Sat2024 July 27
२०८१ साउन १२, शनिबार

रुपन्देही नाकामा रहेको कवाड गोदाम भत्काइयो

15

काठमाडौं । जिल्ला प्रशासन कार्यालयको निर्देशनपछि रुपन्देहीको मैनिहवा नाकामा रहेको कवाड गोदाम डोजर लगाएर भत्काइएको छ । उक्त नाकाबाट ठूलो परिमाणमा लागूऔषध तस्करी भएपछि सीमा क्षेत्रमा रहेको गोदाम भत्काइएको हो ।

उक्त गोदामका कवाड तस्करहरूले प्रहरीको मिलोमतोमा नाकाबाट लागूऔषध चरेस भारत पुर्याएको खुलेपछि प्रशासनको निर्देशनमा शनिबार डोजर लगाएर कवाड गोदाम भत्काइएको हो ।

गत बिहीबार मात्रै तस्करहरूले नाकाबाट तस्करी गरिएको ठूलो परिमाणको लागूऔषध चरेस भारतीय प्रहरीले बरामद गरेको थियो । उक्त चरेस बरामद भएको चर्चापछि तत्कालै उक्त कवाड गोदाम भत्काउन लगाइएको हो ।

रुपन्देहीका सिडिओ गणेश अर्यालले प्रशासनको निर्देशनपछि आज ए.एस.पी. स्क्रेप सप्लायर्स लेखिएको कवाड गोदाम डोजर लगाएर भत्काइएको जानकारी दिए । उनले भने, ‘बोर्डर नजिकका कवाड गोदामहरुबाट आपराधिक गतिविधि हुने भएकाले भत्काउन निर्देशन दिएको हुँ ।’

गत साउनमा नै जिल्ला सुरक्षा समितिको बैठकले सीमा नाकाहरुमा रहेका कवाड गोदाम हटाउने निर्णय गरेको सिडिओ अर्यालले बताए । उनले भने, ‘पहिलाको निर्णयलाई अहिले आएर कार्यान्वयन गरिएको हो । अरु पनि गोदामहरु भत्काइनेछ ।’

सिडिओ अर्यालका अनुसार भत्काइएको कवाड गोदाम व्यवस्थित समेत थियो । उनी भन्छन्, ‘एकपटक मैले पनि उक्त गोदाम हेर्ने अवसर पाएको थिएँ । भित्र गएर हेर्दा यस्तो पनि कवाड गोदाम हुन्छ र भनेर शंका गर्ने ठाउँ थियो ।’

सीमा क्षेत्रमा रहेको उक्त कवाड संकलन गर्ने व्यवसायप्रति स्थानीयको गुनासो, अवैधरूपमा सञ्चालन र अवैध गतिविधि हुनसक्ने भएकाले गोदामको गेट तथा अस्थायी पर्खाल डोजर लगाएर भत्काई व्यवसाय सञ्चालनमा रोक लगाइएको हो ।

उक्त गोदामबाट भारतमा अधिक कवाड तस्करी भएपछि जिल्ला प्रशासन कार्यालयमा गुनासो पुगिरहन्थ्यो । त्यतिमात्र होइन ३ महिनाअघि गोदाम हटाउन निर्णय समेत भएको थियो । तर, कार्यान्वयनमा भने आएको थिएन ।

अहिले कवाड तस्करहरूले कवाडको नाममा ठूलो परिमाणमा भारतमा चरेस तस्करी गरेको विषयमा समाचारहरु छताछुल्ल भएपछि उक्त कवाड गोदाम भत्काई व्यवसाय सञ्चालनमा रोक लगाइएको हो । स्कूपखबर

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर