृत घोषणा गरेर कागजात बनाएपछि बेदुरामले वडा कार्यालयले नगरपालिका तथा जिल्ला प्रशासन कार्यालयसम्म पटक पटक धाउनु परेको छ । वडा सचिव ज्ञवालीको सल्लाह अनुसार पीडित बेदुरामले मृत्यु प्रमाणपत्र बदर गर्न वडा कार्यालयमा निवेदन दिए । सूचकलाई कारबाहीको लागि नगरपालिका हुँदै जिल्ला प्रशासनमा सिफारिस गरिएकोे सचिव ज्ञवालीले स्पष्ट पारे ।
यसरी जीवित बेदुरामलाई मृतक मात्रै बनाईएको छैन, तीन भाई छोरासँगै रहेकी बृद्ध आमालाई दोस्रो विवाहगरी गएको भन्दै चरित्र हत्या समेत गरिएको छ । २ सन्तान र एक श्रीमतीसहित रहेका बेदुरामलाई विहे नै नगरी मृत्यु भएको घोषण गरी उनीहरुको परिवारले पाउने ३ कट्ठा क्षेत्रफल बराबरको जग्गा गिरोहले कब्जा गरेको छ । ३ करोड बढी मूल्य पर्ने उक्त जग्गा हत्याउनैका लागि बेदुका दाजु इन्द्रसहित गिरोहले चलखेल गरेको कुरा घटना क्रमले नै स्पष्ट पारेको छ ।

कृते गरेर आफ्नो भाइलाई मृत घोषणा गर्ने दाजु ईन्द्र कुमारले जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । प्रहरीका अनुसार पक्राउ परेका इन्द्रकुमारले आफू ऋणको मारमा परेकाले कृते गरेको स्वीकार गरेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले घटनाको सत्यतथ्य बुझ्न थप अनुसन्धान भैरहेको उल्लेख गरे ।

यसरी जीवितै मानिसलाई मृत घोषणा गरेको घटनाले वडाका तत्कालीन अध्यक्ष दिवाकर ढकालमाथि पनि प्रश्न उब्जिएको छ । ढकालले भने बेदुरामका दाजुसहितलाई सरजीविन गराउँदा वेदुरामको मृत्यु भएको भन्ने बुझिएपछि सोही आधारमा मृत्यु दर्ताको प्रमाण–पत्र जारी गरिएको बताए ।

मृत्यु दर्ता प्रमाण–पत्र बनाउँदा मात्र होइन बेदुरामको नाममा रहेका जग्गा अन्यको नाममा गराउँदा समेत तत्कालीन वडा अध्यक्ष ढकालले ख्याल नपुर्याउँदा उनीमाथि थप प्रश्न उब्जिएको छ । उनै ढकालको सिफारिसका आधारमा बलिभद्रको नाममा रहेको तिलोत्तमा–४ को कित्ता नम्वर ३८८ र २९४ को जग्गा कित्ता नम्बर ३९८७ मा ७ धुर, कित्ता नम्बर ३८९३ मा २ कट्टा १३ धुर गरी दुई ठाउँमा कायम गरिएको देखिन्छ । त्यस्तै कि न ३८९३ बाट पुनः साढे ५ धुर जग्गा कित्ता नम्बर ४१४३ मा कित्ताकाट भई गएको मालपोत कार्यालयको विवरणमा देखिन्छ ।

घटनाको विवरण अनुसार जग्गा कुम्ल्याउने सेटिङमा जिल्ला मालपोत कार्यालय बुटवल शाखा समेत जोडिएको आशंका गरिएको छ । वडा कार्यालयलाई छिटो नामसारीको सिफारिस पठाउन भनि निकै ताकेता गरेको श्रोतले जानकारी दिनुले उक्त मालपोत शाखा सेटिङमा जोडिएको आशंका उत्पन्न भएको हो । न्यायको लडाईमा रहेका बेदुरामको जग्गा हत्याउनका लागि संलग्न गिरोहहरु बारे थप खोजीगरी बाहिर ल्याउने प्रयासमा बेदुरामका परिचित, शुभचिन्तक र आफन्तहरु रहेका छन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर