Sat2024 July 27
२०८१ साउन १२, शनिबार

मेरो अन्तिम प्रेम-पत्र

19

-सज्जन ढकाल

प्रिय मेरी मुटुको टुक्रा, लाखौं लाख सम्झना र असिम प्यार । भनिन्छ जिन्दगी संघर्ष हो । जहाँ विभिन्न उकाली ओराली संगै आरोह अवरोह पार गर्नु पर्दछ । जिन्दगीलाई सुदृढ तरिकाबाट अगाडि लैजानका लागि जिन्दगीको सहयात्रामा अहोरात्र साथ दिदै प्रकृतिको सृष्टिलाई निरन्तरता दिनको लागि एक जीवन सङ्गिनिको साथ चाहिन्छ । त्यसैले त यो संसारको सृष्टि चलायमान अवस्थामा रहेको छ । एक हातले ताली बज्दैन एक पाङ्ग्राले रथ गुड्न सक्दैन भन्ने उदाहरण पनि तिमी र मेरो मस्तिष्कमा अटल अवस्थामा नै रहेको थियो ।

यसै प्रक्रियालाई उँचाइमा पुर्याउन आधा आकाश आधा धर्ती चलायमान गराउने नारी तिमी माथि विभिन्न बाचा, सत्य कसम, भरोसा, विश्वासका साथ काल्पनिक र यथार्थपरक स्वप्निक बाचा कसम खाँदै तिमी र म बीच निकै नजिकको अन्तरजातीय प्रेम सम्बन्ध कायम भएको थियो । तिम्रो त्यो पूर्णिमाको जुन जस्तो सुन्दररुपी अनुहार कोकाकोला र जेरो फिगर जस्तो चिटिक्क छिनेर मिलेको जिउडालले मलाई क्षण–क्षणमा झस्क्याउने गर्दथ्यो । बिपना र सपनामा तिम्रो प्रतिविम्ब लाखौं पटक स्मरण स्वभाविक थियो ।

तिम्रा ती ३२ लक्षण गुणले भरिपूर्ण व्यवहार र मेरो लालित्य स्वाभावले मायाँ, ममता, स्नेहको बाचा बन्धनमा डोराउँदै जिन्दगीको सहयात्रामा निरन्तर साथ दिने, संगै बाँच्ने, संगै मर्ने, एक अर्का बिना यो संसारमा जिउन नसक्ने भन्दै खाएका कसम र बिताएका ती अविस्मरणीय पलहरु कति मिठा थिए । तिम्रा ती सुन्दर नयन, स्वर्गकी परिको जस्तो मुहार संगै शरीरमा सुमसुमाउँदै संगै उठबस गरेका दैनिकीहरु, तिम्रो मप्रतिको ब्यवहार मायाँरुपी बन्धनको जालो एक अर्का बीच निकै झाङ्गिएको थियो । एक अर्काले कुनैदिन नदेख्यो त मनमा भुकम्पको जस्तो कम्पन पैदा हुन्थ्यो ।

तैपनी समय र परिस्थितिले अनुकूल वातावरण मिलाए कै थियो र आपसी अन्तरसम्बन्ध प्रगाढ बनिरहेको थियो । समयले पनि निकै लामो कालखण्ड पार गरिसकेको छ । त्यो प्रेमरुपी खण्ड यथार्थको मार्गदर्शनमा परिणतको लागि पटक–पटक तिम्रो प्रस्ताव नआएको पनि होइन । तैपनी म प्रेमरुपि भावनामा डुबुल्की खेल्दै अनुकुल समयको प्रतीक्षामा थिएँ । समुन्द्रको बीच भागमा तिर्खाको प्यास मेटाउनको लागि अमृत खोज्दै थिएँ । तिमी अमृत थियौ त जिन्दगी आजीवन रहन्छ भन्ने भरिपूर्ण विश्वास पैदा भएको थियो । यथार्थ परक जिन्दगीको सुरुवात प्रेमरुपी संघर्ष र कठोर यात्राबाट स्थापित भएको थियो ।

यसै माथि समाजले हेर्ने त्यो दृष्टि र समाजका सदस्यहरुले तिमी र मेरो सम्बन्धमा गर्ने शंका आशङ्काले विभिन्न सामाजिक समस्याहरु उत्पन्न गर्दै मेरो घरमा परिवारिक मन–मुटाव समेत पैदा गराएको थियो । तैपनी सामाजिक बन्धनको तिरस्कारलाई पाखा लगाउँदै एक अर्काको सम्बन्ध ऐतिहासिक र नमुना बनाउँदै थियौं । तिमी र म बीच कुनै दिन कुनै विषयमा कटुतापुर्ण व्यवहार आवेग र सम्बेग पनि उत्पन्न भएको थिएन । केवल भए त मायाँ र प्रेमका कुरा मात्रै, समयले पटक पटक संगै बस्ने, हास्ने र लामो समयसम्म रात बिताउने मौका पनि मिलाइ रहेको थियो । तिम्रो पारिवारिक अभिभावकले हेर्ने दृष्टि पनि सकारात्मक नै थियो ।

विवाहपछि हुने विभिन्न सन्तुष्टिका ईच्छा र आकांक्षाहरु तिमीबाटै प्रस्तावमा परिणत हुँदै अनुभव भैसकेका थिए । तैपनी समाजको परम्परा अनुसार मूलतः प्रमाणिक शब्द संस्कृतिमा परिणत भएको थिएन । शब्दमा परिणत हुन बाँकी अवस्थामा थियो । तिमीलाई नौमती पन्चेबाजा संगै हाम्रो घरमा बेहुलिको रुपमा भित्राउने मेरो सपना थियो । मेरा बाबू आमाको फरक इच्छा र भित्रिने तिम्रो उद्देश्य आज गन्तब्यबिहीन यात्रुको यात्रा जस्तो हुँदैछ भनेर म कसरी भनौ म तिम्रो लागि घाती र पागल प्रेमी हुन सक्छु किनकी आज म यस्तो दोसाँधको चक्रव्यूहमा फसेको छु । मेरो मनमा हजारौं असह्य बेदना र पीडाहरु सृजित भएका छन् ।

तिमी बुझ्ने प्रयास गर म शब्दमा कसरी प्रकट गरुँ मेरा नयनबाट आँसुको भेल बग्दै शरीर कम्पित छ । तिमी र म बीचको प्रेम सम्बन्ध कक्षा ११ मा पढ्दा (२०६७) देखि निरन्तर उच्च शिक्षा हासिल तथा मास्टर डिग्री पूरा गर्ने समय र वर्तमान अवस्था (२०८०) सम्म आइपुगेको थियो । म ब्राह्मणको छोरो तिमी मगरकी इमान्दार निष्ठा भएकी छोरी थियौ । तिमी र म क्याम्पसको क्यान्टिनमा (थुप्रै साथिहरु) बीचभएको पहिलो भेटबाट प्रभावित हुँदै तिमी नै स्वयम् प्रेम प्रस्ताव मोबाइल फोनबाट स्मरण भएसम्म रातको करिब ११ः३० बजेतिर राखेकी थियौ । जुन प्रस्ताव म सहजै स्विकार गरेको थिए ।

बदलिदो समाजको पुरानो कुरिती, विसङ्गती, अन्ध विस्वास, परिवर्तन गर्नु समाजमा अन्तरजातिय विवाह गरि एक उदाहरणको सफल जोडि बन्दै जातियता समानताको शन्देस दिनु मुख्य उद्देश्य थियो । तर आज त्यो बाचा संगै लक्ष्य र उद्देश्य पूरा गर्न सकुला जस्तो छैन । त्यसैले म अन्तिम प्रेम बिच्छेद प्रस्ताव अन्तिम प्रेम पत्र मार्फत तिमी सामु राख्दै छु । त्यसैले सहज साथ स्वीकार गर्नु किनकी मेरो यो (पीडामा छटपटिदै बाध्यता तथा हाँसो र आँसुको रोदन बीच दिएको) अन्तिम प्रस्ताव हुने छ । किनकी आज मलाई घरमा आफ्नै जातीयतामा बिवाहको प्रेसर दिइदै छ । हुन पनि हो कुलको छोरी मूलको पानी भन्छन् भन्दै घरमा मलाई सम्झाउने गर्नुहुन्छ । म सबै आदर्श दर्शनसंगै समाज र समुदायको भित्री रङ्ग बुझेको व्यक्ति भएको नाताले यो अभिलाषा तोड्न सक्थें तर समाजमा अनेकौं प्रकारका अन्तरजातीय सम्बन्धसंगै विवाह देखेको छु ।

जस्मा ९८% भन्दा बढी प्रायः असफल भएका छन् । पारिवारिक मनमुटावको कुरै छोडौं आफ्नो पुरानो घरायसी कुलबाट निष्काशित गरेका उदाहरण पनि हाम्रै समाजमा प्रसस्तै छन् । त्यसैले म भन्ने गर्थेँ यो सबै आज्ञानताको उपज हो । रुढिबादी समाज र संस्कारको प्रतीक हो । तर वास्तवमा यस्को गहिराइ यथार्थमा परिवर्तन गरि केही वर्ष बिताएको जोडिलाई मात्र थाहा हुन्छ रे । यस्तो कुसंस्कारमा हाम नफाल्नु भन्दै मेरो आत्मीय तथा सहपाठी सुख दुखःको मित्र लोकेस घरमा आई मलाई अन्तरजातीय प्रेम र विवाह रोक्न आग्रह गर्दै कथा सुनाउँदै गए । किनकी उनको पनि गाढा प्रेममा फँस्दै अन्तरजातीय बिवाह भएको थियो । तसर्थ म झस्कँदै सोच्न बाध्य भएँ । किनकि भविष्यमा आपसी खटपट र सम्बन्ध बिच्छेदसम्म पुग्नुभन्दा वर्तमान मै केही क्षणलाई पीडादायी भएता पनी सहज तरिका र यो विधितर्फ प्रेरित भएको हुँ । भन्दै गर्दा पनि मेरो मनले कहाँ मान्न सकेको थियो र तैपनी बारम्बार पारिवारिक चापका कारण चेपिन पुगेको छु ।

मलाई उचित निष्कर्षमा पुग्नु ज्वालामुखी फुटे पछिको दुःखको क्षण जस्तो लागेको छ । किनकी अर्कोतर्फ गम्भीर अवस्थामा सोच्न विवश भएँ । आमाले नौ महिना कोखमा राखी जन्म दिनुभयो । आमा बाबुको कडा मिहेनत जनतन दुःखसुख गरि यहाँसम्म ल्याउनु भयो । अहिले सरकारी कर्मचारी भएको छु । यो परिवर्तनशील विश्वमा उच्च शिक्षा हासिल गराई सभ्य र एक सक्षम छोरा बनाउनु भयो । मेरो उज्वल भबिष्य र सत्य मार्ग दर्सनको लागि दाजुले विदेशी खाडीको मरुभूमिमा पसिना बगाउनु भयको थियो । आज यो बुढेसकालसम्म पर्खेर बसेका बाबू आमाका सुनौला इच्छा, चाहना हुनु स्वभाविक हुन् । त्यसैमा अन्तरजातीय विवाहमा रोक, त्यसैले बाबू आमा र दाजुलाई आँसुको भेलमा पौडी खेलाउँदै इच्छा बिपरीत लाग्नु मैले जायज ठानिन किनकी मेरा आमाबुवा र दाजु भगवान हुन् । बुवा आमाको आशीर्वाद अपरम्पार छ । त्यसैले म यही निर्देशमा चल्नु पर्छ ।

म (यस संसारमा जन्म लिदै आँखा खोल्दा पहिलो पटक आमालाई देखेको थिएँ । तसर्थ मेरो पहिलो मायाँ आमासंग बसेको छ ।) विशेष गरि आमा बाबुको वचन पछिल्लो समयमा तोडन नसक्ने भएको छु । म सफल हुनु र यो उपलब्धि हासिल गर्नुको श्रेय उर्जा प्रेरणाको स्रोत आदरणीय आमा बाबू र दाजु नै हनुहुन्छ । त्यसैले म बुवा आमाको निर्देशन र सबै परिवारको निर्णय आफ्नो जातीय लगामको निसानामा उभिनु पर्छ । किनकि पुस्तौँदेखिको चालचलन, रीतिरिवाज संस्कृति जातीयता अनुसार फरक फरक हुने गर्दछन् । त्यो निरन्तरता भङ्ग गराउँदा वर्तमान अवस्थामा उदाहरणको हङ्गामा हुन सक्छ । तर त्यो हाम्रो समाज जतिसुकै आधुनिक भएतापनि दीर्घकालीन प्रतिफल सकारात्मक भन्दा पनि नकारात्मक बढी मात्रमा प्राप्त हुने मैले ठान्न विवश भएँ ।

त्यसैले म एक कदम पछि हटि आफ्नो सृष्टिलाई निरन्तरता दिनु उचित ठानेको छु । त्यसैले तिमी पनि नयाँ जमना र नेपाल आमाकी एक असल छोरी हौ । तिम्रो पनि आफ्नै जातीयतामा ठूलो संसार छ । आफ्नै प्रतिष्ठा इज्जतसंगै शैक्षिक योग्यताको ठूलो चारित्रिक प्रमाण–पत्र छ । त्यो कदर आफ्नै संस्कार र संस्कृतिमा परिवर्तन हुनसक्यो भने जीवनमा खुशीको ठूलो उपलब्धि हुन सक्छ । विवेकशील असल बन्दैमा आफ्नो परम्परा तोड्नु जायज जस्तो मलाई लाग्दैन किनकी म पनि पछिल्लो समयमा केही सोच्न बाध्य हुँदै यो निष्कर्ष निकाल्न अन्तिम निर्णय गरेको छु ।

परम्परा र अन्धबिश्वासलाई अङ्गालेको चाहिँ कदापि होइन । म आफ्नो पुस्तौंदेखिको इमान जवानलाई बचाउनका लागि आफ्नै अभिभावकको लगाममा दिशा निर्देश भएको मात्र हो । परिवर्तित समय भएतापनि सबैका लागि यही प्रकृया तथा निचोड उत्तम र सर्बब्यापी मान्य अवस्थामा रहेको जस्तो मलाई लागेको छ ।

मैले जातीयता विरुद्ध आँच पुर्याउन खोजेको पनि होइन । निच र तल्लो तहमा राखेर अपहेलना गरेको पनि छैन । म तिम्रो दोषी हुँ । त्यो सजाय अदालतले फैसला गरेको खण्डमा भोग्न तयार छु ।

मेरो यो अन्तिम निर्णयले तिमी मृत्यु बाहेक अन्य उपायहरु दृश्यावलोकन गर्न र अन्य उपाय अपनाउन नसकौली, तैपनी गम्भीर भएर सोचे ।

मलाई धेरै पटक अन्य जटिल पतिस्थितिमा धैर्यताको पाठ सिकायकी छौ । अहिले तिमीले त्यही पाठ अनुसरण गर्दै मूलतः ब्यवहारमा परिणत गर भन्दै मेरो मनमा अन्तिम निर्णय बोधको यस्तो जटिल मोडको अकल्पनीय सोचाइ उत्पन्न भएको छ । यो अवस्थामा म तिमीसँग कसरी माफी मागँु ? कसरी तिमी माफी दिन्छेउ पनि ? तिम्रो र मेरो सम्बन्धमा आज त्यो पापी तियतिले किन सदाको लागि बिदालिन आग्रह गरेको छ ।

मलाई थाहा हुन सकेन र हुँदैन पनि । तिमीलाई अचम्म लाग्न सक्छ । पागल प्रेमी हुँदै मानसिक सन्तुलन गुमाउनुको अवस्था सृजना नहोला भन्न सक्दिन किनकी (सच्चा मायाँको बिछोड पछिको प्रारुप उदाहरण हो) मैले तिमीलाई छोडि सदाका लागि नयाँ जीवनसङ्गिनी रोज्न बाध्य छु ।

तैपनी आज अन्तिम प्रेम पत्र लेख्दै छु । बाँकी जिन्दगी राम्रोसंग बिताउनु, पुरानो दैनिकी पटक पटक स्मरण गरिरहनु, मबाट भएका गल्ती, कमी कमजोरीहरुलाई सहजताका साथ माफ गर्नु । बिगत र वर्तमानमा जस्तो भएपनि हाँसीखुसी रहनु, भोलि मेरो विवाह मण्डपमा नयाँ युगल जोडिलाई बधाई, सुभकामना दिन र रात्रि भोजनको निमन्त्रणा गर्दै सदाका लागि यस संसारबाट प्रेम बिच्छेदको अनुमति माग्दछु ।

माफ गरिदेउ मेरो मुटुको टुक्रा । तिम्रो जोडी हुन सकिएन । बाध्यता र विवशताले दिएन पनि । अर्को जुनिमा भेट हुने बाचा गर्दै तिमीले नै खिचिदिएको तस्वीर पृष्ठभूमिमा छोडदै बिदा हुँदैछु, सदाका लागि कहिल्यै प्रेम सम्बन्धमा नफर्किने गरी ।
उही तिम्रो अभागी……………

 

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर