Sat2024 July 27
२०८१ साउन १२, शनिबार

विद्यार्थी कुटपिटको घटनाको विरोधमा प्रदर्शन

17

सप्तरी । राजविराज नगरपालिका–१६ बोरिया घर भई सोही ठाउँमा अवस्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालयमा कक्षा १० प्राविधिकतर्फ अध्ययनरत १६ वर्षीय विकास कुमार मण्डल र रोशनकुमार साहलाई प्रधानाध्यापक ४४ वर्षीय रामानन्द सुनरैत यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ३६ वर्षीय रितेश यादव, राजविराज नगरपालिका–७ का ४४ वर्षीय प्रकाश यादव र बोरियाकै ४५ वर्षीय उमेश यादवले कुटपिट गरेको भन्दै विद्यार्थीहरूले मङ्सिर २७ गते राजविराजमा विरोध प्रदर्शन गरे ।

तोकिएको भन्दा बढी परीक्षा शुल्क लिएकोबारे प्रश्न उठाउँदै रसिद मागेको तथा परीक्षाको फर्म भरेबापत शुल्क तिरे पनि विद्यालयले परीक्षा शुल्कको नाममा थप रकम मागेको विषय सार्वजनिक गरेको आवेगमा आरोपितहरूले कुटपिट गरेको घाइते मण्डलले बताउनु भयो । “कक्षा १० को फर्म भर्न अन्य विद्यालयमा ४ सय लिने गरेकोमा हाम्रो विद्यालयले एक हजार रूपियाँ शुल्क लिएको छ, त्यो तिरेकोमा पछि परीक्षाको प्रवेश पत्र लिन खोज्दा थप चार सय रूपियाँ मागियोे ।” मण्डलले जानकारी दिनु भयो ।

मनोमानी रकम असुल गरेको भन्दै विरोध गरेको संवादसहितको भिडिओ साथीहरूले मङ्सिर २५ गते फेसबुकमा पोस्ट गरेपछि आवेगमा आएका आरोपितहरूले विद्यालयको वेइज्जत गरेको भन्दै मङ्सिर २६ गते कुटपिट गरेको घाइते साहले बताउनु भयो । घाइते बिद्यार्थीहरूका अनुसार फलामको रडले कुटपिट गरेर आरोपितहरूले कपडा खोल्न लगाई नाङ्गो पारी भिडिओ बनाएर राखेका छन् । शुल्कको विरोध गरेमा वा घटनाबारे कसैलाई भनेमा उक्त भिडिओ फेसबुकमा पोष्ट गरदिने धम्की समेत दिएको उहाँहरूले बताउनु भयो ।

दोषी प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलगायतमाथि कारबाहीको माग गर्दै विरोधमा उत्रिएका विद्यालयका करिव ५ सय बिद्यार्थीहरूले राजविराजमा सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरे । आक्रोशित बिद्यार्थीहरूले नाराबाजी गर्दै राजविराज नगर परिक्रमा गर्नुका साथै शिक्षा विकास तथा समन्वय इकाई, राजविराज नगरपालिकालगायत सरोकारवाला कार्यालय पुगेर घटनाको छानबिन गरी दोषीमाथि कडा कारवाही गर्न माँग गरेका छन् । उनीहरूले शहरको विभिन्न भागको परिक्रमा गर्दै सहिद दशन चोकमा केही बेर चक्का जाम गर्नुका साथै नगरपालिका कार्यालयमा प्रदर्शन गर्दा कामकाज प्रभावित भएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर