काठमाडौं, २६ साउन । ब्राजिलको साओ पाउलो राज्यमा विमान दुर्घटना हुँदा विमानमा रहेका सबै ६१ जनाको ज्यान गएको छ । दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरको ग्वारुल्होस विमानस्थलमा उडिरहेको विमान भिन्हेडो शहरमा खसेको भोपस एयरलाइन्सले जनाएको छ । दुर्घटनामा चालक दलका चार सदस्य र ५७ जना यात्रु गरी ६१ जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।
प्रहरी र दमकलले दुर्घटनास्थलमा उद्दार र भग्नावशेष हटाउने काम गरेका छन् । एटीआर ७२–५०० विमान दुर्घटनापछि फ्रान्सेली–इटालियन विमान निर्माता कम्पनी एटीआरले अनुसन्धानमा सहयोग गर्ने बताएको छ । ब्राजिलको नागरिक उड्डयन एजेन्सीकाअनुसार सन् २०१० मा निर्माण भएको विमान राम्रो अवस्थामा सञ्चालन भइरहेको थियो ।