Sat2024 July 27
२०८१ साउन १२, शनिबार

मृत श्रीमानलाई सामाजिक अभियन्ता तारा बरालको पत्र

18

सामाजिक अभियान्ता तारा बरालले २०७६ साल चैत्र २१ गतेका दिन उपचारकै क्रममा दिवंगत भएका आफ्ना श्रीमान स्व. गणेश गौतमलाई सोह्र श्राद्ध कालमा पत्र लेखेर मनका सारा दुःखहरु पोखेकी छन् । सामाजिक मुद्दाहरुमा अरुकै लागि सारा जीवन खर्चिदा समेत  समाजले उनलाई दिएको अपहेलना र दुत्कारका कारण सही नसक्नु पीडा भए पछि बरालले आफ्ना मृत श्रीमानलाई हृदयदेखि सम्झिदै उनीसँग दुखेसो पोखेकी छन् । सबैको भलो चाहँदा चाहँदै, अरुको खुशीका लागि समाज सेवा गर्दागर्दै चौतर्फी आरोप र नकारात्मक आलोचनाको प्रहार हुँदा उनी भक्कानिदै आफ्ना स्व. श्रीमान गौतमलाई पत्र मार्फत आफूले भोगेका  चरम वेदना र रोदन व्यक्त गरेकी छन् । उनले पितृहरुको आशीर्वाद माथि पनि प्रश्न चिह्न छोडेकी छन् । येतिका त्याग, सेवा र सुकर्म गर्दा सम्म पनि पितृहरुको आशीर्वाद नपाएको उनको गुनासो पनि पत्रमा अनुभूत गर्न सकिन्छ । जिउँदाले जिउन दिन्नन्, मरेका आफन्तसम्म आहार गुहार पुग्दैन, यस्तो अवस्थामा आफू पूर्णतया एक्लो भएको हुँदा उनका लागि चारैतिरको बाटो बन्द भए जस्तो नै भएको छ । यद्यपि आफूले रोजेको त्याग र सेवाको भावलाई मर्न नदिने पनि उनको अठोट रहेको छ । उनले सामाजिक सञ्जालमा उनकै भाषामा लेखेर पोस्ट गरिएको अत्यन्तै मार्मिक पत्र यहाँ प्रस्तुत गरिएको छ । —सम्पादक ।

 

ह्याप्पी दशैँ बुढा, तर आज म धेरै गुनासो पोख्दैछु ! आज…… आज तपाईलाई खाना दिएपछि १ घण्टा जति पशुपतिको जंगलमा गएर तपाईँको धुवाँ उडेतिर हेरेर सोचेर बसेँ, अन्तिम दिनहरुमा अस्पताल लाँदा कति पनि पैसा नभएर क्लासका साथीहरुले सहयोग उठाएर डायलाइसिस गरिदेथे, दाहसंस्कार गरिदेथे। अहिले पनि कि मलाई परिवार,समाज,देशको दमन यति बढ्यो कि जसले प्राण दियो त्यसैलाई “हत्यारा” भनिदिने टाढाका हैनन्।मलाई त कुनै चाडपर्व मनाउँन पनि मन छैन! साँचिकै पितृले आशीर्वाद दिन्थे भने तपाईं जिवित हुदा पनि मैले जहिल्यै मीठो नखाई, राम्रो नलाई गरेको दुख , तपाईंलाई कुनै खर्च नगराएको, मैले केहि रमाइलो र खर्च नगरेको तपाईका परिवार १/१ लाई थाहा छ तर बताउँन त चाहँदैनन् उल्टै हत्याराले “हत्यारा” भन्दै आरोप गर्न मिल्छ?

कारण तपाईले आमाको जीउँनी नतिरी मर्नुभयो।मेरो दोष छ भने सिधै हालुन् न जेल किन अझै मेरो लोकप्रियता सिद्याइदिन आतुर छन् ? मैले कति गरेँ भनेर तिनलाई राम्ररी थाहै छ अनि त्यसको बदला जसले मृत्यु अघिका ६ महिना हस्पिटल बस्दा १ घुट्की पानी खान दिएनन् ,कल गरेर खबर सोधेनन् तिनैले मरेपछि पनि छेउछाउबाटै लुकिचोरी “हत्यारा” आरोप लगाउँन सुहाउँछ? मैले सहेर गुम्साएका धेरै पीडा पोखिदिन्छु म । भन बुढा बिवाह पछिका बर्षदेखि नै मैले के सहिन? ब्याचलर पढ्दैथिएँ, छोरो जन्मिदा नै बच्चालाई मेनिन्जाइटिस भएर पाटन हस्पिटल २ महिना राख्नुपर्यो,माओवादीले कमाइ उडाइदिए ,उपचार खर्च पनि ठुलोभयो तेल, सेकतापका कुरै थाहा छैन सुत्केरीले २ छाक खान पाउनुपर्छ मैले १ दिन भनेँ? २८ दिनमा डाक्टरले बच्चा बाँच्दैन भनेर बाहिर निकालिदिदा मैले पाथिभरा माता गुहारेर अस्पतालभित्रै फर्काएर वेड नछोडेपछि २ महिनामा ठिक भएको छोरो बरु अहिले मलाई मुर्खहरुले जेसुकै भनुन् ,नरुनुस् भनेर सान्त्वना दिदैछ। तत्काल तपाईँलाई खतरा T.B. लाग्यो, बिरामी बच्चाको साथमा १ बर्ष वेडमा राखेर उपचार गर्नुपर्यो, तपाईका दाजुभाइले केही सहयोग गरेकाहुन्?

त्यसपछि औषधिको साइड इफेक्टले first type, insulin dependent सुगर भयो , पटकपटक सिरियस हुदा दाइहरुले केही साथ दिए कि म एक्लै खटेँ? फेरि पछि नानी जन्मिदा म फार्मेसी, मास्टर डिग्री २ पट्टि पढ्दै वोर्डिङमा पढाउँदै थिएँ त्यो बखत केके भयो र मैले १ छाक खान पाइँन त्यो सबैलाई थाहा छ म त्यो यहाँ भन्दिन फेरि त्यहि समय तपाईको बोनम्यारो पुरै इन्फेक्सन भएर सेप्टिसेमिया भएर कोमामा जाँदा भरतपुर मेडिकल कलेजमा भएको झिटिकुटी सकियो।मेरा बुबा,दाजु र मामाहरुले खर्च सहयोग गरिदिनुभयो ,केही गर्दा नसकेपछि चितवन हस्पिटलाई मैले आत्मसमर्पण गरेर १ बर्ष वेडमै उपचार गर्दा १ रुपैयाँ सहयोग गरे आफ्नाले?

बुढा नानी बर्षदिनकी हुदा म पढाउँदै पढिरहेकै थिएँ। उपचारका लागि एउटा भएको घडेरी बेच्दा नाफा जति निकालेर लुकाएर खाइदिने तिनै रेणुको १४ रोपनी जग्गाका मेनेजर हुँ भन्ने तपाईँकै दाइभाउजु हैनन्? आमा मुटुरोग,दम,पायल्स,लहरेखोकी आदिले धेरै अशक्त भएर रातभर कुर्दै महिनैपिच्छे ICU मा राख्नुपर्दा कुनैले रु १ सहयोग गरे? पछि आमाकै लागि भनेर रु १० लाख जिउनी लिएर बैँकको रिणमै घडेरी, रिणमै घर बनाएको कहाँबाट गिटीबालुवा, काठ, रंगरोगन गरियो पुरै थाहा पनि छैन तपाईलाई र हतारहतार मैले नै आमाको ८४ को पुजा भनेजस्तो लगाई जेठाजुका छोराको व्रतवन्ध गरिदिएको आज यहि भनाइ खानलाई हो?आमालाई बर्षौँ लाखौँका यार्सागुम्बा लगायत जडिबुटी खुवाएर अहिलेसम्मलाई निको पारेको मैले नै हैन?

परिवारले कहिले रातिका क्याम्पस पठाउँनुहुदैन बुहारी बिग्रिन्छे भने, कहिले एमफिल नपढोस् हेप्छे, कलेजबाट छुटाइहालौँ भने यतिसम्म कि मैले २ बच्चा, बाबुलाई ट्रिनिटी जस्तो कडा कलेजमा पढाउँदै तपाईलाई डायलाइसिस गराउँदै टियुमा एमफिल गर्दा वीर अस्पतालमा तपाईका दाइहरु १ दिन गएर वेडमै “तँ मरेपछि बुहारीले तिर्दिन, जीउनी ले अनिमात्रै आमा पाल्छौँ भनेर डायलाइसिस वेडमै झगडागरे। डाक्टरलाई डायलाइसिसको वेड नदिनू, चितवन पठाइदिनु, यहाँ राख्दा बूहारी बिग्रिन्छेसम्म भनिदिएछन्  डाक्टरले ६ महिना वेड दिएनन्, मैले उपत्यका भित्रका आर्मी लगायत सबै अस्पतालमा निवेदन गरेँ, पाइँन,लकडाउन भयो, एम्बुलेन्स पनि चलेनन्, रगत चाहियो दाइ, भाउजू, बहिनी सबैको मिल्दोरहेछ, भेट्न आएनन् बरु “रेनु दहालको १४ रोपनी जग्गाको तरकारी खेती, तारकेश्वरमा आफू मेनेजर र ठूलो शक्तिमा रहेको गफ लगाउँने आफन्तिले त सिधै भाइ नझुकी रगत दिन्नौँ भन्ने खबर पठाए, अनि पत्रकार र मेरो दाइले रगत उपलव्ध गराए थाहा छ नि!

हप्ताको ३ दिन एम्बुलेन्सलाई भाडा नभएपछि तपाईँले भाउजुको स्कुटरमा अस्पताल जानुभन्दा मर्न देऊ भनेर नमानेपछि खर्च गर्ने उपाय भएन अनि मैले पच्छ्यौराको नाम्लो लगाएर किर्तिपुरबाट वल्खु, कालिमाटीसम्म ४/५ पटक ल्याएर आर्मी र प्रहरीले मलाई चिनेकै भरमा दुख देखेर गाडीमा लगिदिएको हैन ? छेउमा भएका दाइहरुले १ दानो फलफुल खा भाइ भने? बरु उल्टै बित्नु ३ दिन अघि मामालाई कल गरेर बुहारीले भाइलाई राम्रो खान , उपचार दिएकीछैन भनेर पोल सुनाइदिएछन् र तपाईले मामाको कल आएपछि छतमा बसेर दाइलाई “तारा र बाबुलाई बढि टेन्सन भयो, घर बेचेर पैसा लैजाओ, अर्काकी छोरी यति खटिरहेकीछे , मेरा भनौदाले बढि खेदो नगरिदेओ” भनेर कल गर्दा उताबाट “हिसाब मिलाउँनैपर्छ नत्र आउँदैनौँ “भनेपछि तपाईं रुदै तालुमा मुड्की हानेको र झोक्राउँदै “अब मलाइ उपचार नगर बरु छोराछोरीले भात खाउन्” भन्दै रोएको, दिदीबैनीसँग कलमा बोल्न नमानेको मलाई झल्झली याद छ तर मलाई के थाहा तपाईँको मनले अन्तिम हुने निर्णय गरिसकेको रहेछ त्यसैदिन । डाक्टरले क्रमश: मेरो हालत देखेर बुझेछन् र माया लागेर मलाई नै दाइहरुका कुरा सुनाए र अस्पतालले निशुल्क वेड/एम्बुलेन्स दिएको १ दिन उपभोग नगरी हजुर बित्नुभयो, त्यो दिन पनि जीवित छँदै प्रहरी बोलाएर कीर्तिपुर अस्पताल पुर्याउँने हामी आमाछोरा हैन र? यसरी खतरा खालका रोग देखिएपछि जीवन भर मैले एउटै खाना, चिया, खाजा कहिल्यै सँगै बसेर खान पाइँन तर पनि , रोगले गर्दा त्यति सहायता नपाए पनि छायाँमा भएपनि आईमाईको ईज्जत “लोग्ने”मा थामिएको हुदोरहेछ त्यसैले अहिले मैले १ जना पुरुषको वाइकमा चढ्नुपर्दा अर्कैका कारमा घुमेकासम्म र सरसल्लाहमा होटेलमा चियासम्म खाँनुपर्दा अर्कैसँग रिसोर्ट घुमेका जस्ता समाचार छापिए पैसे, चोर, कथित मिडियाबाट। परिवर्तनका लागि समाजले रातो टीकामा एउटा प्रोफाइल राख्दा मनपरि भन्यो, सेतो अक्षता टाँसेर हिड्न मन छैन, उता भारति मानन्धरलाई “रंगिन बनेर हिडी” भनिरहेछन् नेताले नै!

बुढा म आमाको जीउनी खान्न, अहिले तिर्न पनि सक्दिन। बैँक किस्ता, रिण कति छोडेर , थपेर जानुभाछ तपाईलाई थाहा होला। घर लिलाम नहुदै बेच्न पाइएछ र बच्यो भने ४भाइले अंश लिएकै हो, त्यहि बाबुआमाका कोखका ४ वटी दिदीबैनीलाई बाँडिदिन्छु। मैले धेरै लामो समय आमा राखेकै हो, सुकुम्वासीले पनि आमा पाल्नुपर्छ भने दाइहरु एक से एक प्रोफेसर, डाक्टरका परिवार छन् जन्माउँने आमा १/१ बर्ष निशुल्क पाल्दा सकिदैनन् तर अहिले पनि बाबु र मलाई जिउनी खोजेर बारम्बार सताइरहेकाछन्, वरपरबाट सुनिन्छ मनपरि आरोप थपिरहेकाछन्। घर भत्काएर दिन मिल्दैन।पितृ भए आशीर्वाद देऊ, मलाई यो भन्दा बढि परिवार, समाज, राष्ट्रले नसताओस्।

राम्रो जागिर नपाई, नखाई देशको अवस्था सुधार्न जति दुख गरेर अहिले सम्म लागेँ ,हजारौँ पिडितलाई न्यायको लागि साथ दिएँ तर म पिडित भनेर चिनाइन,रातभर रोए पनि अरुका अगाडि हाँसिदिन्थेँ म “वि-धवा” कोहि आफन्त, अपराधि, दलगत भरिया र नेताका गलत आरोप र आक्रमणका ,पिडाले अब त छोराछोरी पाल्न नसक्ने भैसकेँ।गल्ति पनि केही गरेकोछैन,देशलाई घाटा लगाएको छैन तर नेताका पहुँचहुने गुण्डाहरु सल्बलाएकाछन्। हामी जतिका पनि मुर्खै भएर विदेश नै बनाउँन गए त हाम्रो माटो रुन्छ र विदेशिन नसक्ने गरिब जनता जति टुहुरा भएर रून्छ नि,आफ्नै माटोलाई बदल्न अन्तिम सम्म प्रयास गरौँ जस्तो लागेर वेलायत जाने मौका पाउँदा,लेक्चरर हुने मौका पाउँदा पनि देशका हितमा बोल्न पाइँदैन भनेर कतै नगई भोकै बस्दैछु।एउटा कोठाको भाडा तिर्न सक्याछैन, करोड खाएको समाचार बनाउँछन्, नखाई भाडा तिरेको कोठामा एक्लै डरले बस्न सक्दिन, दिनहुँ भागेर, साथीकामा लुकेर बस्नुपर्छ। अब मेरो आफ्नो को? यति दुखमा पनि कहिल्यै बालबच्चा र मेरो खोजी नगर्ने,नबोल्नेहरु कसरी आफन्त? गणतन्त्रले २ नानीबाबुलाई म आमासँग रहन पनि दिन्छ जस्तो छैन, माफ गरिदिनुस्, खै त पितृ आशिर्वाद??? तपाईं त्यहाँ स्वर्गलोकमा शिवजीसँग रमाउँनुहोला आखिर रिण, किस्ता, डर, भोक, रोग, छोराछोरी लालनपालन सबै मलाई दिएर जानुभाछ म यहाँ नर्कलोकमा खान नपाई नपाई दुख गर्दा अरुका मुद्दाले दिनहुँ रुदैछु, पछि भेटौँला !

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर