Sat2024 July 27
२०८१ साउन १२, शनिबार

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

18

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ईन्द्रजात्रा अवलोकन गरेका छन् । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गएर जात्रा अवलोकन गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

राष्ट्राध्यक्ष जुद्द सालिकबाट इन्द्रजात्रा अवलोकन गर्न पैदल गएको यो पहिलोपटक हो । यसअघिका राष्ट्रपति र राजा गद्दी बैठकअघिसम्म नै गाडीमा जाने गरेका थिए ।

जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत जात्रामा सबै सहभागीहरु पैदल गद्दी बैठकसम्म गएका थिए ।

राष्ट्रपति पौडेलले जात्राका अवसरमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएका थिए । यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो ।

भाद्र शुक्ल द्वादशीका दिन मङ्गलबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो । आज तल्लो टोलमा रथयात्रा चलाइने गुठी संस्थान काठमाडौँ शाखाले जनाएको छ । शुक्रबार माथिल्लो टोलमा रथयात्रा गरिने छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको साइतमा लिङ्गोका लागि रुख काट्न वनयात्रा गरेपछि यो जात्राको प्रक्रिया सुरु हुन्छ । वनयात्रा, रुख कटान, लिङ्गो नगर प्रवेश लगायतको विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजोत्थान गरिन्छ ।

असोज १५ गते महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइने चलन छ । यसै दिन बेलुकी हनुमानढोका दरबार गई राष्ट्रपति पौडेलले कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नेछन् । टीकाप्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत छ ।

असोज १५ गते सोमबार राति ८ः३७ बजे इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ । पातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकु दोभानस्थित बाग्मती किनारमा सेलाइन्छ । लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर