Sat2024 July 27
२०८१ साउन १२, शनिबार

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री राजु खनालद्वारा एडमण्ड सिटी हस्पिटलमा ECHS उदघाटन

19

असोज २२, रुपन्देही ।

संयुक्त भूपू सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपाल र एडमण्ड सिटी अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धी विशेष सम्झौता भएको छ । बुटवल–१३, जीतगढी, रुपन्देहीमा सञ्चालित एडमण्ड सिटी हस्पिटल र संयुक्त भारतीय भूपू सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालले असोज २१ गते स्वास्थ्य सेवा लिनदिन सम्झौता गरेका हुन् ।

भारतीय सेनाबाट अवकाश प्राप्त भूपू सैनिक र उनीहरुका आश्रित परिवारलाई भारतीय राजदूतावास काठमाडौ र एडमण्ड सिटि हस्पिटल बीच गुणस्तरीय  चिकित्सा सेवा उपलब्ध गराउन भएको औपचारिक सम्झौता अनुरुप एडमण्ड सिटी हस्पिटलमा ECHS कार्यक्रम सञ्चालनमा आएको हो । उक्त भूपू सैनिक स्वास्थ्य सेवा योजना (ECHS-Ex-Servicemen Contributory Health Scheme) कार्यक्रमको आज लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल प्रमुख अतिथिले उदघाटन गरेका हुन् । उदघाटन कार्यक्रममा संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी नेपालका केन्द्रिय अध्यक्ष कर्णेल धन बहादुर थापा, विशिष्ठ अतिथिको रुपमा उपस्थित थिए ।

उदघाटनसँगै रुपन्देही, कपिलवस्तु, नवलपरासी जिल्लावासी भारतीय सेना तथा आसाम राइफलबाट अवकाश प्राप्त भूपू सैनिक परिवारजनले हस्पिटलबाट आधिकारिक रुपमै स्वास्थ्य सेवा लिन पाउने छन् ।
ECHS कार्ड नभएका भूपू सैनिकहरुले पनि ओपिडि चार्जमा ५०%, बेड चार्जमा २०% तथा सम्पूर्ण परीक्षणमा २०% छुट दिइने सम्झौतामा उल्लेख छ ।

उदघाटन कार्यक्रमको अवसरमा भूपू सैनिकहरुको बाक्लो उपस्थिति रहेको थियो भने स्थानीयहरु पनि उक्त कार्यक्रममा उपस्थित थिए । यस अस्पातलमा भूपू सैनिक स्वास्थ्य सेवा योजना कार्यान्वयन गराउन संयुक्त भूपूसैनिक तथा प्रहरी कल्याणकारी महासँघका सह अध्यक्ष क्याप्टेन कृष्ण बहादुर थापा, महासचिब सुबेदार कुल बहादुर केसी, पूर्व सेक्युरिटी अनरेरी सुबेदार मेजर पदम प्रताप जिसी लगायत समितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुको मुख्य भूमिका रहेको छ ।

ECHS को उदघाटनसँगै एडमण्ड सिटि हस्पिटलमा डिप्लोमा इन फार्मेसी अध्यापन प्रारम्भ भएको हस्पिटलका मेसु प्रो. डा. प्रकृतिराज कँडेलले बताए । ECHS कार्ड लिएर आएका सम्पूर्ण भूपू सैनिक एवम् उनका परिवारलाई उपचारमा कुनै कमी आउन नदिन अस्पताल प्रतिबद्ध रहेको मेसुले जनाएका छन् ।

कार्यक्रममा अस्पतालका अध्यक्ष प्रकाश रानाले एडमण्ड सिटिमा  हाल २१ वटा विशेषज्ञ सेवा दिदै आएको जानकारी दिए । रानाले भूपू भारतीय सैनिकसँग लुम्बिनी प्रदेश मन्त्री राजु खनालको रोहवरमा ९ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

 

सम्झौताको पूर्ण पाठः

१. दोस्रो पक्षले आफ्नो संस्थामा आबद्ध रहनुभएका भारतीय भूपू सैनिकहरु जोसँग इसिएचएस कार्ड रहेको छ का पदाधिकारी र सदस्यहरुका आश्रित परिवारजनहरु उमेर हद वा अन्य कारणबाट सो सेवाबाट वञ्चित हुनुपर्ने      हुन्छ उहाँहरुलाई लक्षित गरि स्वास्थ्य उपचारमा हस्पिटलले विशेष सहुलियत दिने छ ।
२. कुनै कारणबाट दुर्घटना भई अथवा अन्य कुनै कारणले विरामी भइ उपचारको लागि पठाउँदा सिफारिस पत्र, परिचय पत्र वा मञ्जुरीनामा वा आफ्नो परिवारको इसिएचएस कार्डसहित पठाउनुपर्ने छ ।
३. दोस्रो पक्ष (भूपू सैनिक)ले कुनै सिफारिस पत्र वा मञ्जुरीनामा सहित पठाएका विरामीहरुको औषधि उपचारमा प्रथम पक्ष (हस्पिटल) ले सजगता र उच्च प्राथमिकता साथ कार्य सम्पादन गर्ने छ ।
४. दोस्रो पक्षबाट उपचारका लागि आउने विरामीहरुलाई प्रथम पक्षले नियमित शुल्क नभई बुंदा नं. ९ मा उल्लेखित छुट सुविधा प्रदान गरि हस्पिटलमा उपलब्ध भएका सेवा तथा सबै प्रकारका शल्यक्रिया सेवा प्रदान गर्ने छ ।     उपचारलाई सकेसम्म स्तरीय बनाउनतर्फ प्रथम पक्षले ध्यान दिने छ ।

५. दोस्रो पक्षलाई उपचार प्रक्रियामा पूर्ण सन्तुष्टि प्रदान गर्नतर्फ प्रथम पक्ष सधै क्रियाशील रहने छ ।
६. यो सम्झौता भएको मितिले २ वर्षका लागि हुने छ र नवीकरणका आधारमा कायम रहने छ ।
७. उपचारका क्रममा भएको खर्चको भुक्तानी दोस्रो पक्षले सिफारिस गरि पठाइएका सदस्यहरुले नै गर्नुपर्ने छ ।
८. सम्झौता भए पश्चात पहिलो पक्षले दोस्रो पक्षलाई औषधि, एक्स–रे, प्रयोगशाला, अप्रेशन सामग्री लगायत आवश्यक सबै सामग्रीहरु उपलब्ध गरिदिनु पर्नेछ ।
९. प्रथम पक्षले दोस्रो पक्ष मार्फत उपचारार्थ आएका विरामीहरुको लागि नियमित शुल्कमा निम्नलिखित छुट प्रतिशत उपलब्ध गराउनु पर्ने छ ः
—ओपिडि टिकटमा ५०% छुट
—बेड चार्ज २०% छुट
—सम्पूर्ण परीक्षण २०% छुट (बाह्य परीक्षण बाहेक)

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर