Sat2024 July 27
२०८१ साउन १२, शनिबार

रागश्री संगीतालयको अर्को यात्रामा संगीतज्ञ सुरेश सेन्चुरी

20

राजु विके, रुपन्देही । यात्रा नै त रहेछ मानिसको जिन्दगी । कहाँ कहिले रोकिने हो ? उडिरहन्छ मनको चरी । आखिर कुन कुराको खोजीमा हुन्छ होला यो मानिस भन्ने जात ? गर्भदेखि नै उसले हलचल सुरु गर्छ अनि जमिनमा पाइला टेकेदेखि नै दौडिन थाल्छ, दौडिरहन्छ…..केका लागि ? के पाउन ? कुन कुराको खोजीमा ? यस अनन्त दौडमा कहिले प्रतिस्पर्धी त कहिले यात्रु बनेर दौडिनुको मकसद के होला ? सवालै सवाल लिएर जवाफको खोजी गर्नलाई हो कि यो दौड ? वा जवाफै जवाफ बोकेर प्रश्नैप्रश्नको खोजीमा हो यो दौड ? कहिले ठक्कर, कहिले हन्डर, कहिले मनमा पीडा, कहिले तनमा चोट, कहिले मुहारभरी मुस्कान कहिले गहभरी आँसु, कहिले कसैको सम्झना, कहिले बिर्सन । कहिले मिलन, कहिले वियोग । कहिले सम्बन्धको जोड, कहिले आफन्तीको घटाउ, कहिले आशाको गुणा त कहिले खुशीको विभाजन (भाग) । सयौं सम्बन्ध, हजारौं आफन्त, लाखौं आशा र करोडौं खुशीका हिसाबहरु यो एक जीवनमा हुन्छ, फेरि साँप सीढीको खेल जस्तै एक्कासी शून्यमा झर्छ । कति गज्जबको जीवन ऊर्जा । कहाँबाट बल आउँछ । पुनः उही फूर्ति र जोश जाँगरका साथ फेरि स्वयंको अस्तित्वलाई प्रमाणित गर्नका लागि त्यही शून्यबाट मानिसले दौड सुरु गर्छ ।

माथि भनिएका कुराहरु कुनै उपन्यासकारद्वारा लेखिएका उपन्यासका पंक्तिहरू होइनन्, कसैको जीवनको घटना र त्यस घटनाको पात्रसँग सम्बन्धित यथार्थ धरातलको चित्रण हो । अनेकन उतारचढाउको सामना गर्दै कलाको हतियारले प्रतिभाको युद्ध जित्ने सपना बोकेर यो जीवन यात्रा पूरा गर्नुपर्छ भन्दै सन्देश दिने सांगीतिक क्षेत्रमा चिरपरिचित व्यक्तित्व सुरेश सेन्चुरीसँग मेल खान्छ यो धरातल ।

व्यक्तिगत परिचय
गीत संगीतको क्षेत्रमा सफल व्यक्तित्वको रुपमा आफूलाई स्थापित गर्न सफल भएका सुरेश सेन्चुरीलाई चिन्दिन भन्ने विरलै होलान् । माता पवित्रा देवी सुनार र पिता श्यामलाल सुनारका उनी काईला छोरा हुन् । उनको जन्म २०२४ साल मंसिर १२ गते तदनुरुप २८ नोवेम्बर १९६७ मा मंगलवार गोरखपुरमा भएको थियो तर सानैदेखि उनी नेपालमै हुर्केका हुन् ।
चिनामा उनको नाम सुरेश कुमार विश्वकर्मा भएता पनि व्यवहारमा प्रचलित नाम भने सुरेश सेन्चुरी हो । उनले संगीत प्रयाग समिति इलाहाबादबाट गायन विधामा मास्टर्स तहको संगीत प्रभाकरको अध्ययनलाई निरन्तरता दिइ रहेका छन् ।

बागेश्वरी संगीतालयको स्थापना
२०४६ सालदेखि २२ वर्षकै उमेरमा समाज परिवर्तनका जनचेतनामूलक गीत र साँस्कृतिक कार्यक्रमहरुमा सहभागी हुँदै उनले सांगीतिक तथा कला क्षेत्रमा प्रवेश गरेका हुन् ।
बागेश्वरी संगीतालयको अनौपचारिक रुपमा स्थापना २०५५ सालमै भइसकेको थियो । उनको औपचारिक सांगीतिक यात्रा चाहीं २०६१ सालमा यसको विधिवत दर्ता पछि प्रारम्भ भयो । विधि प्रक्रिया र नियमको नाममा अनेकौं बाधाहरुको सामना गर्दै महिनौंसम्मको आफ्नो अथक प्रयासले कसरी पुरानो बोगेश्वरी संगीतालय दर्ता हुन सफल भएको थियो आफूलाई आज पनि स्मरण रहेको बताउँछन् उनी । उतिबेला घरेलु तथा साना उद्योग कार्यालय भैरहवा, सिद्धार्थनगरमा दर्ता गराईएको थियो । संगीतकार सेन्चुरीले बताए अनुसार कानूनी रुपमा वैधानिकता पाउनुभन्दा ६ वर्ष अघि अर्थात् २०५५ सालदेखि नै बागेश्वरी संगीतालयले सांगीतिक प्रतिभा उत्पादन गर्न थालीसकेको थियो ।

बागेश्वरीमा पार्टनरी
प्राप्त जानकारी अनुसार २० वर्षसम्म एकल स्वामित्वमै सञ्चालन  हुँदै आएको बागेश्वरी संगीतालय २०७५ सालदेखि पार्टनरीमा सञ्चालन हुन थाल्यो । यसपाली बागेश्वरी कला तथा संगीत एकेडेमी नाम राखेर प्रा.लि. मै दर्ता भएको थियो । संगीतालयको व्यवस्थित, सशक्त र राम्रो सम्भावना निर्माणको उद्देश्य राखेर नै पार्टनरीको अवधारणालाई कार्यान्वयन गरेको बताउँछन् सेन्चुरीले । उनलाई थाहा थिएन एक अनजान आफत संघारमा छ । अब सुरेश लगायत दुइ जनाको पार्टनरीमा थियो बागेश्वरी संगीतालय । पार्टनरीमा गए पनि संगीतालयको सबै व्यवस्थापन, कार्यालय सञ्चालन, कक्षा सञ्चालन आदि सेन्चुरीले नै सम्हाल्दै आएका थिए ।

बागेश्वरी संगीतालयदेखि बहिर्गमन
कोरोनाकालमा आर्थिक भार बढेपछि पार्टनरले बागेश्वरी संगीतालय बन्द गर्नुपर्ने भन्दै नचालउने प्रस्ताव राखे तर सुरेश सेन्चुरीले बन्द गर्न नहुने क्रमशः स्थिति सुधार हुँदै जाने बताएपछि संगीतालयले आफ्नै लयमा निरन्तरता लिइ नै रह्यो । केही समय पछि नीतिगत, प्राविधिक, व्यवहारिक र आर्थिक पक्षमा एकैसाथ सन्तुलन गुम्दै गएको पाएपछि त्यत्रो दुःख गरेर खडा गरेको संस्था भित्र विवाद सिर्जना हुन नहुने निष्कर्षका साथ सुरेश सेन्चुरीले एकल स्वामित्वमा सञ्चालन गर भनेर संगीतालय परस्पर सहमतिमा पार्टनरलाई नै सुम्पिएर आफू २०८० सालको बैसाख महिनादेखि बागेश्वरी संगीतालयमा नजानेगरी संस्थाबाट बाहिरिए ।

रागश्री संगीतालयको स्थापना
छोटो अवधि अर्थात् करिब ३ महिनाको तयारीसँगै २०८० साल असार १८ गतेका दिन गरु पूर्णिमाको अवसर पारेर रागश्री संगीतालय सञ्चालनमा आएको छ । पुरानै पान (PAN)  प्रभावकारी रहनेगरी २०८० साल असार महिनामा रागश्री संगीतालय घरेलु तथा साना उद्योग कार्यालय भैरहवा, सिद्धार्थनगरमा दर्ता भएको छ । रागश्री संगीतालय सुरेश सेन्चुरीको एकल स्वामित्वमा सञ्चालित छ ।

 

रागश्री संगीतलायको उद्घाटन
वरिष्ठ गजलकार तथा प्राज्ञ बूँद रानाको करकमलबाट रागश्री संगीतालयको विधिवत उद्घाटन भएको थियो । गुरु पूर्णिमाकै दिन उद्घाटन भएकाले रागश्री संगीतालयमा विद्यार्थीहरुले गुरु वन्दना, भनज, कीर्तन, नृत्य आदि गरेका थिए ।

 

रागश्री संगीतालयमा विद्यार्थी भर्ना
गत असारको १८ गतेदेखि आजको मितिसम्म झन्डै १ महिना अवधिमा २२ जना नयाँ विद्यार्थीहरुले विभिन्न विधामा भर्ना लिइसकेको रागश्री संगीतालयका सञ्चालक सुरेश सेन्चुरीले बताएका छन् । स्रोतले खुलाए अनुसार पुराना विद्यार्थीहरुमध्ये केही विद्यार्थीहरु पनि क्रमशः सम्पर्कमा आइ आफ्नै संगीत गुरु सेन्चुरीको नयाँ संगीतालयमा भर्ना भइ प्रशिक्षण लिने तयारीमा छन् ।

विद्यार्थी तथा अभिभावकहरुमा भ्रम
२५ वर्ष लामो अवधिमा बागेश्वरी संगीतालय र सुरेश सेन्चुरी यी दुई नाम एक अर्काको पर्यायवाची बनिसकेको कारण विद्यार्थीहरु बागेश्वरी संगीतालयमै भर्ना लिन र अभिभावकहरुले आफ्ना बच्चालाई पुरानै संगीतालयमा भर्ना गराउन इच्छुक रहेको पाइएको छ । पुरानो बागेश्वरी संगीतालयसँग संस्थागत सम्बन्ध समाप्तिका विषयमा सूचना वा जानकारी सार्वजनिक नगरिएको हुँदा प्रायः सबैलाई आज पनि यही लागेको छ कि सुरेश सेन्चुरीले नै पूर्ववत् बागेश्वरी संगीतालय सञ्चालन गरिरहेका छन् । विद्यार्थीहरु संगीत गुरु सुरेश सेन्चुरीलाई खोज्दै बागेश्वरी संगीतालयमै भर्ना लिन जान्छन् । सेन्चुरीलाई नयाँ भर्ना लिन गएका विद्यार्थीले प्रत्यक्ष रुपमा भेट्न खोज्दा पुरानो संगीतालयका कर्मचारीहरुले सुरेश सेन्चुरी सर कामले बाहिर गएको बताउँदै झुक्काएर भर्ना लिइरहेको कुरा विद्यार्थीहरुकै मुखबाट बाहिरिएको स्रोतबाट जानकारी प्राप्त भएको छ । यता सुरेश सेन्चुरीले आफैले जन्माएको संस्थाको माया लाग्छ भन्दै पुरानो बागेश्वरी संगीतालयलाई मर्का पर्नेगरी आफूले कुनै हर्कत नगर्ने बताउँदै आएका छन् । तर विद्यार्थी तथा अभिभावकहरुले सुरेश सेन्चुरी बागेश्वरी संगीतालयमा होइन रागश्री संगीतालयमा हुनुहुन्छ अथवा अबदेखि बागेश्वरी संगीतालय सुरेश सेन्चुरीको होइन रागश्री संगीतालय हो भनेर बुझ्नु आवश्यक छ ।

सुरेश सेन्चुरीको योगदान
सांगीतिक क्षेत्रमा मात्रै नभई सामाजिक क्षेत्रमा पनि सेन्चुरीले उल्लेखनीय योगदान प्रदान गरेका छन् । सुरेश सेन्चुरीकै व्यवस्थापन तथा प्रशिक्षणमा सयौं विद्यार्थीहरुले आफ्नो पहिचान स्थापित गरिसकेका छन् । अझै के कति योगदानहरु हुने हुन् भविष्यको गर्भमा नै संरक्षित छ । चलचित्रमा संगीत दिनु, सांगीतिक एलबममा संगीत रच्नु, म्यूजिक एरेन्ज गर्नु, भजनको धुन बनाउनु, गाउनु उहाँको नियमित कार्यहरुमा पर्दछन् । यद्यपि केही योगदानहरुको बुंदागत वर्णन यसरी गर्न सकिन्छः–
– शंकर कपाली, महेश पाल्पाली, मुक्ति प्रसाद श्रेष्ठ, मानिकलाल श्रेष्ठ, सुन्दर स्वर्णकार, माया थापा लगायतका १८ जना स्रष्टाहरुलाई संगीतालय (पुरानो) स्थापना वर्षमै भव्य कार्यक्रमका बीच सम्मान गरिएको थियो । अर्काे        वर्ष नेपालमै चर्चित अभिनेत्री गौरी मल्ललाई सम्मान गरिएको थियो । त्यस्तै राष्ट्रिय धुनका सर्जक अम्बर गुरुङ्ग र वरिष्ठ संगीतकार शक्ति वल्लभलाई अर्काे वर्ष सम्मान गरिएको थियो ।
– भारतको प्रयाग संगीत समिति इलाहावादबाट ६ वर्षे गायन विधामा संगीत प्रभाकर उत्तीर्ण गरेर बि.सं. २०५५ सालमा बागेश्वरी संगीतालयको स्थापना गरी पश्चिम नेपालका संगीत सिक्न चाहने विद्यार्थीहरुलाई अनवरत            रुपमा सेवा दिंदै आएको ।
–२०६५ सालदेखि विश्व संगीत दिवस मनाउन सुरेश सेन्चुरीले नै आरम्भ गरेका हुन् । उक्त कार्यक्रममा कला संगीत क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई सम्मान गर्न थालिएको थियो जस अन्तर्गत पत्रकार दिपक ज्ञवाली र        टि.आर. शर्माले सम्मान पाएका थिए ।
– नेपाली कला साहित्यको जर्गेना, संरक्षण र विकासका लागि अनवरत रुपमा क्रियाशिल रहँदै आएका छन् ।
– उपत्यका बाहिर मोफसलमा रहेर पनि राष्ट्रिय स्तरका कलाकारहरु उत्पादन गर्दै आएको ।
– कला संगीतको गुणस्तरीय शिक्षा प्रदान गरी कला क्षेत्रमै आत्मनिर्भर बनाई स्वरोजगार जनशक्ति उत्पादनमा टेवा पुर्याउँदै आएको ।
– राज्य तथा स्थानीय विभिन्न सामाजिक संघ–संस्थाहरुले गरेका विभिन्न कला तथा साँस्कृतिक कार्यक्रमहरुमा नेपाली कला संस्कृति झल्कने नृत्य तथा कला सम्वन्धी विभिन्न कार्यक्रम आयोजन मार्फत् सहयोग गर्दै आएको ।
– नेपाली कला संस्कृतिको खोज, अनुसन्धान र विकासका लागि आफ्नै पहलमा विभिन्न कार्यक्रमहरु गर्दै आएको ।
– बागेश्वरी संगीतालयले नेपाली कला संस्कृतिलाई स्थानीय क्षेत्रदेखि राष्ट्र र राष्ट्रदेखि अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चिनाउन र ख्याती कमाउन सफल भएको छ ।
– स्थापनाकालीन संर्घर्षशील अवस्थासंगै र आजको यस परिवर्तित आधुनिक डिजिटल युगमा पनि संगीत क्षेत्रमा अनवरत रुपमा योगदान गर्दै आएको ।
– रुपन्देहीको ग्रामिण भेग रुद्रपुरको सामान्य परिवारमा जन्मिएकी टेरिया फौजा मगरलाई आफ्नो संगीत विद्यालयमा नृत्य प्रशिक्षण दिइ विश्वचर्चित टेलिभिजन कार्यक्रम डि.आइ.डी. लिटिल मास्टर्स सिजन–३ मा नेपालकै        प्रतिनिधित्व गराई उनलाई उक्त कार्यक्रमको विजेता बनाउन सफल भई नेपालको नाम विश्वसामु चिनाउन सफल भएको ।

कृतिहरुः
– नेपाली कथानक चलचित्र ‘पागल प्रेम’, तिम्रो मायामा’, ‘लण्डने नेपाली’, ‘ ए ढाक्रे दाई’ कैदीको पत्र लगायतका चलचित्रहरुमा संगीत भर्न सफल ।
– बैमानी, द पल्स, सुभेच्छा, मेरो हजुर, नानी (बाल गीत), लगायतका दर्जनौ एल्वमहरु सार्वजनिक ।
– सामाजिक उत्तरदायित्व अन्तर्गत तिलोत्तमा नगरपालिकाको नगर गान, नगर विकास गीत, बुटवल उप–नगरपालिकाको विकास सम्वन्धी चेतनामूलक गीत, गौतम बुद्ध सामुदायिक मुटु अस्पतालको स्वास्थ्य सम्वन्धी चेतनामूलक गीत, लुम्बिनी प्रदेश ट्राफिक प्रहरि कार्यालयको सहकार्यमा ट्राफिक जनचेतनामूलक गीत, ०७२ सालको भूकम्प सम्बन्धी जनचेतनामूलक गीत, कोरोना महामारी सम्वन्धी जनचेतना मूलक गीत आदिको सृजना गरी सार्वजनिक भएको ।

सम्मान प्राप्ति
संगीतकार सुरेश सेन्चुरी धेरै संघ–संस्थाहरुबाट अभिनन्दित तथा सम्मानित भएका छन् । ती संस्थाहरुमध्ये लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवल, बटौली संरक्षण संवर्धन समिति बुटवल १–४, कवि लेखनाथ ज्ञवाली स्मृति प्रतिष्ठान नेपाल, बुद्ध सामुदायिक टेलिभिजन बुटवल, नेपाल जातीय उत्पीडित मुक्ति समाज, जागृति युवा क्लब तिलोत्तमा, लुम्बिनी टेलिभिजन बुटवल, श्री जनज्योति माध्यमिक विद्यालय तिलोत्तमा, उद्योग व्यापार संघ देवदह, विश्वकर्मा समाज रुपन्देही, रेडियो जागरण ९३.६ मेगाहर्ज बुटवल, तिलोत्तमा व्यापार मेला २०७४, लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड, सप्तक संगीत विद्यालय बुटवल, बुटवल जेसीज २००५, रेडियो देवदह १०६ थोप्लो ६ मेगाहर्ज, कर्मयोगी समाजसेवी गणेशमान कृष्णप्यारी सैजु ट्रस्ट बुटवल, Rotract Club of Butwal Downtown लगायतका दर्जनौं संस्थाहरुले गीत संगीत क्षेत्रमा योगदान बापत सम्मान गरिसकेका छन् ।

कहाँ छ  रागश्री संगीतालय ?
बुटवलको पश्चिमाञ्चल फाइनान्स भवनदेखि करिब ५० मिटर भित्र (पूर्वमा) रागश्री संगीतालय अवस्थित छ । सिद्धार्थ हाईवेको पश्चिमतिर मिलन चलचित्र हल छ भने सिद्धार्थ हाईवेको ठीक पूर्वी भाग अर्थात् मिलन चलिचित्र हलदेखि सोझै पारीपट्टीको लोकेशन हो यो । सिद्धार्थहाईवेदेखि बुटवल–८, सुन्दरचोकतिर जानेबाटोमा बायाँतिर रागश्री संगीतालयको बोर्ड देख्न सकिन्छ ।

वास्तवमा सिर्जनात्मक क्षेत्रमा योगदान दिन क्रियाशील रहनु नै जीवनको सार्थकता हो । निर्णय लिने सवालमा जीवनमा जानेर नजानेर भएका गल्तीहरुबाट पाठ सिक्दै पुनः ती गल्ती नदोहोरिउन् सतर्क रहनु पनि जीवनको सार्थकता हो । सकारात्मक सोचका साथ संघर्ष गर्दै निश्चित ऊँचाइ हासिल गर्नु एक कला हो र यो कलालाई एक पुस्ताबाट अर्काे पुस्तासम्म गरिने विधिवत हस्तान्तरण कार्य आफैमा अविरल यात्रा हो । यही यात्रामा आफू पहिलाभन्दा थप उत्साहका साथ अघि बढेको भन्दै सेन्चुरीले आफ्ना अनुभव साझा गरेका थिए ।

 

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर