रुपन्देही, भदौ १४ गते । कात्तिके ठूली एकादशीको दिन । रिडीको कालीगण्डकीमा स्नान गर्ने र मेला हेर्नेको भीड लाग्ने दिन । जोगी जलन्तरीहरुको पनि त्यत्तिकै उपस्थिति हुन्छ ।
एकजना जोगी बिहान झुलमुलोमै नदीमा नुहाउन भनेर विष्णुपञ्जर घाटतिर हिँडे । उनको साथमा पातलो कम्बल, कमण्डलु, लोटा, पूजाका सामग्री र अरु खित्रीमित्री सामान भएको झोला थियो । नदी अलि परै थियो । बगरै बगर झोला बोकेर लैजान असजिलो माने । कमण्डलु हातमा लिए र अरु सामान भएको झोलाको मुख बाँधे । अनि, बगरको बालुवा खोस्रेर झोला बालुवाले पुरे । नुहाएर फर्कँदा झोला भेटिन्न कि भनेर बालुवाको थुप्रोमाथि रुदिलाको हाँगो भाँचेर गाढे अर्थात चिनो राखे ।
जोगी मान्छे, नुहाएर ध्यान गर्न थाले । लटा ओभाउन पनि समय लाग्यो । अलि बेर गरे । तबसम्म विष्णुपञ्जर घाटमा नुहाउन जानेहरुको भीड बढ्यो । जोगीले बालुवाको थुप्रो बनाएर स्याउला गाढेको कुरा अरुले थाहा पाए । हो न हो, त्यसै गर्नु पर्ने रहेछ भनेर सबैले एक एक वटा बालुवाको थुप्रो बनाएर स्याउला गाढे । उनीहरुको बुझाइमा पाती गाढे ।
जोगी नुहाएर फर्कँदा बगरमा सयकडौं बालुवाका थुप्रा देखेर जिल्ल परे । गोडा पचासेक थुप्रा त खोस्रेर पनि हेरे । अहँ, उनको झोला पुरेको थुप्रो फेला परेन । पत्ता लगाउन सकेनन् । अनि उनले मनमनै सोचे, “यहाँ यस्तै संस्कार रहेछ ।” र, उनले पनि बालुवाको एउटा थुप्रो बनाए । रुदिलाको हाँगो भाँचेर गाढे । अनि, नङ्गा जोगी नाङ्गै गन्तव्यतिर लागे ।