Sat2024 July 27
२०८१ साउन १२, शनिबार

श्री ज्ञानज्योति मा.वि. को सह–प्रधानाध्यापक पदमा ढुण्डीराज भण्डारी नियुक्त

18

राजु विके, भदौ ४ । नवलपरासी जिल्लाको वर्दघाट नगरिपालिका वडा नं. १० स्थित श्री ज्ञानज्योति माध्यमिक विद्यालयमा नयाँ सहायक प्रधानाध्यापक नियुक्त भएका छन् । आइतबार (भदौ ३ गते) राहत दरबन्दीमा ढुण्डीराज भण्डारीलाई सहायक प्रधानाध्यापकमा नियुक्त गरिएको हो ।

शैक्षिक योग्यताले एम.ए./एम.एड. उत्तीर्ण भण्डारीको शिक्षण यात्राको प्रारम्भ वि.सं. २०५४ सालदेखि नै भएको हो । २.५ दशक बढी समयदेखि अध्यापन क्षेत्रसँग पूर्ण निष्ठा र समर्पित भावका साथ आबद्ध भइ शैक्षिक जनशक्ति उत्पादनमा निरन्तर योगदान गर्ने भण्डारी अनुभव, योग्यता र योगदानकै आधारमा सहायक प्रधानाध्यापक पदमा नियुक्त भएपछि उनलाई साथीभाई, आफन्तजन तथा शुभचिन्तकहरुबाट बधाईको ओइरो नै लागेको छ । भण्डारीको अध्यापन विषय अङ्ग्रेजी हो ।

भण्डारीबाट प्राप्त जानकारी अनुसार उनले दिव्य ज्योति क्याम्पस वर्दघाटमा तीन वर्ष (२०५९–२०६२) र न्यू लाइट शैक्षिक गुठी शंकरनगरमा २०६२ देखि २०६६ सम्म ४ वर्ष पढाए भने २०६६ सालदेखि हालसम्म श्री ज्ञान ज्योति मा.वि. वर्दघाटमा अध्यापनरत छन् । उनी र म न्यू लाइट शैक्षिक गुठीमा चार वर्ष सँगै सहअध्यापन गरेका थियौं । उनलाई मैले कसैसँग रिस, ईर्ष्या, वैरभाव नराख्ने शान्त सरल स्वभाव भएका, इमानदार, मिलनसार, कर्तव्यनिष्ठ र सबैको हित चिताउने एक दक्ष र इमानदार शिक्षकका रुपमा चिनेको छु । एक असल शिक्षकमा हुनुपर्ने गुण विशेषता पनि यिनै हुन् । करोडौंको लगामीमा ठूलाठूला भौतिक संरचना भएका संस्थागत विद्यालयमा होइन झुपडी नै किन नहोस् जहिले नि असल शिक्षककै मार्गदर्शन एवं संरक्षणमा रहेर शिक्षा दीक्षा दिलाएमा आफ्ना बालबच्चामा पनि त्यस्तै गुणविशेषताको विकास हुने कुरालाई बुझेकै कारण विशेषगरी श्री ज्ञानज्योति माध्यमिक विद्यालय जस्ता सामुदायिक विद्यालयप्रति अभिभावकहरुको आकर्षण बढ्दो छ ।

भण्डारी अध्यापनरत भएका हालको विद्यालय वि.सं. २०४५ मा स्थापित भएता पनि माध्यमिक तहका कक्षाहरु भने २०६८ सालदेखि मात्र सञ्चालन भएको हो । उक्त विद्यालयमा हाल २५० जना विद्यार्थीहरु रहेका छन् भने कार्यरत शिक्षक तथा कर्मचारीको संख्या १९ छ ।

२०६६ सालमा करिब ४०० विद्यार्थीहरु अध्ययनरत भएकोमा सामुदायिक विद्यालयको शिक्षाप्रति कम चासो, संस्थागत विद्यालयप्रतिको मोह, छिमेकी संस्थागत विद्यालयहरुको सुविधा दिने प्रलोभन देखाइ विद्यार्थी तान्ने बदनियतपूण प्रतिस्पर्धा, विद्यालय आफ्नै आन्तरिक व्यवस्थापकीय कमजोरी जस्ता विविध कारणले विद्यार्थी संख्या घटेको देखिन्छ ।

विद्यार्थी संख्या घटे पनि नगरपालिका स्तरीय तथा एसइइ नतिजामा कमी नआएको बताए नवनियुक्त सहायक प्र.अ. भण्डारीले । हालका वर्षहरुमा विद्यालयको पठनपाठन तथा कार्यप्रति अभिभावकहरुमा विकास भएको सकारात्मक धारणाका कारण धेरै सुधार हुँदै आएको भण्डारीले बताए ।

गत श्रावण १० गते विद्यालयले अर्का असल तथा अनुभवी शिक्षक नरनाथ लामिछानेलाई नयाँ प्रधानाध्यापकको रुपमा पाएको छ । नयाँ शैक्षिक सत्रमा नयाँ प्र.अ. र नयाँ सहायक प्र.अ.को युगल नियुक्तिले विद्यालयप्रति अभिभावकहरु थप आशावादी बनेको भण्डारी बताउँछन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर