बुटवल, ११ असोज । लुम्बिनी बौद्ध विश्व विद्यालयमा चिनीयाँ भाषा प्रशिक्षण तथा सिकाइ केन्द्र स्थापना भएको छ । यो सिकाइ केन्द्र नेपालमा चौथो र काठमाण्डौं बाहिर पहिलो हो । यहाँ एचएसके तहका परीक्षाहरू चल्ने छन् । चिनमा अध्ययनका लागी जान चाहने विद्यार्थीले अनिवार्य यो परीक्षा पास गर्नुपर्ने हुन्छ । सिकाइ केन्द्रको औपचारिक उद्घाटन शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्नु भएको छ । एचएसके सेन्टरको बोर्ड अनावरण गरेर उद्घाटन गर्नु भएको हो ।
सो अवसरमा लुम्बिनी बौद्ध विश्व विद्यालय र चिनको हनान विश्व विद्यालयको बीचमा चिनीयाँ भाषा सिकाइ केन्द्र सञ्चालन सम्बन्धमा सहकार्य सम्झौता गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले नेपाल र चिन दुई देश बिचको मित्रता अझ सुमधुर बनाउन सिकाइ केन्द्रले योगदान गर्ने बताउनु भयो । ‘दुई देश बिचको भाषा, संस्कृतिको हस्तान्तरणका साथै पर्यटन अभिवृद्धिमा समेत सहयोग पुग्ने विश्वास लिएको छु’ मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘चिनका पर्यटकहरूलाई लुम्बिनीमा ल्याउन पनि सहयोग पुग्ने छ ।’
लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति प्रा.डा.सुर्वणलाल बज्राचार्यले विश्व विद्यालयमा चिनीयाँ भाषा प्रशिक्षण तथा सिकाइ केन्द्र स्थापना हुँदा समग्र देशलाई महत्वपूर्ण टेवा पुग्ने बताउनु भयो । एचएसके परीक्षाको लागी काठमाण्डौं जानुपर्ने बाध्यता अन्यत्य गर्न सफल भएकोमा खुसी व्यक्त गर्नु भयो ।‘चिनीयाँ भाषा परीक्षाको लागी काठमाण्डौं धाउनुपर्ने बाध्यता थियो । अव त्यो बाध्यता हटेको छ’उहाँले भन्नुभयो,‘लुम्बिनीमा देश बाहिरका विद्यार्थीलाई ल्याउने अभियान अन्तरगत एउटा महत्वपूर्ण उपलब्धी हासिल भएको छ ।’
बौद्ध विश्व विद्यालयका रजिस्ट्रार तीलकराम आचार्यले एक बर्ष अगाडि चिनको हनान विश्व विद्यालय संग भएको सहकार्य सम्झौता अनुसार चिनिया भाषा प्रशिक्षण केन्द्र स्थापना भएको जानकारी दिनुभयो । यो उपलब्धीले बौद्ध विश्व विद्यालयलाई अन्तराष्ट्रिय स्तरमा फैलाउन कोशेढुङगा सावित हुने विश्वास व्यक्त गर्नु भयो । यसैबीच विश्व विद्यालयमा शुक्रबारै बुद्धिजम एण्ड नेपाल स्टडिज अध्ययन गर्ने चिनका २३ जना विद्यार्थीलाई स्वागत गरिएको छ । चिनको हनान विश्व विद्यालयका अध्यक्ष छ्वाङ क्वाङ्लिनले नेपाल र चिन दुई देश बिच सुमधुर सम्बन्ध विस्तार गर्न प्रशिक्षण सेन्टर महत्वपूर्ण हुने बताउनु भयो । कार्यक्रममा नेपाल र चिनका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।