Sat2024 July 27
२०८१ साउन १२, शनिबार

संक्षिप्त पद्मपुराण (सृष्टिखण्ड)

17

।। ऊँ श्रीपरमात्ने नमः ।।
संक्षिप्त पद्मपुराण
(सृष्टिखण्ड)

श्रीव्यासका शिष्य परम बुद्धिमान लोमहर्षणले एकान्तमा बसेका आफ्ना छोरा उग्रश्रवासँग भन्छन् –‘‘पुत्र ! तिमी ऋषिहरुका आश्रमहरुमा जाऊ अनि उनीहरुले जिज्ञासा राखेमा सम्पूर्ण धर्मको वर्णन गर । तिमीले जे जे मबाट संक्षिप्तमा श्रवण गरेका छौ उनीहरुलाई विस्तारपूर्वक सुनाऊ । मैले महर्षि वेदव्यासजीको मुखबाट समस्त पुराणहरुको ज्ञान प्राप्त गरें अनि तिमीलाई सबै सुनाएँ, अब तिमीले मुनिहरुसमक्ष सबै कुराको विस्तारपूर्वक वर्णन गर । प्रयागमा केही उत्तम कुलका महर्षिहरुले साक्षात् भगवानसँग प्रश्न गरेका थिए । उनीहरुले कुनै पावन प्रदेशको बारेमा जान्न चाहन्थे । भगवान नारायण नै सबैका हितैषी हुन् । धर्मानुष्ठानको इच्छा राख्ने ती महर्षिहरुले सोधे पछि भगवानले भन्नुभयो–‘हे मुनिवरहरु ! जुन यो चक्र सामुन्ने देखिइरहेको छ त्यसको कहीँकतै तुलना नै हुनसक्दैन । यसको नाभि बडो सुन्दर छ अनि स्वरुप दिव्य । यो सत्यतिर जानेवाला छ । यसको गति सुन्दर र कल्याणकारी छ । तिमीहरु सावधान भइ नियमपूर्वक यसको पछि पछि जाऊ । तिमीहरुलाई आफ्नो लागि हितकारी स्थानको प्राप्ति हुने छ । यो धर्ममय चक्र यहाँदेखि जाँदै छ, जाँदाजाँदै जुन स्थानमा यसको नेमि जीर्ण–शीर्ण भइ खस्छ, त्यसैलाई पुण्यमय प्रदेश सम्झिनु ।’ ती महर्षिहरुसँग यस्तो भनेर भगवान अन्तर्धान हुनुभयो । त्यो धर्म–चक्र नैमिषारण्यको गंगावर्त नामक स्थानमा लड्यो (ढल्यो) । ऋषिहरुले नेमि शीर्ण भएको कारणले त्यस स्थानको नाम ‘नैमिष’ राखिदिए । अनि त्यहीँ दीर्घकालपर्यन्त चलिरहने यज्ञहरुको अनुष्ठान आरम्भ गरे । त्यहीँ तिमी जाऊ अनि ऋषिहरुले सोधिलिएमा उनीहरुको धर्म–विषयक संशयहरु निवारण गर ।’’

तदन्तर ज्ञानी उग्रश्रवा पिताको आज्ञा मानेर ती मुनीवरहरु समक्ष गए । उनीहरुको चरण छोएर हाथ जोडी उनीहरुलाई प्रणाम गरे । सूतजी बडो बुद्धिमान थिए । उनले आफ्नो नम्रता अनि प्रणाम आदिद्वारा महर्षिहरुलाई सन्तुष्ट र खुशी पारे । यज्ञमा सहभागी भएका ती महर्षि पनि सदस्यसहित औधी प्रसन्न भए । सबैले संयुक्तरुपमा सूतजीको यथायोग्य आदर–सत्कार गरे ।

ऋषिले भने—महर्षिहरु, मेरा बुद्धिमान पिता व्यासका शिष्य लोमहर्षणजीले मलाई आज्ञा दिनुभएको छ कि ‘तिमी मुनिहरु समक्ष जाऊ उनको सेवामा बस र उनीहरुले जे सोध्छन् त्यसको बयान गर ।’ तपाईहरु मेरा पूज्य हुनुहुन्छ । भन्नुहोस् म तपाईहरुलाई कुन कथा सुनाऊँ ? पुराण, इतिहास अथवा भिन्न भिन्न प्रकारका धर्म—जे आज्ञा गर्नुन्छ सुनाउँछु ।

सूतजीको यस्तो मधुर वचन सुनेपछि ती श्रेष्ठ महर्षि प्रसन्न भए । अत्यन्त विश्वसनीय, विद्वान लोमहर्षणका पुत्र उग्रश्रवालाई उपस्थित देखेर उनीहरुको हृदयमा पुराण सुन्ने इच्छा जागृत भयो । त्यस यज्ञमा महर्षि शौनक यजमान थिए, जो सम्पूर्ण शास्त्रका विशेषज्ञ, वेदका मेधावी तथा विज्ञानमय आरण्यक भागका आचार्य थिए । उनी सबै महर्षिसँगसँगै श्रद्धाको आश्रय लिएर धर्म सुन्ने इच्छाले बोले ।

शौनकले भने– महाबुद्धिमान सूतजी ! तपाईले इतिहास र पुराणहरुको ज्ञान प्राप्त गर्नका लागि ब्रह्मज्ञानीहरुमा श्रेष्ठ भगवान व्यासजीकै समान आराधना गर्नुभएको छ । उनको पुराण विषयक श्रेष्ठ बुद्धिबाट तपाईले राम्ररी लाभ लिनुभएको छ । महामते ! यहाँ जो यी श्रेष्ठ ब्राह्मण विराजमान छन्, यिनीहरुको मन पुराणहरुमा लाग्दै छ त्यसैले तपाईले यिनीहरुलाई पुराण सुनाउने कृपा गर्नुहोस् । यी भेला भएका सारा श्रोताहरु श्रेष्ठ छन् । भिन्न भिन्न गोत्रमा यिनीहरुको जन्म भएको छ । यी वेदवादी ब्राह्मणहरुले आ–आफ्नो वंशको पौराणिक वर्णन सुनुन् । यस दीर्घकालीन यज्ञ समाप्त हुँदासम्म तपाईले मुनिहरुलाई पुराण सुनाउनुहोस् । महाप्राज्ञ ! तपाईले यी सबैलाई पद्मपुराणको कक्षा सुनाउनुहोस् । पद्मको उत्पत्ति कसरी भयो, त्यसबाट ब्रह्माजीको आविर्भाव कसरी भयो र कमलबाट प्रकट भएका ब्रह्माजीले कुन विधिले सृष्टि रचे—यी सारा वृतान्त यिनीहरुलाई सुनाउनुहोस् ।

क्रमशः …………………..

नोटः आध्यात्मिक चरित्रको विकास हुनुपर्दछ मानवमा भन्ने मान्यता अनुरुप पद्मपुराणका सबै भाग क्रमशः हामी प्रकाशन गर्दै जाने छौं । लोकसारथी डट कमसँग जोडिनुहोला । (प्र.स.)

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर