Sat2024 July 27
२०८१ साउन १२, शनिबार

शिक्षकले पारिश्रमिक नपाएपछि पठनपाठन बन्द, विद्यार्थीहरु मर्कामा

18

छिपहरमाई गाउँपालिका स्थित दुई ओटा माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकहरूले विगत ६ र आठ महिनादेखि पारिश्रमिक नपाएपछि ०८० मङ्सिर ५ गतेदेखि पठनपाठन बन्द गरेका छन् ।

छिपहरमाई गाउँपालिका–५ स्थित श्री मंगल मध्यमिक विद्यालय भिस्वा र सोही गाउँपालिकाका वडा नं. २ सम्भौतामा रहेको श्री नवगावा माध्यमिक विद्यालय चरगहाँको कक्षा ११ र १२ को पठनपाठन बन्द भएको छ । साथै पठनपान बन्द हुँदा विद्यार्थीहरू मर्कामा परेका छन् ।

६ महिनादेखि शिक्षकहरूले तलब नपाउँदा कक्षा लिन नमानेको श्री मंगल माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश प्रसाद कुर्मीले बताउनु भयो । साथै गाउँपालिकाले तलब पठाए लगत्तै पुनः कक्षा सुचारु हुने उहाँले बताउनु भयो ।

गाउँपालिकाले शिक्षकहरूको पारिश्रमिक पठाउने भनि बारम्बार आश्वासन दिएपनि आठ महिनासम्म पारिश्रमिक नपठाएपछि बाध्य भएर मङ्सिर ५ गतेदेखि शिक्षा र प्राविधिक तर्फको कक्षा बन्द गर्नु परेको श्री नगवा माध्यमिक विद्यालयका शिक्षक गगनदेव प्रसाद यादवले बताउनु भयो । उहाँका अनुसार कक्षा ११ र १२ मा पढाउँने शिक्षकहरू गत आर्थिक बर्षको फागुन महिनादेखि पारिश्रमिक पाएका छैनन् ।

शिक्षकहरूले लामो समयसम्म पारिश्रमिक नपाएपछि आफूहरू पढाउन नसक्ने बताएपछि कक्षा बन्द गरिएको श्री नवगावा माध्यमिक विद्यालयका प्रधानाध्यापक अमिन मियाँले बताउनु भयो ।

गाउँपालिकाले हिन्दुहरूको महान चाड वडा दशै, दिपाली र छठ पर्वमा समेत शिक्षकहरूलाई पारिश्रमिक नदिएपछि बाध्य भएर कक्षा बन्द गर्नु परेको शिक्षकहरूले दुखेसो पोख्नु भयो ।

प्रमुख प्रशासकीय अधिकृत सरुवाको कारण शिक्षकहरूको पारिश्रमिक पठाउन नसकिएको गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ताले बताउनु भयो । उहाँले नयाँ प्रमुख प्रशासकीय अधिकृत भर्खर आउनु भएको बताउदै अबको केही दिनमा शिक्षकहरूको पारिश्रमिक पठाउने आश्वासन समेत दिनु भयो ।

 

शम्भुकुमार सुमन/इन्सेक

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर