Sat2024 July 27
२०८१ साउन १२, शनिबार

विभिन्न स्थानबाट जुवाडेहरु पक्राउ

17

  लोक सारथी

युग अनुसार व्यवहार गर्न सक्ने मानिसहरु नै हुन् । सम्भवतः यही कारण हो पवित्र चित्तवृत्ति विरलैमा पाइन्छ । कलि हो, कलियुगको प्रभाव त देखा पर्ने नै भो । आत्मज्ञानी भएर होइन डर र त्रासमा रहेर मात्र मानवले परमतत्वको नाम लिन्छन् । भाकल हाल्छन् अनि इच्छाएको पूरा होस् भन्छन् । मन्दिरहरुमा दुष्कर्म हुन्छ । धर्मको नाम अनैतिक क्रियाकलापले प्रश्रय पाउँछ । पावन पर्वहरुमा मानिसहरु मदिरा, मांस जस्ता अभक्ष्य खाने कुराहरु सेवन गर्छन् अनि जीवनलाई खुशी दिने प्रयन्त गर्दछन् । आज दीपावली, लक्ष्मी माताको पूजन रात्रि ।

जसै दीपावलीको अवसर आइपर्छ मानिसहरु जुवा ताशमा रमाउन थाल्दछन् । देशका विभिन्न स्थानहरुमा जुवा खेलेर समय बिताउने, रमाउनेहरुको संख्या थोरै छैन । दिनभरी, रातभरी जुवा खेलेर हजारौं रुपैँया कि जित्छन् कि हार्दछन् । प्रहरीले छापा मारिहाल्यो भने पक्राउ पर्छन्, नत्र गोप्य रुपमा उनीहरुको यो कर्म जारी नै रहन्छ ।
त्यस्ता जुवाडेहरुलाई खोजी गरि पक्राउ गर्न प्रहरीहरु कतै सक्रिय हुन्छन् भने कतै वास्ता नै गर्दैनन् । देशका विभिन्न स्थानबाट जुवाडेहरुलाई प्रहरीलाई नियन्त्रणमा लिएको छ ।

लमजुङ, मध्यनेपाल नगरपालिका-६ मिलनटोल बस्ने लक्ष्मण कुँवरको घरमा जुवातास खेलिरहेको अवस्थामा कुँवरसमेत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भोर्लेटारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६० हजार ६ सय ८५ रूपैयाँ १ बुक ताससहित पक्राउ गरेको हो ।

चितवन, भरतपुर महानगरपालिका-१८ शसिनगरस्थित बिमल पराजुलीको गोठमा कौडा खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१८ बस्ने ४६ वर्षीय प्रकाश विष्ट समेत ११ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय फुलबारी, ईलाका प्रहरी कार्यालय चनौली र अस्थायी प्रहरी चौकी शारदानगरबाट संयुक्त रूपमा खटिएको टोलीले उनीहरूलाई नगद ३७ हजार ६ सय २५ रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो ।

पर्सा, बहुदरमाई गाउँपालिका-४ बहुअरीस्थित बाँसघारीबाट कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय जोलेन्द्र प्रसाद यादव समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी डकैलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १४ हजार ८ सय ५ रूपैयाँ र कैडा १ थानसहित पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१२ कहरे खोला बस्ने ३१ वर्षीय टंक प्रसाद पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा पौडेलसमेत ७ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९५ हजार ८ सय २० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

ललितपुर, ललितपुर महानगरपालिका-१४ नख्खिपोटस्थित युनसान रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ७ जना महिला र ३ जना पुरूष गरी जम्मा १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३ हजार ४ सय २० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

कालिकोट, खाँडाचक्र नगरपालिका-३ ताडी बजार बस्ने ३९ वर्षीय जग प्रसाद पाण्डेको घरमा जुवातास खेलिरहेको अवस्थामा पाण्डे समेत ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार १ सय ४० रूपैयाँ र २ गड्डी ताससहित पक्राउ गरेको हो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर