Sat2024 July 27
२०८१ साउन १२, शनिबार

लघुकथा: प्रतिष्ठाबाट दागबत्ती

15

मृत्यु एक कालो पर्दा हो । यो पर्दा पछाडि पनि अर्काे कुनै लोक त होला नै । जो यस पर्दा पछाडि छिर्छ उसको भौतिक देह कहिलै दृष्टिगोचर हुँदैन ; केवल यादहरु बाँकी रहन्छन् । जीवन माया (भ्रम) हो भने मृत्युलाई सत्य मानिन्छ । मायाले सम्बन्धको मेला लगाउँछ भने सबै सांसारिक सम्बन्ध घाम लाग्दाको छायाँ थियो सत्यले ऐना बनेर देखाइ दिन्छ । जाने त बिचैमा छोडेर गइहाल्छ । पछाडि रहेकाहरुले केही दिन शोक मनाउँछन्, पार्थिव देहको अन्त्यष्टि गर्छन्, काजकिरिया गर्छन्, पितृ प्रसाद बाँड्छन् अनि आ–आफ्ना सांसारिक कर्ममा फर्किन्छन् । छोडेर किन गयो मेरो मान्छे भन्दै विरोध गर्ने ठाउँ कहीँ कतै छैन । आफ्नो भनिएको मान्छेको अनुपस्थितिमा पनि पुनः सबै सामान्य बन्छ । सूक्ष्म परमाणु बमको विध्वंश विशाल भने झै लघुकथाले सानै पृष्ठभूमिमा असीमित जीवन दर्शनको अपार बोध गराउँछ । गुरुदत्त ज्ञवाली एक यस्ता साहित्यकारको नाम हो जसको शब्द शब्दले आम मानवीय भावनाको प्रतिनिधित्व गर्दछ । प्रस्तुत छ उहाँको अर्काे लघुकथा संस्करण —सम्पादक

 

–गुरुदत्त ज्ञवाली

सहदेवका दुईटा सन्तान, छोरा र छोरी । छोराको नाम प्रवेश र छोरीको प्रतिष्ठा हो । त्यसो त सहदेवकी श्रीमती पनि साथमै छन् । उनको नाम मालती हो । मालतीको जीवनचक्र सामान्य छ, औसत सबै गृहिणीको जस्तो । भात पकाउनु, लुगा धुनु । उही उठाउ उही पोख भने जस्तो । काम पनि देखिन्न फुर्सद पनि हुन्न । सुखी र खुसी परिवार हो यो ।

सहदेवको जागिर छ । त्यति ठुलो पदमा त छैनन्, सानै पनि होइन । तलवले लाउन खान पुग्छ । घर सानो चिटिक्कको छ । अलिकति बारी पनि छ । बारीमा तरकारी र फलफूलको राम्रै उत्पादन हुन्छ । यसको मतलव आधा उत्पादनले घरखर्च चल्छ भने बाँकी बेच्छन् । सानोतिनो खर्चमा कसैसँग हात थाप्नु परेको छैन । घर भने पैतृक सम्पत्तिले बनाएका हुन् ।

पहिलो सन्तान प्रवेश, अलि जेठो हो छोरी प्रतिष्ठाको उमेरको तुलनामा । उसले स्नातक पास गरेको छ र हाल दक्षिण कोरियामा छ । पाँच वर्षको लागि गएको, एकवर्ष मात्र भयो । छोरी प्रतिष्ठा हाल आठौँ कक्षामा पढ्छिन् ।

सहदेव जागिरको कामले जिल्ला बाहिर जानुपर्ने भयो  एक हप्ताको लागि ।  घरमा फोन सम्पर्क भइरहन्थ्यो । छैठौँ दिनको दिउँसोदेखि फोन लागेन । ब्यस्त भएर होला भन्ने लाग्यो मालतीलाई । पछि बेलुकातिर छोरी प्रतिष्ठाले फोन गरिन् । फोन अरु कसैले उठाउँदै भने, “बुबा अलि ब्यस्त हुनुहुन्छ पछि गर्नु ।” सामान्य होला भनेर चित्त बुझाए घरमा । राति नौ बजे उतैबाट फोन आयो । खबर अनुसार सहदेव गाडी दुर्घटनामा परेछन् र घरमै लिएर आउने कुरा गरे । घरमा एक किसिमको सन्नाटा छायो । आमा छोरीमा धेरै शंका उपशंका उठे । मनले पाप सोँच्यो ।

सहदेवको घटनास्थलमै देहान्त भएको रहेछ । त्यस दुःखद अवस्थामा परिवारमा के हविगत भयो होला ? सहजै अनुमान गर्न सकिन्छ । कुरो रह्यो काजकिरिया कसले गर्ने वा को बस्ने । परम्परा अनुसार छोराले गर्नुपर्ने । छोरा कोरियाबाट तत्काल आउने अवस्था छैन । यस्तैमा छोरी प्रतिष्ठाले भनिन्, “मैले गर्छु ।” नाबालक छोरीले साहस गरिन् । अरु आफन्तले गाइँगुइँ कुरा काटेको सुनिन्थ्यो । मुख फोर्ने हिम्मत गरेनन् । प्रतिष्ठाले पिता सहदेलाई दागबत्ती दिइन् र सेतो कोराको पहिरनमा किरिया बसिन् ।

तिलोत्तमा १, रुपन्देही

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर