काठमाडौँ । बड्डी शृंखलाकी मैँया अर्थात् रिश्मा गुरुङ नयाँ फिल्म ‘रिमै’ को छायांकनको लागि नेपाल आएकी छन् । लामो समयदेखि अमेरिकामा बस्दै आएकी रिमैको कथावस्तुले मन छोएकाले काम गर्न तयार भएर नेपाल आएको बताइन् ।
‘म लामो समयपश्चात सिनेमाको पर्दामा फर्किंदै छु । लामो त होइन मैले बीचमा क्रसरोड नामक सिनेमामा काम गरेकी थिए । त्यो सिनेमा अहिलेसम्म पनि प्रदर्शनमा आएको छैन् ।
त्यसैले गर्दा लामो ग्याप जस्तो देखियो’, उनले भनिन्, ‘विशेषगरी रिमै गुरुङ संस्कार र संस्कृतिमा आधारित रहेर निर्माण हुन लागेकाले पनि काम गर्न तयार भएकी हुँ । अनि सिनेमाको मुख्य भूमिकामा दयाहाङ राई र सौगात मल्ल भएकाले पनि काम गर्न उत्साहित छु ।’
खिलबहादुर गुरुङको निर्देशनमा बन्ने फिल्मको निर्माता वीरबहादुर घले हुन् । फिल्मको सुटिङ २८ असोजबाट गोरखाको सिरानचोकबाट छायांकन सुरु गरिनेछ । यस फिल्ममा रिश्मासँगै दयाहाङ राई, सौगात मल्ल, कविता आले र माओत्से गुरुङ मुख्य भूमिकामा देखिनेछन् ।