Sat2024 July 27
२०८१ साउन १२, शनिबार

ललितपुरको ग्वार्को–लामाटार सडकमा स्मार्ट सडक बत्ती जडान

18

‘ब्राइट सिटी अभियान’ अन्तर्गत ललितपुर जिल्लाको ग्वार्को–इमाडोल–सनागाउँ–लुभु–लामाटारसम्मका मुख्य सडकमा स्मार्ट सडक बत्ती जडान गरिएको छ ।नेपाल विद्युत् प्राधिकरण र महालक्ष्मी नगरपालिकाको सहकार्यमा ५ किलोमिटर सडकको दुबै छेउमा जम्मा ३ सय ५७ वटा स्मार्ट बत्ती जडान गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले आज यहाँ एक कार्यक्रमका बीच अत्याधुनिक सडक बत्तीको उद्घाटन गरेका हुन् । प्राधिकरण र महालक्ष्मी नगरपालिकाबीच २ करोड १६ लाख रुपैयाँमा यस्तो बत्ती जडान गर्न साझेदारी गर्ने सम्झौता भएको थियो ।

आयोजनाको कुल लागतमध्ये प्राधिकरणले रु ८६ लाख र नगरपालिकाले बाँकी रकम बाँडेको छ । स्मार्ट बत्तीका लागि कूल ६२ वटा नयाँ पोल जडान गरिएको छ भने बाँकी रहेका पोलमा राखिएको छ । उद्घाटन कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले देशभर सञ्चालित विद्युतीकरण अभियान दुई वर्षभित्र सम्पन्न गर्ने जानकारी दिए ।

अभियान अन्तर्गत देशका प्रत्येक घरधुरीमा बिजुलीको पहुँच पुग्ने छ । उनका अनुसार अहिले लगनखेल सबस्टेसनबाट महालक्ष्मी नगरपालिकामा विद्युत् आपूर्ति भइरहेको छ । बिजुलीको लाइन लामो भएकाले ‘ट्रिपिङ’ भएको गुनासो उपभोक्ताबाट आउने गरेको छ ।

यो समस्या समाधान गर्न प्राधिकरणले सिरुटारमा सबस्टेसन निर्माणको प्रक्रिया अघि बढाएको छ । यसका लागि नगरपालिकाले उपयुक्त जग्गा उपलब्ध गराउने हो भने लुभुमा चार्जिङ स्टेशन बनाउन प्राधिकरण तयार रहेको उनले बताए ।

स्मार्ट स्ट्रिट लाइटले रातिको समयमा सडक यात्रालाई सुरक्षित बनाउनुका साथै सडकको सौन्दर्य बढाउने अपेक्षा नगरप्रमुख श्रेष्ठले गरे । नगरपालिकाका थप स्थानमा यस्ता सडक बत्ती जडान गरिने उनले बताए । प्रत्येक स्मार्ट बत्तीको क्षमता ९० वाट रहेको र त्यस्ता बत्तीको शुल्क नगरपालिकाले तिर्ने भएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर