Sat2024 July 27
२०८१ साउन १२, शनिबार

राधाप्रियमा लाग्यो मेरो मन

16

 

राधाप्रियमा लाग्यो मेरो मन
हृदय मेरो बन्यो वृन्दावन
कन्हैयालाई नै गरें वरण
कृष्ण मन्दिर हो अन्तःकरण
राधाप्रियमा लाग्यो मेरो मन………..

सृष्टिका पालक मेरा गिरिधारी
कल्याण मेरो उनकै जिम्मेवारी
उनी छन् मोहमायाको लोक पारी
पुग्छु उतै गर्दै भक्तिको सवारी
राधाकृष्णकै म परें शरण
राधाप्रियमा लाग्यो मेरो मन…………….

जान्दिन राम्रो नराम्रो मैले केही
उनको इच्छा जे मेरो पनि त्यही
थाहै छैन मलाई गलत सही
बाँच्या छु म उनकै आशमा रहि
राधाकृष्ण मेरो मार्गदर्शन
राधाप्रियमा लाग्यो मेरो मन……………….

मोहको संसारमा भट्कियो ध्यान
काम क्रोध लोभले गाँजियो प्राण
पापको तह कति बाक्लियो थान
पाउँ गर्न दर्शन–अमृत पान
राधाकृष्ण हुन् मेरो मधुवन
राधाप्रियमा लाग्यो मेरो मन……………….

प्राणी बन्छ अभय जपेर नाम
ओम दिव्यस्वरुप बुझें राधाश्याम
उनी शितल छायाँ उनै हुन् घाम
अनिष्ट गर्छन् उनले रोकथाम
राधाकृष्ण नाम रतन धन
राधाप्रियमा लाग्यो मेरो मन……………….

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर