Sat2024 July 27
२०८१ साउन १२, शनिबार

लघु कथाः झोँक चलेपछि

17

–गुरुदत्त ज्ञवाली

बर्खाको बेला, कैलाली, जोशीपुरकी जोगमती थारु दिनभरि रोपाइँमा ब्यस्त रहिन् । उनका पति चुइँकराम थारुले कुखुराको पहिलो डाँकोमै गोरु नारे र त्यो दिनको रोपाइँको मेलो तयार गरे । गरा हिल्याउनु, हेँगा लगाउनु, बिउ काढ्नु र बिउ बोकेर गरा गरामा पाँज्नु चानचुने काम होइन । तै, अरु सहयोगी पनि थिए ।

जोगमती पनि बिहान पतिसँगै उठेर भात पकाइन् । दिउँसोको अर्नि अर्थात् मिजनी तयार गरिन् । आठ बज्दा कलवा र मिजनी बोकेर खेतमा गइन् । कलवा मिजनी खेतमै भयो । झमक्क साँझ परेपछि जोगमती घरमा आइन्, चुइँकराम गोरु चराउन लागे ।

साँझ नौ बजे चुइँकराम पनि घरमा आए । धारामा गएर हातगोडा धोए । अनि चारपाइमा पल्टेर जोगमतीलाई उनको भाषामा भने, “माचिस लैके आव ते जोगमती, बिँडी पिएनास लागता ।” बिँडी खान मन लागेर आगो मागेका पतिलाई जोगमतीले आफू पनि थाकेकी र कामबाट फुर्सद नभएकोले अलि झर्केको शैलीमा आफै आएर सल्काए हुन्न र ? भनिन् ।

चुइँकरामलाई पत्नीले नटेरेको वा हेपेको महसुस भएछ क्यार ? झोँक चलेछ । चारपाइबाट जुरुक्क उठे र आफ्नो भाषामा के के भुत्भुताउँदै भने– जन्नी मनै होइके…, अब् देखाइम् तमासा..।
जब भात खाने बेला भयो, जोगमतीले बोलाइन् । आवाज आएन । टुकी बालेर खोजिन् । भेटाइनन् । छिमेकीकहाँ खोजिन्, अहँ.., पत्तो लागेन । गाउँले मिलेर खोजे । बाह्रबजेतिर उनकै घरपछाडिको बेलौतीको रुखमा झुण्डिएको अवस्थामा भेटिए । तै बेलौतीको हाँगो लच्केर भुइँमा खुट्टाले टेकेछन् । ढुकढुकी बाँकी नै थियो ।

सिक्नुपर्ने पाठ : पाठककै स्वविवेकको जिम्मामा । 

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर