Sat2024 July 27
२०८१ साउन १२, शनिबार

व्यवस्थित शहर निर्माणका लागि गुरुयोजना चाहिन्छ

17

जीवनको उन्नतिका निम्ति स्रोत साधनले सम्पन्न ठाउँ अनुकूल भएकै कारण मानिसहरु त्यस ठाउँमा आफूखुशी बसोबास गर्दै जाँदा भीडभाड बढ्दै गयो अनि पछि शहरमा परिणत भयो । नेपालमा अधिकांश शहरीकरण यसरी नै भएको छ । पूर्व गुरुयोजना अनुसार शहरी क्षेत्रको विकास गरिएको उदाहरण कमै छ । बाँकेको कोहलपुर, पूर्वको इटहरी, पश्चिमको सुर्खेत पूर्व गुरुयोजना अनुरुप बसालिएका शहर हुन् । त्यसैले यी शहरहरु सुन्दर र व्यवस्थित पनि छन् ।

शहर व्यवस्थित नहुँदा यो समस्या र द्वन्द्वको उद्गम बन्छ । आर्थिक गतिविधिमा अवरोध आउँछ । त्यहाँको सामाजिक जीवनसमेत असहज हुन जान्छ । त्यस कारण व्यवस्थित शहरीकरणका लागि मापदण्डसहितको गुरुयोजना बनाई ढल, सडक, बिजुली, अस्पताल, पिउने पानी, यातायात, वाहन पार्किङ्ग, विद्यालय, कलेज, मनोरञ्जन पार्क, ट्रेफिक लाइट, सिसिटिवी क्यामरा जडान आदिको उचित व्यवस्थापन गर्नु अनिवार्य हुन आउँछ । त्यो भनाइलाई सम्झिनै पर्छ जुन आधुनिक व्यवस्थापनका संस्थापक पिटर ड्रकरले भनेका थिए, ‘‘there are no underdeveloped countries, only undermanaged ones.” अर्थात् कुनै पनि देश अविकसित हुँदैन, केवल अव्यवस्थित हुन्छ ।

शिक्षा, रोजगार, व्यावसायिक अवसर, आर्थिक लगानीको अभिष्ट प्रतिफल, स्तरोन्नति उन्मुख भौतिक पूर्वाधार, सुरक्षाको प्रत्याभूति, स्वास्थ्य सेवा, देशभक्ति एवं राष्ट्रिय नेतृत्व आदिका दृष्टिकोणले बुटवल शहर सबैको रोजाइको केन्द्र बन्दै गएको छ । बुटवल १०१.६१ वर्ग कि.मि. क्षेत्रमा फैलिएको शहर हो । तिलोत्तमा (१२६.१९ वर्ग कि.मि)., देवदेह (१३६ वर्ग कि.मि.) र सैनामैना (१६२.१८ वर्ग कि.मि.) बुटवलका छिमेकी नगरपालिकाहरु हुन् । सिद्धार्थ राजमार्ग र महेन्द्र राजमार्गको रमणीय संगमबिन्दुमा वि.स. २०१६ साल फाल्गुन ३ गते स्थापना भएको तात्कालीन बुटवल नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा गरिएको वि.स. २०७१ मंसिर १६ गतेको निर्णय अनुसार हालको उपमहानगरले ६३ साल ५ महिना ११ दिन पार गरेकोे छ ।

पोखरा, नेपालगञ्ज जस्तै बुटवल–भैरहवा पनि पूर्वाधार विस्तार गरेर आधुनिक बनाइदै छ । व्यवस्थित शहर निर्माणका लागि गुरुयोजना चाहिन्छ । गुरुयोजना बिनाको विकसित शहर भएकाले बुटवल क्षेत्रमा सडकछेउका धेरै घरहरु भत्काएर साँघुरो सडक फराकिलो बनाउने काम गर्दा जनतालाई अनावश्यक आर्थिक तथा मानसिक बोझ थपियो । भविष्यमा यस्तो नहोस् भन्नकालागि प्रशासनिक पक्ष सचेत हुनु पर्दछ । बुटवल ऐतिहासिक गाथा बोकेको शहर हो । बुटवलको शहरी विकासबाट लामो समयसम्म अर्थपूर्ण ढंगले लाभान्वित भइरहन यहाँको प्रशासनिक पद्धति, भौतिक पूर्वाधार र त्यहाँको सामाजिक प्रणाली स्वस्थ, चुस्तदुरुस्त एवं मापदण्ड अनुरुपको हुनु अति आवश्यक छ ।

त्यसै गरि भोलिका दिनमा महानगरपालिकामा आफ्नो स्तरोन्नति गर्नका लागि छिमेकी नगरपालिका तथा गाउँ विकास समितिसँगपनि सुमधुर सम्बन्ध कायम गर्दै उनीहरुको विकास एवं व्यवस्थापनका लागि बुटवल प्रशासनले सहकार्य र समन्वय गर्नु पनि अपरिहार्य छ । व्यवस्थित शहर बन्नका लागि सामाजिक सदभाव र अपराध नियन्त्रणको उच्च संयन्त्रको पनि आवश्यकता पर्दछ । उत्कृष्ट योजना बनाएर मात्र विकासको लहर आउँदैन । प्रभावकारी कार्यान्वयन तथा निरन्तर मूल्याङ्कन र अनुगमन पनि चाहिन्छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर