Sat2024 July 27
२०८१ साउन १२, शनिबार

शङ्कास्पद मृत्यु घटना : दुई सातापछि पोष्टमार्टम

17

जिल्ला कारागार कार्यालय, मोरङमा थुनुवाको शङ्कास्पद मृत्यु घटनामा दुई सातापछि शवको पोष्टमार्टम गरिएको छ ।

लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागार, मोरङमा पुर्पक्षमा रहेको अवस्थामा ०८० मङ्सिर २१ गते शङ्कास्पद मृत्यु भएपछि पीडित परिवारले लास बुझ्न अस्वीकार गरेको थियो ।

जिल्ला प्रशासनले कार्यालयले गठन गरेको छानविन समितिले घटनाको निश्पक्ष छानविन गरी सथ्यतथ्य बाहिर ल्याउने विश्वास दिलाएपछि ०८० पुस ६ गते शवको पोष्टमार्टम गरिएको मृतकका भाई नारायण भुजेलले बताउनु भयो । छानविन समितिले न्याय मर्न दिँदैनौ भनेपछि पुस ६ गते कोशी अस्पतालमा पोष्टमार्टम गरिएको र शव घरसम्म पुर्याउन कारागारले सहयोग गरेको नारायण भुजेलले बताउनु भयो ।

छानविन समिति गठन

थुनुवाको शङ्कास्पद मृत्यु भएकाले लास बुझ्न पीडित परिवारले अस्वीकार गरेपछि जिल्ला प्रशासन कार्यालय, मोरङले सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साहको संयोजकत्वमा चार सदस्यीय छानविन समिति मङ्सिर २४ गते गठन गरेको छ ।

समितिमा कोसी अस्पतालका चिकित्सक मनोज ठाकुर, इन्स्पेक्टर हेमराज ओली र लेटाङ नगरपालिका-४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ सदस्य रहनु भएको छ । समितिले १५ दिनभित्र अर्थात् पुस १० गते प्रतिवेदन पेस गर्ने कार्यादेश प्राप्त गरेको मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताउनु भयो ।

लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागार, मोरङमा पुर्पक्षमा रहेको अवस्थामा ०८० मङ्सिर २१ गते शङ्कास्पद मृत्यु भएको घटनाका छानविन समिति गठन गरिएको भएपनि पुस ६ गतेसम्म समितिले प्रारम्भिक प्रतिवेदन बुझाएको छैन् ।

भुजेलको कोशी अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । तर, पीडित परिवारले उपचारका क्रममा मृत्यु भएको नभई मृत्यु शङ्कास्पद भनेर लास बुझ्न अस्वीकार गरेपछि लास कोशी अस्पतालमा शवगृहमा मङ्सिर २१ गतेदेखि राखिएको थियो ।

कारागारभित्रै कुटपिट गरी भुजेलको मृत्यु भएको परिवारको दाबी छ । मृत्यु हुनुभन्दा एक घण्टा अघिमात्र खबर गरिएकाले घटना रहस्यमय भएको मृतककी भाञ्जी एलिना भुजेलले बताउनु भयो । टाउकोमा चोट तथा रगत देखिएको परिवारको भनाइ छ ।

मृतककी पत्नी रामकुमारी भुजेलले घटना शङ्कास्पद भएको बताउनु भयो । पेट दुख्ने र वान्ता हुने गर्न थालेपछि भुजेललाई अस्पताल भर्ना गरिएको कारागार प्रशासनले जनाएको छ । पीडित परिवारले शङ्कास्पद मृत्यु भएका कारण छानविन समिति गठन नभई लास नबुझ्ने अडान राखेपछि छानविन समिति गठन गरिएको हो ।

बलात्कार मुद्दामा ०८० कात्तिक ६ गते गिरफ्तारमा परेका भुजेलविरूद्ध प्रहरीले जिल्ला अदालतमा कात्तिक २१ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतका कात्तिक २१ गतेको आदेशमा भुजेल पुर्पक्षका लागि जिल्ला कारागार, मोरङमा थिए ।

कारागारका जेलर कृष्णहरि न्यौपानेले भुजेलको उपचारका क्रममा मृत्यु भएको र कारागारमा गल्ती नभएको बताउनु भएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर