Sat2024 July 27
२०८१ साउन १२, शनिबार

‘राजमहल’को घोषणामा मिस पबीको क्रेज

16

मिस पबीको रुपमा टिकटकमा चर्चित पवित्रा सान्कीले टिकटिकमा भाइरल भएपछि अब फिल्ममा पनि डेब्यू गर्दैछिन् । बिहीबार उनको डेब्यू फिल्म ‘राजमहल’को काठमाडौंमा निर्माण घोषणा गरियो, जहाँ उनी पनि उपस्थित थिइन् ।
फिल्मको घोषणा कार्यक्रममा राखिएको फ्लेक्समा पवित्राको नाम कलाकारहरुको क्रमबद्धतामा सबैभन्दा पुच्छारमा थियो । उनको वास्तविक नाम पनि राखिएको थिएन । उनलाई चिनिने मिस पबी नाम उल्लेख थियो । तर, फ्लेक्समा नाम पछाडि भए पनि घोषणा सभामा उनको क्रेज हेर्नलायक थियो । एक हिसाबले ‘राजमहल’को कार्यक्रममा आकर्षणको केन्द्रविन्दू नै उनी देखिएकी थिइन् ।

फिल्ममा अभिनय रहने रमेश उप्रेती, आँचल शर्मा, सलोन बस्नेत, अर्जुन श्रेष्ठ जस्ता नाम चलेका कलाकारहरुको पनि कार्यक्रममा उपस्थिति रहेको थियो । यसका बावजूद पवित्रासँग फोटो खिच्नेको जुन तछाडमछाड देखियो, त्यसले उनको लोकप्रियता दर्शाउँछ । र, टिकटकको शक्ति देखाउँछ । उनकै सामुन्नेबाट एकपटक आँचल हिँड्दा पनि फोटो खिच्नेले मिस पबीलाई छाडेका थिएनन् ।

त्यसो त फिल्मको घोषणा कार्यक्रममा सम्बन्धित कलाकार र पत्रकारहरुको बढी उपस्थिति रहन्छ । ‘राजमहल’को कार्यक्रममा भने फिल्मको टिमका केही आफन्तहरुको पनि सहभागिता रहेको थियो । सेल्फी र फोटो लिनका लागि उनीहरुको पहिलो रोजाईमा फिल्मका नाम चलेका कलाकारभन्दा पवित्रा परेकी थिइन् । र, उनले पनि आफूसँग फोटो खिच्न चाहनेहरुलाई निराश बनाइनन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर