Thu2024 October 10
२०८१ असोज २३, बुधबार

विद्यालय पढ्न दैनिक चार घण्टाभन्दा बढी पैदल यात्रा, बालबालिकालाई सास्ती

27

नेपालको संविधान २०७२ ले शिक्षाको अधिकारलाई मौलिक अधिकारको रूपमा व्यवस्था गरेको छ । संविधानको धारा ३१ मा प्रत्येक बालबालिकालाई शिक्षामा पहुँचको हक हुने कुरा उल्लेख गरिएको छ ।

संविधानले दिएको यही मौलिक अधिकार प्राप्त गर्न रामेछापको गोकुलगङ्गा गाउँपालिका-२, ठोसेका बालबालिकाले भने दैनिक चारदेखि पाँच घण्टासम्म पैदल हिँड्नु परेको छ । माध्यमिक तहको विद्यालय नजिक नहुँदा शारदा मावि, ठोसेमा अध्ययन गर्ने विद्यार्थीले निक्कै सास्ती खेप्नु परेको हो ।

सो विद्यालयमा आउने ठोसेको सिङ्गटी क्षेत्रका विद्यार्थी दैनिक पाँच घण्टासम्म हिँडेर विद्यालय पुग्ने गर्दछन् । बिहान सात बजे घरबाट निस्कने विद्यार्थीहरू बेलुका सात बजे पछाडि मात्र बल्ल घर पुग्छन् । जङ्गलको उकालो र ओरालो हिँड्दा हिँड्दै विद्यार्थीलाई पढ्नको लागि पर्याप्त समय नहुने स्थानीय गौतम श्रेष्ठ बताउनुहुन्छ । शारदा माविमा अध्ययन गर्न ठोसेको कवासे, बिरौटा, टगमलगायतका क्षेत्र विद्यार्थी पुग्दछन् । ती बिकट गाउँका विद्यार्थीलाई विद्यालयसम्म पुग्न हिँड्नुको विकल्प छैन ।

टगममा आठ कक्षासम्म अध्यापन गराउने विद्यालय छ । त्यसपछि ती सबै विद्यार्थीको पढ्न जाने ठाउँ भनेको शारदा मावि, ठोसे नै हो । शारदा मावि, ठोसेका प्रधानाध्यापक भूपेन्द्र खत्रीका अनुसार करिब ५ सय विद्यार्थी अध्ययनरत सो विद्यालयमा माथिल्लो भेगबाट आउने विद्यार्थीलाई निक्कै सास्ती छ । समयमा विद्यालय नआइपुग्दा कतिपय समय उनीहरूको कक्षा नै छुट्ने खत्रीले बताउनु भयो ।

विद्यालयले बनाएको भवनमा अहिले केही विद्यार्थी कोठा लिएर बसेका भए पनि सबै विद्यार्थीको कोठा लिएर बस्न सक्ने अवस्था पनि छैन । त्यसैले विद्यार्थीहरू दिनरात दौडिएर विद्यालय आउने गरेको प्रधानाध्यापक खत्रीले जानकारी दिनुभयो ।

एसईई परीक्षाको बेलामा भने कक्षा १० का सबै विद्यार्थीलाई विद्यालयमा नै राखेर पढाउने विषयमा व्यवस्थापनसँग छलफल चलिरहेको भए पनि अझै टुङ्गो नलागेको खत्री बताउनहुन्छ । ‘त्यसो गर्न सकियो भने टाढाका विद्यार्थीलाई केही सहज हुन्छ, अहिले त यिनीहरूलाई हैरान छ’, उहाँले भन्नुभयो ।

टाढादेखि हिँडेर ठोसेमा पढ्न जाने विद्यार्थीलाई विद्यालयमा दिवा खाजाको व्यवस्था पनि छैन । जसले गर्दा बालबालिकाहरू भोको पेट हिँड्न बाध्य छन् । नवराज घिमिरे/ इन्सेक

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बंधित खबर

0
Would love your thoughts, please comment.x
()
x